logo-img

अख्तियारद्वारा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित पाँच जनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सो नगरपालिकाले मधेस प्रदेश सरकारको अनुदानबाट सञ्चालित योजनाहरूमध्ये सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माण कार्यमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासिनी र लेखा अधिकृत चौधरीले प्राविधिकले तयार गरेको मूल्याङ्कन तथा भुक्तानीका लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएकोभन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको अनुसन्धानबाट खुलेकाले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

उनका अनुसार उनीहरूले निर्माण काममा खर्च भएको रकम भन्दा छ लाख ५८ हजार चार सय ४० रुपैयाँ बढी भुक्तानी दिएको देखिएको छ । सरकारी रकम हानी नोक्सानी हुन गई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको देखिँदा मरासिनी र चौधरीलाई उक्त रकम बराबर बिगो कायम गरी माग दाबी गरिएको अख्तियारले जनाएको छ ।

यसै गरी आयोगले जनता माविको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

भवन निर्माण समितिका अध्यक्ष यादव, सचिव प्रसाद र कोषाध्यक्ष किरणदेवीले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको एवं नगरपालिकासँग भएको सम्झौताबमोजिमको सर्त पालना नगरी भुक्तानीका लागि स्वीकृत भएकोभन्दा बढी तथा निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी भुक्तानी लिएका कारण मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको देखिन आएकाले उनीहरूलाई पनि सोही रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन माग दाबी गरी आज विशेष अदालतमा आरोप–पत्र दायर गरिएको प्रवक्ता दाहालले बताए ।  





  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार १४:१५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया