logo-img

सालक संरक्षणको गीत : सागरबाबुको निर्देशनमा ‘एकै डगर’ (भिडियोसहित)

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल जैविक विविधतामा धनी छ । हिमाल, पहाड र तराईका जंगल अनौठा र लोपोन्मुख वन्यजन्तुको घर हो। यी निर्दोष जीवहरू सिकारीका कारण तथा वासस्थानको विनाशका कारण लोप हुने अवस्थामा छन्।

तराईमा रहेका धेरै आदिवासी माछा मार्ने पेसामा छन् । उनीहरू सालक संरक्षित जीव हो र यसको सिकार गर्नु गैरकानुनी काम हो भन्नेबारे अनभिज्ञ छन् । त्यसैले उनीहरू अहिले पनि यो लोपोन्मुख जीवको सिकार गर्ने गर्छन् । यसलाई हानि पुर्याउने वा मार्ने काम गरेमा १५ वर्षको जेल सजाय वा १० लाखसम्म जरिवाना हुन सक्छ ।

त्यसैले यस प्राणीको रक्षा र स्थानीय बोटे जातिको पनि हितका लागि ग्रिनहुड नेपाल नामको संस्थाले यससम्बन्धी जानकारीमूलक गीत ‘एकै डगर’को म्युजिक भिडियो बजारमा ल्याएको छ ।

सागरबाबु भट्टको निर्देशन तथा सम्पादनमा उक्त म्युजिक भिडियो निर्माण गरिएको हो ।  भिडियोको छायांकन माडी–१ बनकट्टा चितवन मध्यवर्ती क्षेत्रमा छायांकन गरिएको छ । 

कुमार पौडेलको अवधारणामा हर्क साउदले एकै डगरको गीत लेखेका हुन् । भूपु पाण्डेको संगीत र स्वरमा रेकर्ड गरिएको उक्त गीतको म्युजिक भिडियोमा भुपु पाण्डे, सबिता बोट, दिलकुमारी बोट, रेशुब बोटलगायतले अभिनय गरेका छन् ।

राज पोखरेलले छायांकन गरेको उक्त म्युजिक भिडियोमा रंगसंयोजन प्रविण भट्टले गरेका छन् । बिपी फिल्म्सको पोस्ट प्रोडक्सनमा उक्त गीत निर्माण भएको हो । बोटे जातिको लवज, संस्कृति, रहनसहनलाई लिएर उनीहरुकै भाषामा उक्त गीत तयार भएको छ । बोटेजातिलगायत सबैले सालक के हो, यो कस्तो हुन्छ, यसको अवस्था नेपालमा अनि विश्वमा के छ भन्ने बुझाउनु भिडियोको उद्देश्य रहेको निर्देशक भट्टको भनाइ छ । 



सालक झट्ट हेर्दा माछाजस्तै देखिन्छ, त्यसैले तराईमा बसोबास गर्ने केही माछा मार्ने समुदायले यसलाई ‘बन माछा वा ‘सियाल माछा’का नामले चिन्छन् । निर्देशक भट्टले भने, ‘यो गीत आदिवासी बोटे समुदाय र सालक दुवैको सुरक्षाको लागि अपिल हो, दुवै पक्षको संरक्षणका लागि यो गीत तयार पारिएको हो ।' 

वन्यजन्तु अपराधले प्रकृतिलाई मात्र नभई स्थानीय समुदायको जीवनमा समेत बाधा पुर्‍याउँछ। स्थानीयलाई अपिल गर्दै निर्देशक भट्टले भने, ‘कृपया सिकार र अवैध वन्यजन्तु व्यापारमा संलग्न नहुनुहोस् वा अरूलाई पनि संलग्न हुन नदिनुहोस्। सालक लगायत सबै वन्यजन्तुलाई जंगलमा स्वतन्त्र घुम्न दिनुहोस्।’
 



  • प्रकाशित मिति : असोज २०, २०८० शनिबार १८:११:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया