logo-img

कागबेनी वस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा : गृहमन्त्री श्रेष्ठ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुस्ताङको कागबेनी वस्ती पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् । गत २८ साउनमा कागखोलाको बाढीले प्रभावित बनेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी वस्तीको आज स्थलगत निरीक्षण गर्दै उनले पुुनर्निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका हुन् । 

‘ऐतिहासिक पर्यटकीय तीर्थस्थल कागबेनीको वस्ती पुनर्निर्माणको कामलाई सरकारले महत्वका साथ अघि बढाउँछ,’गृहमन्त्री श्रेष्ठले भने । सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा बाढीका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण गरिने उनले बताए ।  

कालीगण्डकी नदीको बगरमा थुप्रिएको नदीजन्य वस्तुका कारण उत्पन्न जोखिम तथा क्षति न्यूनीकरण गर्दै वस्तीलाई सुरक्षित बनाउने विषयमा ढङ्गले छलफल गरिने उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको विषय बनाइने गृहमन्त्री श्रेष्ठले बताए ।   

‘कोरला नाकालाई चीन र नेपालबीचको व्यापारिक नाकाका रूपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले गम्भीरताका साथ पहल गर्नेछ,’ उनले भने, ‘बेनी–जोमसोम–कोरला सडकमा बाह्रैमास यातायात सञ्चालनको व्यवस्था मिलाउन लागिपरेका छौँ ।’ क्षतिग्रस्त सडक, पुल, खानेपानी, विद्युत् र सिँचाइ आयोजना पुनर्निर्माणको काम तत्काल अघि बढाइने उनको भनाइ छ ।   

गृहमन्त्री श्रेष्ठले बाढीले क्षति गरेको कागबेनीको वस्तीको निरीक्षणका साथै स्थानीय तह, प्रशासन र सुरक्षा निकायका अधिकारीसित छलफल गरेका थिए । कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । नगद सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 





  • प्रकाशित मिति : भदौ १९, २०८० मंगलबार १३:९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया