logo-img

बढ्दै मिर्गौला रोगी : रोजगारीका लागि खाडी गएका व्यक्तिमा समस्या बढ्दै

वि.सं ०७५ चैतमा रोजगारीको शिलशिलामा झापा घर भएका ४३ वर्षीय हरि कार्की मलेसिया पुगे । मलेसियामा उनी दिनरात नभनी काममा खटिन्थे । उनले जसोतसो काम गरिरहेका थिए । बिस्तारै समय बित्दै जाँदा उनको स्वास्थ्यमा समस्या देखिन थाल्यो । 

हरीलाई अनिन्द्रा, थकाइ महसुस हुन थाल्यो । उनले धेरै काम गरेर स्वास्थ्यमा समस्या देखिएको हुनसक्ने भन्दै काम गर्ने समय घटाए । काम गर्ने समय घटाएर काम गर्दा पनि उनको स्वास्थ्यमा कुनै सुधार देखिएन । बिस्तारै स्वास्थ्यमा सुधार हुने आशामा उनले निरन्तरता दिन थाले । 

तर, बढ्दो समयसँगै उनको स्वास्थ्यमा थप जटिलता देखिन थाल्यो । हरीलाई वाकवाक लाग्ने, सास फेर्न असहज हुने, पेट दुख्ने, निद्रा नलाग्ने, हातगोडा सुन्निने र झम्झमाउने, सास गन्हाउनेजस्ता लक्षण देखिन थाले । उनको स्वास्थ्यमा समस्या देखिएपछि उनका साथीले उनलाई स्थानीय अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगे । अस्पतालमा शारीरिक परीक्षण गरिसकेपछि हरीको मिर्गौला खराब भएको रिर्पोट उनलाई थमाइयो ।

रोजकारीका लागि विदेश आएका हरीलाई जब हातमा एउटा मिर्गौला खराब भएको रिपोर्ट थमाइयो, उनी छाँगाबाट खसेजस्तै भए । ‘रिपोर्ट हातमा आउँदा त के गरूँ, कता जाऊँ भएको थियो । घरको एक्लो छोरो, परिवारको सम्पूर्ण जिम्मेवारी मेरै थाप्लोमा थियो । मलेसिया गएर कमाएर घरमा जसोतसो जोहो भइरहेको थियो,’ हरी सुनाउँछन्, ‘तर, के गर्नु मलेसिया गएको डेढ वर्षमै स्वास्थ्यमा समस्या देखिन थाल्यो । जसातसो रोगलाई दबाएर बसेँ । दुखसुख परदेशमा सहनुपर्छ जस्तो लाग्थ्यो तर मिर्गौला नै खराब होला भन्ने कल्पनासमेत गरेको थिइनँ ।’

हरीले मलेसियामा करिब ३ वर्ष काम गरे । त्यसपछि उनको स्वास्थ्य समस्यामा सुधार नभएपछि आफ्नै जन्मभूमी फिरे । ‘मलेशियामै उपचार गरिरहेको थिएँ । तर, काम गर्दै गर्न नसक्ने भएपछि आर्थिक समस्या थपियो । परदेशमा मर्नुभन्दा आफ्नै देशमा मर्छु भन्ने लाग्यो र जे जस्तो भए पनि स्वदेश जान्छु भनेर गत वर्ष नेपाल आएँ,’ हरीले भने । 

धनुषाका रामलाल यादवले एक वर्ष अगाडि दुई वटै मिर्गौला फेल भएको थाहा पाए । उनी करिब ५ वर्षदेखि दुबई बस्दै आएका थिए । उनी स्वास्थ्यमा जटिलता देखिएपछि स्वदेश आएका थिए । मिर्गौला सम्बन्धी समस्या देखिनु पूर्व उनलाई उच्च रक्तचापको समस्या देखिएको थियो । 



नेपाल फकिएपछि वीर अस्पतालमा उपचार गराउँदा दुवै मिर्गौला फेल भएको पाइएको थियो । ‘१५–१६ घण्टामा काममा खटिन्थेँ, त्यसमाथि दुबईमा गर्मी असाध्यै बढी हुन्छ । सुरुमा उच्च रक्तचाप देखिएको थियो । बिस्तारै थकाई लाग्ने, कमजोरी महसुस हुन थाल्यो,’ यादव भन्छन्, ‘पछि त काम गर्नै नसक्ने जस्तो भएँ । डाक्टरले आराम गर्नु, खानपानमा ध्यान दिनु, धेरै पानी पिउनुलगायत सुझाव दिन्थे । काममा गएपछि आराम, खानपान के याद हुन्थ्यो ! केही गरी स्वास्थ्यमा सुधार नभएपछि नेपाल आए ।’ उनी हाल वीर अस्पतालमा नियमित डायलासिस गराइरहेका छन् । 

बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले नेपालमै बसोबास गर्नेभन्दा खाडी मुलुक र मलेसियामा काम गरेर फर्किएका आप्रवासी नेपालीमा मिर्गौलाको समस्या बढी हुन सक्ने देखाएको छ ।



अनुसन्धानमा वैदेशिक रोजगारीमा कम्तीमा २ वर्ष बसेका र फर्केको १२ महिनाभन्दा कम अवधिभित्रका कामदारहरू समेटिएका थिए । उनीहरूमाथि गरिएको अध्ययनले मिर्गौलाले रगत फिल्टर गर्ने अनुपात जाँच्न ग्लोमेरुलर फिल्ट्रेसन क्षमतामा कमी आएको देखाएको छ । अनुसन्धानमा ग्लोमेरुलर फिल्ट्रेसन वैदेशिक रोजगारीबाट फर्केका कामदारमा ५.८ प्रतिशत र स्थानीयमा ३.६ प्रतिशत देखिएको छ ।

विदेशतिर हरेक ६–६ महिनामा स्वास्थ्य परीक्षण गरिरहने भएकाले रोजगारीका लागि खाडी गएका व्यक्तिमा मिर्गौलाका समस्या धेरै देखिएको नर्भिक अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. सुमित आचार्य बताउँछन् । उनका अनुसार पछिल्लो समय विभिन्न अध्ययनमा रोजगारीका लागि खाडी मुलुक गएका व्यक्तिमा मिर्गौलासम्बन्धी समस्या देखिन थालेको छ । 

‘पछिल्लो समय नेपालमा रहेका मानिस पनि मिर्गौलाको समस्या लिएर अस्पताल आउने संख्यामा वृद्धि भएको विभिन्न अध्ययनमा पाइएको पाइएको छ । कहाँ बसोबास गर्ने व्यक्तिलाई बढी देखिएको भन्नुभन्दा पनि मिर्गौला खराब हुने विभिन्न कारण छन्,’ डा. आचार्य भन्छन्, ‘विदेशमा स्वास्थ्य पहुँच सहज भएकाले चाँडै पत्ता लागेको हुनसक्छ । तर, पछिल्लो समय नेपालमा पनि धेरै व्यक्तिहरू मिर्गौला  खराब भएर अस्पताल आउनेको संख्यामा वृद्धि भएको छ ।’

यस्तो लक्षण देखिएमा हुन सक्छ मिर्गौला रोग 

नेपालमा मिर्गौला रोग लागेको कुरा निकै कम मानिसले मात्रै पूर्ववत् अवस्थामा थाहा पाउँछन् । धेरैलाई थाहा नपाईकन मिर्गौला रोग लाग्ने डा. आचार्य बताउँछन् । शरीर सुन्निने, धेरै कोखा दुख्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाबमा फिँज आउने, पिसाब धमिलो हुने आदि मिर्गौला रोगका प्रारम्भिक लक्षण हुनसक्ने डा. आचार्य जानकारी दिन्छन् ।  

‘यसका साथै थोरै हिँड्दा थकाइ लागेको महसुस हुने, छाला सुक्खा हुने, चिलाउने, उच्च रक्तचाप हुने, शरीरका विभिन्न अंग सुन्निने, शरीर दुब्लाउँदै जाने आदि लक्षण देखिएमा तत्काल जाँच गर्न अस्पताल जानुपर्छ,’ उनले भने । 

डा. आचार्यका अनुसार मिर्गौलाले रक्तचाप सन्तुलनमा राख्ने, शरीरमा बढी भएको पानी निकाल्ने, सोडियम, पोटासियमको मात्रालाई सन्तुलनमा राख्ने काम गर्छ । मिर्गौलामा विभिन्न कारणले समस्या देखिन सक्छ । वंशाणुगत कारण, सिस्ट, पानीको फोका मिर्गौलामा आउँदा मधुमेह, उच्च रक्तचाप, पत्थरी, अनावश्यक पेन किलर खाएपछि मिर्गौला समस्या निम्तिने उनले जानकारी दिए ।

‘पछिल्लो समय मधुमेह र उच्च रक्तचापका बिरामीमा मिर्गौला खराब हुने प्रमुख कारण बनिरहेको छ । खानपान, अस्वस्थ कर जीवनशैलीका कारणले मिर्गौलामा समस्या देखिरहेको छ,’ डा. आचार्यले भने, ‘विदेश विशेष गरी खाडी मुलुकका रोजगारीका लागि पुगेका नेपालीमा मिर्गौलाको समस्या देखिएको छ । खाडी मुलुकमा पानीको अभाव, एनर्जी पेय पदार्थ तथा सामान्य स्वास्थ्य समस्यामा पेन किलर खाने कारणले उनीहरूमा यो समस्या देखिएको हो ।’ 

मिर्गौला खराब हुनुका कारण पत्ता लगाउन सकियो भने चाँडै उपचारतर्फ ध्यान दिन सकिने डा. आचार्य बताउँछन् । उनका अनुसार पिसाबमा प्रोटिन जाने, रगत जाने भएका मिर्गौलाको समस्या शंका गरिन्छ । उमेर नपुगेको व्यक्तिमा मिर्गौलाका कारण उच्च रक्तचापको समस्या देखिन सक्छ । कतिपयले उच्च रक्तचापको मात्र औषधि खाएर बसेका कारण पनि मिर्गौला खराब हुनसक्छ । उच्च रक्तचाप छ भने मिर्गौलाको जाँच गरेर रोग पत्ता लगाएर उपचार गर्नुपर्ने उनको भनाइ छ ।   

डा. आचार्यका अनुसार एक्कासि मिर्गौला खराब भएको मिर्गौलाबाट सानो भाग मासु काटेर परीक्षण गरिन्छ । के कारणले मिर्गौला खराब भएको भनेर पत्ता लगाएर त्यसको निदान गरिन्छ । यस्तो खाले मिर्गौला समस्यामा रोगअनुरूप उपचार गरिन्छ । त्यसै गरी दीर्घकालीन रूपमा मिर्गौला बिग्रिएको छ भने डायलसिस तथा मिर्गौला प्रत्यारोपण गरिन्छ । 

रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हुने डा. आचार्य बताउँछन् । ‘त्यसैले ४० वर्ष नाघेका व्यक्तिले वर्षमा एक पटक रगत र पिसाब परीक्षण गर्नुपर्छ भने मधुमेह र उच्च रक्तचापका बिरामीले बर्सेनि परीक्षण गर्नैपर्छ । यसरी परीक्षण गरेपछि मिर्गौलाको अवस्था कस्तो छ भन्ने थाहा हुन्छ । त्यसैले मिर्गौला रोग लागेर डायलासिस तथा प्रत्यारोपण गर्ने अवस्थामा पुग्नबाट जोगिन सकिन्छ,’ उनले भने ।  

डा. आचार्यका अनुसार धेरैजना विरामी मिर्गौला खराब भइसकेपछि अस्पताल आउने गरेका छन् । रोग लागेको समयमै थाहा पाउन नसक्दा बिरामीहरु अस्पताल आइपुग्न ढिलो गर्ने उनको भनाइ छ । ‘अन्य रोगमा जस्तो शरीरमा प्रत्यक्ष असर नदेखिने कारण पनि मानिसले मिर्गौला रोग लागेको पत्तो पाउँदैनन्,’ उनले भने ‘त्यसैले नेपालमा मिर्गौला रोगी उपचार गर्न अस्पताल आइपुग्दा धेरै ढिला हुने गर्छ, जसले गर्दा उपचारमा जटिलता बढ्छ ।’ 

  • प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार १९:३६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया