logo-img

जनतालाई राहत दिनुपर्ने सरकार मैदान छोडेर भाग्यो : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतालाई राहत र उद्धारको आवश्यकता भएको अवस्थामा सरकार मैदानबाट भागेको बताएका छन् । जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलामा उनले राज्य सुरुको समयमा हेलिकप्टरमा सवार देखिए पनि आवश्यकताको समयमा मैदान छोडेर भागेको टिप्पणी गरे । 

उनले एक दुई वटा होइन एक दर्जन राजनीतिक दलहरूले नेतृत्व गरिरहेको सरकार नागरिकहरूको रक्षाको प्रश्नमा बेखबर र उदासीन देखिएको टिप्पणी गरे । उनले भने, ‘सरकार सुरुका दिनमा हेलिकप्टरमा सवार त देखियो, तर जति बेला जनतालाई राहत र उद्धारको आवश्यकता छ । त्यति बेला सरकार मैदानबाट भागेको अवस्था छ । राज्यसँग सामर्थ्य नभएको होइन । जुन राज्यभित्र छोटो समयभित्र हामी जनतालाई संरक्षण गर्ने कामको नेतृत्व गरेका थियौ, आज त्यही राज्यको नेतृत्व गर्नेहरू एउटा होइन, दुई वटा होइन, एक दर्जन राजनीतिक दलहरूले नेतृत्व गरिरहेको सरकार नागरीहरूको रक्षाको प्रश्नमा यति बेखबर र उदासीन छ ।’

उनले जनताको घाउमा औषधी लगाउनका लागि नेकपा एमालेले एक हजारभन्दा बढी स्वयम सेवकहरुलाई सबै प्रकारको व्यवस्था मिलाएर पठाएको दाबी गरे । यस्तै, उनले नेपाली समाजमा निराशा र अराजकताबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थाको सुधार गर्नको लागि एमालेको विकल्प नभएको बताए । 

‘आज जनतामा जुन प्रकारको निराशा छ यो निराशा स्वाभाविक रूपमा चिन्ताको विषय हो, नेपाली समाज चरम अराजकताबाट गुज्रिरहेको छ । अराजकताले नेपाली समाज गाँजिरहेको छ, नेपाली समाजलाई कमजोर बनाउने प्रयास भइरहेका छन्,’ उनले भने, ‘हामीले ल्याएको परिवर्तनको जिम्मा अरूलाई दिन सक्दैनौ, यो परिवर्तन हामीले ल्याएको हो र यसको रक्षाको लागि नेकपा एमाले सधैँ तत्पर छ । नेपालमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ र त्यसको रूपमा नेकपा एमालेलाई सुदृढ गर्दै बलियो राष्ट्रिय शक्तिको रूपमा निर्माण गर्न चहन्छौँ ।’
 





  • प्रकाशित मिति : मंसिर २, २०८० शनिबार १५:१०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया