logo-img

नेत्रहीन युवा संघद्वारा १५ बुँदे घोषणापत्र जारी, सम्मानजनक व्यवहारको माग

नेत्रहीन युवा संघ नेपाले १५ बुँदे घोषणापत्र जारी गरेको छ । संघले सोमबार काठमाडौंमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै १५ बुँदे घोषणापत्र जारी गरेको हो ।   

संघले घोषणा पत्रमार्फत अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै नीति तथा योजना निर्माणमा आफूहरूको सार्थक सहभागिताको सुनिश्चितताको जोडदार माग गरेको छ ।

सार्वजनिक एवं निजी क्षेत्रका हरेक निकायमा अन्य व्यक्ति सरह अपाङ्गता भएका व्यक्तिहरूको समेत पूर्ण र प्रभावकारी ढङ्गले सार्थक प्रतिनिधित्वको अधिकारलाई मूल प्रवाहीकरणको रूपमा स्थापित गर्न संघले माग गरेको छ ।

संघका महासचिव अर्जुन रावलले अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै नीति तथा योजना निर्माणमा आफूहरूको सार्थक सहभागिताको सुनिश्चितता हुनुपर्ने बताए । उनले समाजमा अपाङ्गता भएका व्यक्तिले भोग्नु परेको व्यवहारको विषयमा जानकारी गराउँदै सरकारले हरेक क्षेत्रमा आफूहरूको सम्मानजनक सहभागिता हुनुपर्ने बताए ।  

यस्तो छ संघको १५ बुँदे घोषणापत्र :

१. सङ्घीय संसद्मा पेस भएको विधेयकअनुकूल शिक्षा विधेयकमा उल्लेखित विभिन्न प्रावधानहरूमा आवश्यक सुधार तथा परिमार्जन गर्दै विधेयकलाई अपाङ्गता भएका व्यक्तिमैत्री बनाउनको लागी अपाङ्गताको क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूसँगको आपसी सहकार्य, कार्यगत एकता र समन्वयमा पैरवी तथा वकालतको कार्यलाई तीव्रताका साथ अगाडि बढाउन यो संस्था पूर्ण प्रतिबद्ध छ ।



२. नेपाल सरकारले आत्मसाथ गरेको समावेशी शिक्षाको मर्म र मान्यतालाई अङ्गीकार गर्दै पहुँचयुक्त र समावेशी शैक्षिक प्रणाली विकास र प्रवर्द्धनको लागि प्रारम्भिक पहिचान, सहयोग प्रणाली, मूल्याङ्कन प्रणाली, समावेशी सिकाई वातावरण र पहुँचयुक्त शिक्षण सिकाई सामग्री विकास, प्रवर्द्धनको लागी तिनै तहका सरकार तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक सहकार्य, समन्वय र पैरवी र वकालतको कार्यलाई अगाडि बढाउन आवश्यक पहलकदमी चाल्न संस्था कटिबद्ध छ ।

३. विद्यालय तथा उच्च शिक्षामा दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिका एवं विद्यार्थीहरूलगायत सबै किसिमका अपाङ्गता भएका विद्यार्थीहरूको पहुँचको लागी छात्रवृत्ति एवं पहुँचयुक्त शैक्षिक सामग्रीको सुनिश्चितता, पहुँचयुक्त र समावेशी सिकाई वातावरण, पहुँचयुक्त सूचना, सञ्चार तथा शैक्षिक सामग्री विकास र प्रवर्द्धनको लागी सम्बन्धित सरोकारवाला निकायहरूसँग गम्भीर छलफलमार्फत निर्णायक निष्कर्ष मा पुग्न वाञ्छनीय वकालत तथा पैरवी गर्न संस्था अग्रसर छ ।



४. अपाङ्गता भएका विद्यार्थीको उच्चतम शैक्षिक उपलब्धि हासिल गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन आवश्यक संरचनागत एवं नीतिगत व्यवस्थाका लागी सरोकारवाला निकायसंग निरन्तर संवाद, वकालत तथा पैरवी गर्नुलाई संस्थाले आफ्नो अपरिहार्य कार्यभार ठान्दछ ।

५. दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको छापा अक्षरमा अन्य व्यक्तिसरह पहुँच स्थापित गर्नका निम्ति संसदबाट तत्काल म्याराकस सन्धि  अनुमोदन गर्न सम्बन्धित जनप्रतिनिधिलगायत सरोकारवालासँग संस्था जोडदार माग गर्दछ । साथै श्रव्य दृश्य एवं डिजिटल माध्यमबाट उपयुक्त अनुकूलताको सिद्धान्तलाई आत्मसात गरी, थप अतिरिक्त बोझ बिना प्रचलित परम्परागत किसिमको बौद्धिक सम्पति एवं प्रतिलिपि अधिकार सम्बन्धी कानुनी व्यवस्थालाई सीमित अपवादहरू मार्फत दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको अध्ययनको हक सुनिश्चित गर्ने सन्दर्भमा तय भएको उक्त सन्धि तत्काल अनुमोदनको अपरिहार्यताबारे संस्थाले सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ ।

६. सर्वसाधारणका निम्ति खुला गरिएका सम्पूर्ण स्थलहरूमा बिना कुनै विभेद , पूर्ण र प्रभावकारी ढङ्गले अपाङ्गता भएका व्यक्तिको सहभागिताको हकलाई अक्षुण्ण राख्न सम्बन्धित पक्षसँग संस्था अनुरोध गर्दछ । साथै उपयुक्त अनुकूलताको अस्विकारलाई समेत अपाङ्गता भएका व्यक्तिमाथि गरिने विभेदको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनले उल्लेख गरेको सन्दर्भ समेत संस्था सम्बन्धित निकायहरूलाई स्मरण गराउन चाहन्छ ।

७. अपाङ्गता भएका व्यक्तिहरूको आधारभूत स्वास्थ्य सेवा लगायत यौन तथा प्रजनन स्वास्थ्य सेवा, शारीरिक, मानसिक र संवेगात्मक स्वस्थताको स्थिति सिर्जना गर्न आवश्यक पहुँचयुक्त सूचना तथा जानकारीको प्रत्याभूति हुने प्रणाली विकास गर्न तथा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्यको अधिकार सुनिश्चितता का निम्ति पहुँचयुक्त स्वास्थ्य पूर्वाधार विकास र प्रवर्द्धन, समावेशी स्वास्थ्य सेवाको प्रवर्द्धन, पहुँचयुक्त औषधी र स्वास्थ्य उपकरणको विकास र प्रवर्द्धनलगायतका पक्षहरूमा सरकारी तथा गैरसरकारी निकायहरूसँग सहकार्य गर्न संस्था सम्बन्धित पक्षसँग आह्वान गर्दछ ।

८. राजनीतिक सहभागिताबिना अधिकार प्राप्ति र कानुनको कडाइका साथ कार्यान्वयन गराउन सकिँदैन भन्ने अवधारणालाई आत्मसात गर्दै पहुँचयुक्त निर्वाचन प्रणालीमार्फत राजनैतिक प्रकृतिका हरेक चुनावमा चुन्ने, चुनिने, र नीति तथा योजना निर्माण, कार्यान्वयन एवं मूल्याङ्कन प्रक्रियामा हस्तक्षपकारी भुमिका निर्वाहसहित अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक सहभागिता सुनिश्चितता र अपाङ्गता समावेशी लोकतान्त्रिक अभ्यास प्रवर्द्धनको लागी क्षमता विकास, सचेतना प्रवर्द्धन, र सम्बन्धित निकायहरूमा पैरवी तथा वकालतका कार्यहरू स्थानीय तहदेखि नै तीव्रताको साथ अगाडि बढाउन संस्था अठोट गर्दछ ।

९. दृष्टिसम्बन्धी अपाङ्गता भएका शिक्षकहरूको पेशागत बृत्तिविकास तथा अन्य औपचारिक तथा अनौपचारिक क्षेत्रमा आविद्ध दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तीहरूको पेशागत् हक, हित र सुरक्षाको लागी क्षमता अभिवृद्धि, नमुना कार्यक्रम विकास र अभिमुखीकरणका गतिविधिहरूलाई आपसी सहकार्य र समन्वयका साथ अगाडी बढाउन आवश्यक कार्यनीति तयार पारी लागु गर्न संस्था सङ्कल्परत छ ।

१०. अपाङ्गता भएका व्यक्तिहरूले रोजगारीका क्षेत्रमा भोग्नुपरेको विभेद, बहिष्करण र भिन्नकरणप्रति खेद प्रकट गर्दै, अन्य व्यक्ति सरह पूर्ण र प्रभावकारी ढङ्गमा, पहुँचयुक्त कार्यस्थल र अपाङ्गता समावेशी रोजगार वातावरण को सिर्जना, बिकास र प्रवर्द्धनमार्फत अपाङ्गता भएका व्यक्तिको रोजगारको अधिकारको सुनिश्चितताका निम्ति संस्था सम्बन्धित पक्षहरूसँग जोडदार माग गर्दछ । साथै, दृष्टिसम्बन्धी अपाङ्गता भएका युवाहरूको रोजगारी सुनिश्चितता तथा स्वरोजगार प्रवर्द्धनको लागी रोजगार तयारी तालिम, व्यावसायिक तथा सिपमूलक तालिम, बजार व्यवस्थापन, समावेशी रोजगार सचेतना आदिजस्ता गतिविधिहरू निरन्तर रूपमा सञ्चालन गर्न संस्था दृढतापूर्वक प्रयत्नशील छ ।

११. अन्तर्राष्ट्रियस्तरमा विकास आविष्कार र प्रवर्द्धन भइरहेका विभिन्न किसिमका नवीनतम् पहुँचयुक्त प्रविधिहरूलाई सरल र सुलभ किसिमले नेपालका दृष्टिसम्बन्धी अपाङ्गता भएका युवाहरूले पहुँच हासिल गर्न सक्ने गरी प्रवर्द्धन गर्नका लागी सम्बन्धित सरोकारवाला निकायहरूसँग आपसी सहकार्य, समन्वय र साझेदारी गरी आवश्यक कामकारवाही अगाडि बढाउन संस्था सरोकारवालाहरूसँग आह्वान गर्दछ ।

१२. अपाङ्गता समावेशीकरणको पूर्व सर्तको रूपमा पहुँचयुक्ततालाई अनिवार्य रुपमा आत्मसात गर्दै भौतिक तथा डिजिटल दुनियाँलाई पहुँचयुक्त बनाउनको लागी सचेतना, अभिमुखीकरण, क्षमता विकास र पैरवी वकालतका कार्यलाई अभियानको रूपमा अगाडि बढाउनुलाई संस्थाले आफ्नो आधारभूत जिम्मेवारी ठानेको छ।

१३. अपाङ्गता भएका खासगरी दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले सर्वसाधारणका लागि खुला गरिएका बैंकिङ सेवा तथा सुविधा उपभोगका क्रममा खेप्नुपरेको विभेदकारी अपाङ्गताद्वेषी ब्यबहारप्रति संस्था आपत्ति व्यक्त गर्दछ । अपाङ्गता भएका व्यक्तिहरूको अन्य व्यक्ति सरह समान र पूर्ण प्रभावकारी तवरले सहज र समान बैङ्किङ तथा वित्तीय सेवा तथा सुविधा उपयोगका निम्ति वित्तीय क्षेत्रको पहुँचयुक्तता सुनिश्चितताको लागी आवश्यकता अनुसार, बैंक तथा वित्तीय संघसंस्थाले उल्लङ्घन गरेका प्रावधानसँग सम्बन्धित प्रमाण सङ्कलन, पैरवी तथा वकालत र आवश्यक कानुनी उपचारजस्ता प्रकृयाहरूलाई सशक्त अभियानको रूपमा अगाडि बढाउन संस्था पूर्ण जिम्मेवारीका साथ लाग्न प्रतिबद्ध छ ।

१४. सङ्घीय गणतान्त्रिक शासकीय स्वरूपअनुसार संवैधानिक अधिकार र दायित्वहरू विकेन्द्रीकरण भइरहेको वर्तमान अवस्थालाई हृदयङ्गम गर्दै जिल्ला तथा प्रादेशिकस्तरमा कृयाशील नेत्रहीन युवा सङ्घ नेपालका शाखाहरूलाई पालिकास्तरसम्म विस्तार गर्दै समग्र अपाङ्गता आन्दोलनलाई स्थानीय तहदेखि नै प्रभावकारी र सशक्त बनाउन संस्था दृढतापूर्वक अघि बढ्ने योजनामा प्रतिबद्ध छ। साथै अपाङ्गता समावेशी विकासको लागी स्थानीयस्तरमा रहेका दृष्टिसम्बन्धी तथा अन्य अपाङ्गता भएका व्यक्तिको अधिकारको वकालत एवं पैरवीको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरू, यस संस्थाका शाखाहरू एवं तिनका सदस्य तथा पदाधिकारीहरूको ज्ञान, सीप र दक्षताको विकास , क्षमता अभिवृद्धि एवं नेतृत्व विकास लगायत सशक्तीकरणका निम्ति आवश्यक वाञ्छनीय कार्यक्रमहरू विकास तथा सञ्चालन गर्न संस्था प्रतिबद्ध छ ।

१५. अपाङ्गता भएका बालबालिका तथा युवाहरूको खेलकुद तथा मनोरञ्जनको हक सुनिश्चितताका निम्ति विभिन्न किसिमका खेल तथा मनोरञ्जन क्षेत्रहरूमा पहुँचयुक्तता प्रवर्धन, सचेतनामूलक कार्यक्रमको प्रवर्द्धन, समावेशी खेलहरूको पहिचान, सिकास र प्रवर्द्धन एवं मनोरञ्जन क्षेत्रलाई पहुँचयुक्त बनाउनको लागी अनुसन्धान, अभियान र सचेतीकरणका कृयाकलापहरूलाई स्थानीयस्तरदेखि नै अगाडि बढाउनका निम्ति आवश्यक वकालत तथा पैरवीको अगुवाइ गर्न संस्था हरदम तत्पर छ । 

  • प्रकाशित मिति : असोज ३०, २०८० मंगलबार ११:४९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया