logo-img

हङ्गेरीका प्रधानमन्त्रीसँग युक्रेनी इयु सदस्यता अवरुद्ध गर्ने कुनै कारण छैन : जेलेन्स्की
फाइल तस्बिर

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँग किएभलाई युरोपेली युनियन (इयु) मा सामेल हुनबाट रोक्न ‘कुनै कारण’ नभएको बताएका छन् । उनले बुधबार इयुको शिखर सम्मेलनको पूर्वसन्ध्यामा सो कुरा बताएका हुन् ।

‘मैले उहाँसँग इयुमा युक्रेन सामेल हुन नपर्ने एउटा कारण बताउन अनुरोध गरेँ, तीन होइन, पाँच होइन, १० होइन मलाई एउटा कारण बताउनुहोस्’, जेलन्स्कीले ओर्बानसँगको कुराकानीका बारेमा ओस्लोमा पत्रकारहरूसँग भने, ‘मैले जवाफको प्रतीक्षा गरिरहेको छु ।’ ओस्लोमा उनले पाँच नर्डिक नेताहरूसँग भेटवार्ता गरे ।

इयुका नेताहरू बिहीबारदेखि ब्रसेल्समा हुनेछन् । भेटमा युक्रेनका लागि इयुको समर्थनलाई नवीकरण गर्ने विषयमा छलफल हुनेछ । नेताहरूले युक्रेनलाई ५० अर्ब युरोको बृहत् आर्थिक प्याकेज र इयुको औपचारिक सदस्यता वार्ताका साथ छलफल गर्ने बताइएको छ ।

हङ्गेरीका प्रधानमन्त्री ओर्बानले दुवै विषयमा भिटो लगाउने धम्की दिएका छन् । रुसले किएभमाथि चौतर्फी आक्रमण सुरु गरेको करिब दुई वर्षपछि युक्रेन र उसको छिमेकी माल्दोभाले इयुको सदस्यता पाउने अपेक्षा गरेको शिखर सम्मेलनलाई उक्त भिटोले असफल बनाउने छ । 

जेलेन्स्कीको युद्धकालीन प्रशासनले भ्रष्टाचारसँग लड्नका लागि पर्याप्त काम नगरेको तर्क दिँदै हङ्गेरीले इयुको सदस्यताका लागि किएभको कदममाथि सैद्धान्तिक आपत्ति रहेकामा जोड दिएको छ ।  





  • प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार ६:५८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया