logo-img

मंसिर ७ वार्मअप मात्रै, पूरा फिल्मको तयारी भइरहेको छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले, मंसिर ७ गते काठमाडौंमा युवा संघले गर्ने भनेको बृहत् जनप्रदर्शन वार्मअप मात्रै भएको बताएका छन् । 

मंसिर ७ गते युवासंघले गर्ने भनेको जनप्रदर्शनअघि आज पार्टी कार्यालय च्यासलमा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले ठूलो आन्दोलनको तयारी भइरहेको खुलासा गरेका हुन् । 

‘मंसिर सात एक प्रकारले भन्नुहुन्छ भने हाम्रो अभियानको वार्मअप मात्रै हो । पूरा फिल्मका लागि त हामी अझ तयारीको यात्रामा जुटिरहेका छौँ,’ उनले भने, ‘यो मुलुकमा अहिले जुन खालका बेथिति भइरहेको छ । के हामी सबै प्रकारका बेथिति टुलुटुलु हेरेर बस्न सक्छौँ ?’

शनिबार केन्द्रीय कार्यालय च्यासलमा जारी भेलालाई सम्बोधन गर्दै पोखरेलले अहिले सबैले एमालेमाथि निशाना साँधेको जिकिर गरे । ‘सत्तामा बस्नेहरूको निशाना एमाले, पुराना होइन, नयाँ भन्नेहरूको निशाना पनि एमाले, परिर्वतन असफल भयो अब राजा नै चाहिन्छ भन्नेहरू  प्रतिगामीहरूको निशाना पनि एमाले,’ उनले थपे, ‘के नेकपा एमाले अहिले सरकारमा छ र ? प्रतिपक्षमा रहेको यो पार्टी माथिको प्रहार किन ? हामी सबैले गम्भीरतापूर्वक मनन गर्नु पर्दछ ।’ 

यो एमालेमाथिको प्रहार नभएर देशभक्तहरूमाथिको प्रहार भएको उनको ठम्याइ छ । ‘यो एमाले नेतृत्वमाथिको प्रहार होइन, नेपाली जनताको भविष्यमाथिको प्रहार हो भन्ने कुरालाई बुझ्न जरुरी छ र त्यो प्रहारका विरुद्धमा नेपाली जनतालाई उभ्याउनका लागि युवा र विद्यार्थीहरू उठ्न जरुरी छ,’ उनले भने, ‘राष्ट्रनिर्माणको नयाँ यात्रा आरम्भ गर्नका लागि अब एमाले सम्बद्ध युवा विद्यार्थीहरूको मोर्चा कसेका छन् ।’

जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको कार्यक्रममा २३ वटै संगठनका पदाधिकारी र सम्पर्क समन्वय समितिलगायत सदस्यको विशेष भेलाले सबै शक्ति मंसिर ७ को प्रदर्शनमा केन्द्रित गर्ने घोषणा समेत गरेको उनले जानकारी गराए । 



भेलाको सुरुआत गर्दै संयन्त्रका इन्चार्ज भानुभक्त ढकालले मंसिर ७ को प्रदर्शन राजनीतिक मिसनमा आधारित रहेको भन्दै कतिपयले व्यक्तिको लडाइँसँग जोडेकोमा आपत्ति जनाए । उनले यो पार्टीकै कार्यक्रम भएकाले सबै शक्ति लगाइने बताए ।

यही सन्देश दिन अध्यक्ष र महासचिवसहितको विशेष बैठक राखिएका संयन्त्रकी उपप्रमुख रचना खड्काले बताइन् । मुलुकमा व्याप्त बेथिति, भ्रष्टाचार र सत्ताको ज्यादतिविरुद्ध एमालेको विरोध प्रदर्शन रहेको उनले बताइन् ।



भेला जाजरकोट भूकम्प प्रभावितका लागि स्वयंसेवी अभियान, मध्यपहाडी यात्रा र मंसिर ७ को प्रदर्शनका लागि छलफल गर्न आयोजना भएको उनको भनाइ थियो ।

  • प्रकाशित मिति : मंसिर २, २०८० शनिबार १५:४२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया