logo-img

एनआरएनएको विवाद समाधान गरिदिन सरकारसँग शर्माको आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएन)मा एक समूहको नेतृत्वग रिरहेका राजेन्द्रकुमार (आरके) शर्माले विवाद समाधान गरिदिन सरकारलाई आग्रह गरेका छन् ।

उनले संघको अनलाइन निर्वाचनमा भएको धाँधलीबारे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अध्ययन प्रतिवेदन उपलब्ध गराई संघमा चुलिएका विवाद समाधान गरिदिन सरकारलाई आग्रह गरेका हुन् । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले डा. बद्री केसी नेतृत्वले अनलाइन भोटिङमा धाँधली गरी आफ्नो पक्षमा मत बढाएको उल्लेख गर्दै संघभित्र पछिल्लो समय चुलिएको विवाद समाधान गर्न सरकार गुहारेका हुन् । 

उनले केसी नेतृत्वको समूहले निर्वाचन प्रक्रिया नै परिवर्तन गरी गैरकानुनी रुपले आफ्नो पक्षमा नतिजा पारेको भन्दै आफूहरूले निर्वाचनमा भएको धाँधलीको निष्पक्ष अनुसन्धान गराउन केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा गरेको उजुरीबारे अनुसन्धान प्रतिवेदन पाउनुपर्ने बताए । 

उनले भने, ‘सिआइबीमा हामीले छानबिनका लागि उजुरी हालेको ३५ दिनभन्दा बढी भयो । सोबारे सत्यतथ्य के हो भनेर कागजपत्र माग्दा हामीसम्म आइपुगेको छैन । तर, केही मिडियामार्फत जान्ने मौका मिल्यो, सिआइबीले अनुसन्धान गरेको कुरा बाहिर आइससकेको रहेछ ।’

शर्मा नेतृत्वको समूहले वर्तमान केसी नेतृत्वको एनआरएनए गैरकानुनी भएको दाबी गर्दैै पुनः निर्वाचन गराउनुपर्ने माग गर्दै आएको छ ।



शर्माले समस्या समाधानका लागि पुनः निर्वाचन गर्नुपर्ने मागसहित हाल चुलिएको विवादलाई समाधान गरिदिन सरकारलाई आग्रह गरेका छन् । 

उनले भने, ‘म विनम्रपूर्वक नेपाल सरकारलाई आग्रह गर्छु, यो गैरआवासीय नेपाली संघका विवाद समाधान गर्दिनुस् र निर्वाचनमा भाग लिएको उम्मेदवारले सिआइबीमा हालेको निवेदनका आधारमा सिआइबीले गरेको अनुसन्धानको अफिसियल रिपोर्ट उपलब्ध गराइदिनुहोस् ।’



शर्मा नेतृत्वको समूहले पुनः निष्पक्ष निर्वाचन हुनुपर्ने माग गर्दै विज्ञप्ति पनि जारी गरेको छ ।
 

  • प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार १५:५३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया