logo-img

यो वर्ष सर्वाधिक विकेट लिने सूचीमा सन्दीप शीर्ष चारमा, चर्चित बलरलाई पछि पारे
फाइल तस्बिर

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले पछिल्लो एक वर्षको अवधिमा जीवनमा विभिन्न आरोह–अवरोहको सामना गरे । सधैं मैदानभित्र बलिङका कारण चर्चाको शिखरमा रहने उनी एक वर्षयता भने प्रदर्शनका साथै बलात्कार आरोपका कारण चर्चामा रहे ।  

ठूलो मानसिक तनावका बाबजुद सन्दीपले आफ्नो बलिङबाट नेपाललाई महत्वपूर्ण सफलता दिलाउन भने कुनै कसर बाँकी राखेनन् । त्यसको ज्वलन्त उदाहरण हो उनले २०२३ मा गरेको प्रदर्शन । 

नेपालले विश्वकपमा पुग्न होस् वा एकदिवसीय विश्वकप छनोट र एसिया कप खेल्न । सन् २०२३ मा नेपाल ठूला प्रतियोगितामा छनोट हुनुमा सन्दीपको भूमिका पनि प्रमुख रह्यो । त्यसलाई थप पुष्टि गर्न उनले यस वर्ष गरेको प्रदर्शनलाई हेर्दा काफी हुन्छ । 

सन्दीपले २०२३ मा २१ एकदिवसीय खेल्दा ४.८५ को इकोनमीमा ४३ विकेट लिएका छन् । उनले यो वर्ष दुई खेलमा चार–चार तथा एक खेलमा ५ विकेट लिए । २०२३ मा सन्दीप एकदिवसीयमा सर्वाधिक विकेट लिने मामलामा चौथो स्थानमा छन् । 

नेपालको तर्फबाट भने उनी पहिलो नम्बरमा रहे । यो वर्ष ओडिआईमा सर्वाधिक विकेट लिने सूचीमा सन्दीपभन्दा अगाडि कुलदीप यादव, मोहम्मद सिराज र मोहम्मद शामी मात्र रहेका छन् ।  



२०२३ मा कुलदीपले ४८, सिरिजले ४४ र शामीले ४३ विकेट लिएका हुन् । यस वर्ष सन्दीप शाहिन साह अफ्रिदी, हरिस रौफ, एडम जाम्पा, मेहश थिक्क्षणालगायत स्टार बलरभन्दा अगाडि छन् । 



सन्दीपले यही वर्ष एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने विश्वकीर्तिमान पनि बनाए । उनले ४२ खेलमै यो उपलब्धि हासिल गरेका हुन् । 

यसअघि एकदिवसीयमा सर्वाधिक छिटो १ सय विकेट लिने रेकर्ड राशिद खानको नाममा थियो । उनले ४४ खेलमा सो उपलब्धि हासिल गरेका थिए । टी–२० अन्तर्राष्ट्रियमा पनि सन्दीपलाई सर्वाधिक एक सय विकेट लिने मामलामा राशिदको रेकर्ड बराबरी गर्ने मौका छ । 

हालसम्म उनले ५२ खेलमा ९८ विकेट लिएका छन् । राशिदले ५३ खेलमा १ सय विकेट पूरा गर्दै विश्वकीर्तिमान बनाएका थिए । नेपालले २०२३ को डिसेम्बरमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने तालिका नभएकाले सन्दीप अर्को वर्ष मात्र राशिदको रेकर्ड बराबरी गर्न सक्छन् । 

एकदिवसीयमा समग्र प्रदर्शनको कुरा गर्दा हालसम्म लामिछानेले ५० इनिङमा ४.३७ को इकोनमीमा ११२ विकेट लिएका छन् । उनी नेपालको तर्फबाट एकदिवसीय र टी–२० मा सर्वाधिक विकेट लिने बलर हुन् । सन्दीपलाई दुवै फरम्याटमा करण केसीले पछ्याइरहेका छन् । उनले हालसम्म एकदिवसीयमा ७४ र टी–२० मा ७९ विकेट लिएका छन् ।


  • प्रकाशित मिति : मंसिर २१, २०८० बिहीबार १०:२१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया