logo-img

छालाको शत्रु एक्जिमा, कसरी गर्ने नियन्त्रण ? (भिडियाेसहित)

छाला मानव शरीरको अभिन्न अंग हो । छाला शरीरको बाहिरी पत्र हो, जुन स्वस्थ हुन जरुरी छ । छालालाई शरीरको ऐनाका रूपमा पनि लिइन्छ । छालामा आएको परिवर्तनले शरीरको अवस्थालाई जनाउने गर्छ । 

कहिलेकाहीँ बाह्य तत्त्वले धेरै प्रभावित हुने अंग पनि छाला नै हो । छालामा देखिने विभिन्न समस्यामध्ये एक हो, एक्जिमा ।

छालासम्बन्धी देखिने विभिन्न समस्यामध्ये एक्जिमा सबैभन्दा धेरै र आम रूपमा देखिने समस्या भएको वरिष्ठ छालारोग विशेषज्ञ डा. लैला लामाको भनाइ छ । उनका अनुसार एक्जिमा आफैँमा बृहत् शब्द हो । सामान्यतयाः यसलाई एलर्जीले आउने दाद वा खस्रो खटिरा भनेर बुझ्न सकिन्छ ।
 
उनका अनुसार एक्जिमालाई विशेषतः दुई भागमा विभाजन गरिएको छ । जसमध्ये एन्डोजेनस एक्जिमा र एक्जोजेनस एक्जिमा हुन् । छालाको प्रकार, छालाको भित्रीदेखि आउने समस्या, वंशाणुगत कारणले हुने एक्जिमालाई एन्डोजेनस एक्जिमा भनिन्छ । 

यस्तै, एक्सोजेनस एक्जिमामा बाह्य तत्वका कारण छालामा समस्या देखिन्छ । वातावरणीय कारणले छालालाई असर गर्यो भने छालाले तुरुन्त प्रतिक्रिया जनाउँछ, जसलाई एक्सोजेनस एक्जिमा भनिन्छ । 

‘एक्जिमा हुने प्रमुख कारण नै छालाको प्रकार हो । एन्डोजेनस एक्जिमा हुने व्यक्तिको छाला भित्रबाटै सेन्सिटिभ हुन्छ । यसमा स–सानामा कुराले असर गरेर छालाले तुरुन्त प्रतिक्रिया जनाइहाल्छ’, डा. लामा भन्छिन्, ‘एक्सोजेनस एक्जिमामा वातावरणमा भएको के कुराले एलर्जी गर्छ, त्यसलाई खोज्ने कार्य गरिन्छ । व्यक्तिअनुसार एक्सोजेनसमा विभिन्न कुराले एलर्जी पैदा गरिरहेको हुन्छ । उदाहरणका लागि कसैलाई कुनै वनस्पतीले एलर्जी भइरहेको हुन्छ ।’ एलर्जी के कारणले पैदा भइरहेको छ, त्यसलाई पहिचान गर्नु एकदमै आवश्यक रहेको उनको भनाइ छ । 

उनका अनुसार एक्सोजेनस एक्जिमामा एलर्जी आइसकेकोलाई औषधि, उपचारबाट कम गर्न सकिन्छ । पुनः एलर्जी हुने नहुने कुरा व्यक्तिले आफूलाई एलर्जी गराउने तत्त्वलाई कतिको बन्देज गर्न सक्छ, त्यसमा भर पर्छ । एक्जिमा हुने कारणलाई पत्ता लगाई पूर्वसमाधानका उपाय अपनाउँदा एक्जिमा हुने सम्भावनालाई धेरै हदसम्म नियन्त्रण गर्न सकिने उनको भनाइ छ । 



उनका अनुसार छालामा जलन, रातोपना, चिलाउने, अति सानो फोका र डल्लो आउने, अलि अलि पानी बगिरहने, छाला कडा हुने जस्तो समस्या एक्जिमाका लक्षण हुन् । सामान्य एक्जिमाको समस्यामा मल्हम लगाए पुग्छ । तर, जटिल खालका एक्जिमा भए औषधि खानुपर्ने अवस्था पनि आउन सक्छ । ‘एक्जिमा बच्चादेखि नै सुरु हुन्छ । कतिको उमेरसँगै निको भएर जान्छ भने कतिको जीवनभर रहिरहन्छ । उनीहरूले साबुन, मोस्चराइजर, औषधिलगायत कुरामा ध्यान दिनुपर्छ,’ डा. लामाले भनिन् । 

सामान्य एक्जिमा एलर्जी गराउने वस्तुको सम्पर्कबाट टाढा रहँदा ठिक हुन्छ । तर,  जटिल खालका एक्जिमाका लागि भने छाला रोग विशेषज्ञसँगको परामर्शमा औषधि खानुपर्ने उनले जानकारी दिइन् । 
 



  • प्रकाशित मिति : कात्तिक २४, २०८० शुक्रबार १८:१८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया