logo-img

एमाले सांसद पौड्याल भन्छिन्- सदनमा जति कराए पनि कुनै अर्थ छैन, यो पद्धति नै परिवर्तन गरौँ
‘कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रिय सभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्छ’

६ वर्षअघि निकै उत्साहका साथ राष्ट्रिय सभा सदस्यको जिम्मेवारी सम्हालिरहँदा सांसद डा. विमला राई पौड्याललाई कानुन निर्माण र जनताका आवाज सम्बोधनमा केही गर्न सकिन्छ भन्ने लागेको थियो । कानुन बनाउने त्यस बेलाको उच्च मनोबल अहिले घटिसकेको भने छैन तर आफ्ना तर्फबाट प्रयास गर्दा गर्दै जति सोचिएको थियो, त्यति गर्न नसकिएको उनको अनुभव छ ।
  
ललितपुरस्थित स्वीस दूतावासमा काम गर्दा गर्दै राष्ट्रिय योजना आयोगको सदस्य भएकी उनी आयोगको सदस्यपछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको स्वकीय सचिव पनि भएकी थिइन् । नेदरयाण्डस्को ‘इन्टरनेशन इस्टिच्युट अफ सोसियल स्टडिज’बाट ‘विकास अध्ययन’मा विद्यावारिधि गरेकी भोजपुर निवासी उनले महिला हिंसा, शिक्षा, सुशासन, राष्ट्रियताका सवालमा सदनमा सशक्त आवाज उठाउँदै आएकी छन् । 

मुलुक र जनताका विषयवस्तुलाई गहन रूपमा प्रस्तुत गर्न सक्ने नेकपा (एमाले) का सांसद पौड्याल संघीय संसद्मा सुरुका दुई वर्ष संविधानको मौलिक हकसँग सम्बन्धित मुलुकी ऐनहरू निर्माणमा सरकार र संसद्को सक्रियता रहेको तर पछिल्ला समयमा सरकारले पर्याप्त काम नदिँदा कानुन निर्माणको कार्यमा शिथिलता आएको ठान्छिन्। आफ्नो छ वर्षे कार्यकाल आगामी फागुन २० गते सकिने भए पनि संसदीय गतिविधिमा उत्तिकै लागिरहने पूर्वपरराष्ट्रमन्त्री डा. पौड्याल सुरुका दुई वर्षपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विभाजन, संसद् विघटन र राजनीतिक खिचातानीका कारण कानुन निर्माणका कार्य प्रभावित हुँदा खिन्न छिन् । 
      
कानुन निर्माणका अतिरिक्त सांसदले सरकारका कामको निगरानी र जनताका समस्या तथा गुनासालाई सदनमा आवाज उठाउन निर्वाह गर्नुपर्ने भएकाले आफूले ६ वर्षे अवधिमा ती सवामा सन्तोषजनकरुपमा भूमिका निर्वाह गरेको डा. पौड्यालको आत्ममूल्याङ्कन छ । सरकारले ‘बिजनेस’ दिएन भन्ने एउटा पक्ष छ, संसद्ले पनि आफै सक्रिय भएर विधेयकहरू मगाउने र छलफल गर्न सक्दैन रु भन्ने प्रश्नमा उनी भन्छिन्, ‘राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिसिनाले कतिपय मन्त्रीहरूलाई बोलाएर महत्त्वपूर्ण विधेयक चाँडो ल्याउन पटक पटक भनेको मैले सुनेकी छु । अहिले पनि निजामती कर्मचारीसम्बन्धी विधेयक, प्रदेश प्रहरीको समायोजन विधेयक, विद्यालय शिक्षासम्बन्धी विधेयक, विश्वविद्यालयसम्बन्धी विधेयक प्रस्तुत तथा पारितमा ढिलाइ भएको छ । यसमा सरकार नै सक्रिय नभई हुँदैन ।’
   
कानुन निर्माणका सवालमा प्रतिनिधिसभा र राष्ट्रियसभाका बीचमा जिम्मेवारीमा बाँडफाँट गरेर जान सुझाव दिने डा पौड्याल प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबाट निर्वाचित हुने बौद्धिक एवं विभिन्न समुदायको प्रतिनिधित्व हुने माथिल्लो सदनलाई संघीयता तथा समावेशीतासम्बन्धी विधेयक र नीतिहरूमा बढी अभ्यस्त बनाइनुपर्छ भन्छिन् । ‘दुई सदनबीच समन्वय भएमा विधेयकहरू छिटो पारित हुने र दोहोरोपना नहुने अवस्था आउँछ ।’ उनले भनिन् । वर्तमान सरकारले प्रतिनिधिसभामा बढी विधेयक दर्ता गर्ने गर्नुले राष्ट्रियसभाका कतिपय बैठक बिजनेस नभएर बस्दै नबसी स्थगन गर्नुपरेका घटना पनि उनी स्मरण गर्छिन् ।
      
नेपाल सरकारको वार्षिक बजेट र नीति तथा कार्यक्रममा सांसदहरूले राख्ने सुझावलाई दर्ज मात्रै गरिने तर प्रस्तुत कार्यक्रममा कुनै संशोधन नगर्ने परिपाटी चाहिँ उनलाई चित्त बुझेको छैन । ‘सत्ता पक्षकै कतिपय सांसदले राखेका जायज कुरा पनि संशोधन हुँदैन । बहुमत र दलीय ब्हिपका आधारमा जे प्रस्तुत भएको छ, त्यही पारित हुन्छ । हामी सांसदले जति कराए पनि कुनै अर्थ हुँदैन । यो पद्धतिमा परिवर्तन गर्नुपर्छ ।’ पौडेल भन्छिन् । 
      
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको समन्वय र सन्तुलनमा सन्दर्भमा सोधिएको प्रश्नमा सांसद डा. पौड्यालले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद् विघटनलाई पुनःस्थापनाबाहेक अन्य सवालमा न्यायालयाले हस्तक्षेप नगरेको तर्क गरिन् ।  





  • प्रकाशित मिति : मंसिर २१, २०८० बिहीबार १२:८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया