logo-img

राजदूत भन्छन्- खाडीमा नेपाली उत्पादनको माग बढ्दो, व्यवसायी भने शिक्षित भएनन्

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली राजदूतहरूले खाडी देशमा नेपालबाट कृषिजन्य उत्पादन लैजान सकिने प्रचुर सम्भावना रहेको भए पनि नेपाली व्यवसायी शिक्षित हुन नसकेको बताएका छन् ।   

उनीहरूले खाडी मुलुकमा नेपालका कृषिजन्य उत्पादनको माग बढी रहेको बताएका हुन् । उनीहरूले नेपालमा उत्पादन हुने तरकारी, फलफूलको माग यूएई, कुवेतलगायतका देशमा बढ्दै गइरहेको र त्यहाँको मागअनुसार नेपालले आपूर्ति गर्नसके अर्थतन्त्रमा थप टेवा पुग्ने बताए ।

ललितपुरमा भएको राजदूतसँग व्यवसायीको छलफलमा बोल्दै थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपाली व्यवसायीलाई शिक्षित बनाउन आवश्यक रहेको बताए । 

व्यवसायीका पनि धेरै कमजोरी रहेको भन्दै उनले व्यवसायीले आफ्नो व्यवहार सुधार्नुपर्ने जरुरी रहेको बताए । राजदूत ओलीले एक वर्ष मेलामा जाने र अर्को वर्षबाट नजाने गर्दा बजारको माग पूरा गर्न नसकिने अवस्था देखिँदै आएको बताए । उनले राजदूतले सम्बन्धित देशमा गर्नसक्ने धेरै सम्भावना रहेको उल्लेख गर्दै क्षणिकरूपमा व्यवसायीले सोच्नु नहुने बताए ।  

‘हामीले कुन–कुन वस्तुमा के के सुविधा पाएका छौँ, त्यो लिस्ट हामीलाई पठाइदिनुहोला, त्यो लिस्ट उहाँहरूलाई पनि सुनाउनु होला । एग्जिबिशनमा जानुहुन्छ, सफ्टाको फ्रेमवर्क प्रयोग गर्नु नभन्दा सर कहाँ प्रयोग गर्ने ?,’ उनले प्रश्न गरे, ‘कसरी ल्याउने भन्नुहुन्छ, व्यवसायी । हाम्रा व्यवसायी एडुकेट हुन सक्नुभएको छैन । हाम्रा कमजोरी छन्, त्यो सुधार्नुपर्छ । हाम्रा सुविधा नहुँदा नहुँदै पनि राजदूतले गर्ने ठाउँ धेरै हुन्छ । व्यवसायीहरू पनि क्षणिक आउनुहुन्छ ।’ 



कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले सम्बन्धित देशहरूसँग राजदूतावासबाट हुने सहयोग र समन्वय गर्न आफूहरू तयार रहेको बताए । उनले सम्बन्धित देशहरूलाई कस्तो सामग्री पठाउँदा ठीक हुन्छ भन्ने सूची तयार गरे आफूले त्यहाँको उद्योगी व्यवसायीसँगको वातावरण मिलाइलिने स्पष्ट पारे । राजदूत लम्सालले सम्बन्धित देशमा हुने मेलामा पूर्णरूपमा निःशुल्क स्टलहरू उपलब्ध गराउन भने नसकिने भए पनि केही छुट दिलाउन सकिने बताए ।  

‘तपाईँहरू त्यो देशलाई प्रयोग हुने यो प्रोडक्ट छ भन्नुस्, हामी सम्बन्धित देशका मान्छेसँग समन्वय गर्न तयार छौँ । हामी सम्बन्धित देशका चेम्बर अफ कमर्स लगायतसँग सम्पर्क गराइदिन तयार छौँ,’ उनले भने, ‘तर एउटा कुरा एम्बेसीले गर्न सक्दैन, स्टल ल्याइदिनुस्, फ्रि अफ कस्ट उपलब्ध गराइदिनुहोस् भन्नेकुरा सरकारले बजेट कम दिएको छ, हामीले सक्दैनौँ । तपाईँहरूले समस्या बताउनुस् । त्यहाँस्थित समस्या भए हामी समाधान गर्न तयार छौँ ।’ 



त्यस्तै, यूएईका लागि नेपाली राजदूत तेजबहादुर केसीले नेपालको निर्यात कम रहेको र आयात बढिरहेको बताए । उनले नेपालको व्यापार घाटा अहिले झन्डै ४० अर्ब रहेको बताए । उनले आफूले यूएईमा अब नेपालबाट कृषिजन्य सामग्री निर्यात गर्ने कुरामा बढी जोड दिएर लाग्ने पनि बताए । 

राजदूत केसीले यूएईबाट हुने लगानी नेपालमा जोड्नसके नेपालको अर्थतन्त्रलाई राहत हुने बताए । उनले गल्फ कन्ट्रीमा एग्रो प्रोडक्टको ठूलो सम्भावना रहेको बताए ।  

‘हाम्रोमा निर्यात एकदमै कम छ, आयात बढिरहेको छ । व्यापार घाटा ठूलो छ । झन्डै ४० अर्ब घाटा छ भन्दा हुन्छ, यसलाई कम गर्ने भन्ने हो । लगानी ल्याउने सम्भावना ठूलो छ,’ राजदूत केसीले भने, ‘नेपालमा यूएईको लगानी कम छ, त्यसलाई यहाँ जोड्नसके बजारको सहजता हुन्छ, त्यसमा हाम्रो प्रयत्न जारी हुनेछ । गल्फ कन्ट्रीमा एग्रो प्रोडक्टको ठूलो सम्भावना छ ।’  

कार्यक्रममा व्यवसायीले नेपाली उत्पादनलाई सम्बन्धित देशमा रहेका नेपाली राजदूतले बजारीकरणका लागि सहजीकरण गर्न आग्रह गरेका छन् । नेपाल निर्यात परिषद्का अध्यक्ष रेशम पोखरेलले खाद्य सामग्री लैजान नेपाल यूएईका लागि नयाँ गन्तव्य भइरहेको बताए ।

उनले जुम्ला र मुस्ताङका स्याउमा उनीहरूको माग बढिरहेको उल्लेख गरे । पोखरेलले माग धान्न नसक्दा उनीहरू काश्मिर, सिक्किम पलायन भइरहेको भन्दै दूतावासले यसमा पहल गर्न आग्रह गरे । यूएईमा राँगाको सुकुटी धेरै माग आएको बताए । राजदूतहरूले कूटनीतिकसँगै आर्थिक सम्बन्धतिर पनि पहल गरिदिनुपर्ने माग गरे ।  

‘यूएईमा धेरैजसो रायोको साग, भेजिटेबलहरू र मासुको, राँगाको सुकुटी धेरै माग छ । हामीसँग आपूर्ति व्यवस्था कम छ । राजदूतहरूले कूटनीतिकपछि आर्थिक सम्बन्धतिर पनि पहल गरिदिनुभयो भने राम्रो हुन्छ,’ पोखरेलले भने ।     

कार्यक्रममा व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपालको ब्रान्डलाई सम्बन्धित देशमा चिनाउन र बुझाइदिन सके व्यापार प्रवद्र्धन हुने बताए । उनले दूतावासमा चिया, कफीलगायत नेपाली उत्पादनको मेला गर्दा पनि नेपाली उत्पादनको बजारीकरण हुनेतर्फ ध्यानाकर्षण गराए । 

‘तपाईँहरूले आफ्नो जुन ब्रान्ड छ, त्यो ब्रान्ड उपलब्ध गराइदिनु भयो भने उहाँहरूको स्पेसमा कति खालि हुन्छ, लैजान सक्ने नसक्ने उहाँहरूको कुरा भयो, त्यो पनि हामी गर्दैनौँ । दूतावासमा अन्यले चिया, कफीको फेस्टिबल गर्छ भन्नुभयो, तर हामी गर्दैनौँ,’ राणाले भने, ‘यो देशमा यो जाँदो रहेछ, प्रयास गर्नुहोस् भन्नुभएको छ, ओहदाको प्रमाणपत्र पेस गर्दा मेरो देशमा यो सामान बन्छ भनेर त्यो कुरा किन नदिने ? त्यो मात्रै गरेमा पनि ठूलो महत्व राख्छ ।’   

उनले राजदूतले नेपालको विशेष दिवसमा र ओहदाको प्रमाणपत्र पेस गर्दा पनि नेपाली उत्पादन उपहारमा दिँदा त्यसले नेपाली उत्पादनको बजारीकरण र माग बढ्न जाने बताए ।  

  • प्रकाशित मिति : भदौ २५, २०८० साेमबार १३:१२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया