logo-img

बिउ र मल नपाउँदा खुम्चिँदै जुट खेती : उद्योगका लागि स्वदेशी उत्पादन अपर्याप्त

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मोरङ, सुनसरी र झापा जिल्लाको प्रमुख उत्पादनका रूपमा रहेको जुट खेती पछिल्लो समय घट्दै गएको छ । कुनै बेला ६० हजार हेक्टरमा जुट खेती हुने गर्दथ्यो । अचेल करिब ४ हजार हेक्टरमा मात्र जुट खेती हुने गरेको छ ।

मोरङमा ४ हजार ३ सय ३८ हेक्टर, सुनसरीमा १४ सय हेक्टर र झापामा ५ सय ९० हेक्टर जग्गामा जुट खेती हुने गरेको छ । मोरङ, सुनसरी र झापामा हुने जुट खेती दुई दशकपछि आउँदा कुल क्षेत्रफलको १० प्रतिशतमा सीमित भएको हो ।

जुट खेतीबाट किसान पलायन हुने क्रमसँगै तीन जिल्लामा रहेका सयौं पोखरी पनि मासिँदै गएका छन् । जुट प्रशोधनका लागि पानीमा डुबाएर राख्न पोखरी निर्माण गरिन्छ ।

पछिल्लो समय ती तीन जिल्लाका दक्षिणी क्षेत्र हुलाकी राजमार्गको आसपासका किसानले मात्र थोरै क्षेत्रफलमा जुट खेती गर्ने गरेका छन् । भनेको समयमा बिउ नपाउनु, मल सहजरूपमा उपलब्ध नहुनु जस्ता कारणले खेतीमा समस्या हुने गरेको जुट खेतीमा संलग्न सुनसरीका किसान मोती यादवको भनाइ छ ।

जुटको बिउ छरेको १२० देखि १५० दिनसम्ममा पाटा काट्ने बेला हुन्छ । सामान्यतः बोरा, डोरी, झोला, गलैँचा र पर्दा बनाउनका लागि जुटको प्रयोग गरिन्छ । 

विगतमा यस क्षेत्रमा उत्पादित जुट भारत र बंगलादेशमा निर्यात गरिन्थ्यो । अचेल भने सुनसरी–मोरङ औद्योगिक कोरिडोरका अधिकांश जुट मिलका लागि आवश्यक कच्चा जुट भारत र बंगलादेशबाट आयात हुन्छ ।



मोरङ, सुनसरी र झापा जिल्लामा प्रशस्त जुट खेती भएका बेला जुटमा आधारित ११ वटा उद्योगहरू स्थापना भएका थिए । तीमध्ये अहिले कच्चापदार्थ अभावमा आधाजसो बन्द भएका छन् । 

सञ्चालनमा रहेका उद्योग पनि संकटग्रस्त छन् । सुनसरीमा रहेको अरिहन्त मल्टिफाइबर्सका मुख्य कार्यकारी अधिकृत गोविन्द बजगाईं कच्चापदार्थ विदेशबाट आयात गर्नुपर्ने भएकाले समस्या परिरहेको बताउँछन् । पर्याप्त कच्चापदार्थ उपलब्ध नहुँदा उत्पादन प्रभावित हुने गरेको उनको भनाइ छ ।



जुट उद्योग संघका अनुसार मोरङ, सुनसरी र झापामा प्रशस्त जुट खेती हुँदा खुलेका उद्योगहरू बन्द हुनुको मुख्य कारण कच्चापदार्थ अभाव हो । वार्षिक रुपमा करिब ६० करोड रुपैयाँको कच्चा जुट आयात गर्नुपर्ने अवस्था रहेको उद्योगीहरू बताउँछन् ।

वातावरणीय हिसाबले कुनै प्रतिकूल असर नगर्ने जुट खेतीलाई बिस्तार गर्न सरकारले किसानलाई पर्याप्त सुविधा दिएर कच्चापदार्थ स्वदेशमै उत्पादन गर्न ठोस कार्यक्रम ल्याउनुपर्ने देखिएको छ । 

  • प्रकाशित मिति : कात्तिक २, २०८० बिहीबार १०:१४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया