logo-img

रामजानकी विवाहको मंगलधुनले गुञ्जँदो मिथिला, अन्नबाट गरियो जनकपुरधाममा सीतारामको प्रतिमा निर्माण

मिथिला धार्मिक, सांस्कृतिक चाडपर्व धेरै मनाइने ठाउँमा पर्छ । मिथिलाको नाता सीताको नामसँग जोडिएकाले पनि प्रत्येक पर्व यहाँ विशेषरुपमा मनाइन्छ । सोही क्रममा यतिबेला मिथिला  रामजानकी विवाह महोत्सवमा झमेको छ । सांस्कृतिक तथा पारम्परिक पर्वले सिङ्गो मिथिला मङ्गलधुनबीच गाइने विवाह विधिका गीतले गुञ्जायमान बनेको छ ।

मिथिला क्षेत्रमा जता पुग्यो श्रीराम र जानकीको महिमा गाइएका गीत गुञ्जिएका छन् । मङ्लधुन बजिरहेका छन् । लाग्छ, घरघरमै छोरी विवाहको तयारी हुँदैछ । त्रेतायुगमा अवध (अयोध्या) का राजकुमार श्रीराम गुरु विश्वामित्र र भाइ लक्ष्मणका साथ जनकपुर आएर विदेह (मिथिला) राज शिरध्वज जनककी पुत्री सीता (मिथिला, वैदेही, जानकी) सँग विवाह भएको सम्झना अहिले जनकपुर (मिथिला) क्षेत्रले गराइरहेको छ ।

महोत्तरीसहितका मिथिला क्षेत्रका मठमन्दिर रङरोगनले सजाइएका छन् । केही दिनअघि नै सुरु हुने विवाहका पारम्परिक मैथिल विधि एकपछि अर्को आयोजन हुँदैछन् । साताव्यापी यो विवाह महोत्सवको केन्द्रमा जनकपुरधाम छ । सप्ताहव्यापी महोत्सवको पाँचौँ दिन आज ‘मटकोर’ विधि सम्पन्न गरिँदैछ । यस विधिअन्तर्गत आज जानकी मन्दिर परिसरमा विवाह सम्पन्न गरिने वेदी तयार गरिएको छ । विवाहको पूर्वाङ्ग विधि (इष्टदेवता पूजन, पितृस्मरण, ग्रहशान्तिलगायतका विधि) मटकोरकै दिन सम्पन्न गरिने मैथिल परम्परा छ ।

मिथिलामा बर्सेनि साताव्यापी रामजानकी विवाह महोत्सव विभिन्न विधि पूरा गरी मनाइने गरिएको छ । यस क्रममा अघि त्रेतायुगमा श्रीराम जनकपुर आइ भएर सीतासँग विवाह भएर जन्ती बिदाइ गरिएको दिनसम्मका एक सातामा सम्पन्न भएका विधि महोत्सवमा आयोजना हुँदै आएका छन् । सोहीस् तालिकाअनुसार आज पाँचौँ दिन ‘मटकोर’ विधि आयोजन गरिएको हो ।

यस महोत्सवमा श्रीराम जनकपुर आइपुग्नु भएर राजा जनकको दर्शन गरेको दिनलाई ‘जनकपुर नगर दर्शन’ भोलिपल्ट डुल्दै बाटिका पुग्दा अचानक वैदेही र श्रीराम देखादेख भएको दिनलाई ‘फूलबारी लीला’ मनाइएको छ । त्यसको भोलिपल्ट अर्थात् तेस्रो दिन सीता वरणका लागि राजा जनकले राखेका शिवधनुष ताँदो चढाउने सर्तका लागि इच्छित वर सहभागी भएका दिनलाई ‘धनुष यज्ञ’ भनिने गरिएको छ । यी विधि क्रमशः गत मंगलबार, बुधबार र बिहीबार सम्पन्न भइसकेका छन् । 

त्यसैगरी चौथो दिनको ‘तिलकोत्सव’ पनि हिजो शुक्रबार नै सम्पन्न भएको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरमा त्रेतायुगमा श्रीरामले शिवधनुष ताँदो चढाउने क्रममा भाँचिएको पौराणिक मान्यताको प्रतिकात्मक मञ्चन गरिन्छ । धनुषभङ्ग भएसँगै श्रीरामसँग सीताको विवाहको टुङ्गो लागेको कथा सम्झँदै आज पाँचौँ दिन विवाहको पूर्वाङ्ग विधि ‘मटकोर’ आयोजन गरिएको जनकपुरस्थित श्री जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउँछन् । 



महोत्सवको चौथो दिन कन्यापक्षका अभिभावकबाट वरवरणको परम्परा छ । यसलाई ‘तिलकोत्सव’ भनिन्छ । महोत्सवमा यो विधि श्री जानकी मन्दिरका महन्थले राजा जनकको भूमिकामा सम्पन्न गर्ने परम्परा छ । यसअनुसार जानकी मन्दिरका महन्थ वस्त्रआभूषण र मिष्ठान्न परिकारका डाला (सोली) लिएर नजिकैको श्री राम मन्दिर जाने चलन छ । महोत्सवमा श्रीरामका पिता दशरथको भूमिका श्री राम मन्दिरका महन्थले निभाउने परम्परा छ । यो विधि हिजो शुक्रबार सम्पन्न गरिएको छ ।

यसैगरी महोत्सवको छैटौँ दिन सीताराम स्वयम्वर र राति वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छन् । यसलाई ‘सीता स्वयम्वर तथा विवाह’ भन्ने गरिएको छ । यो मुख्य समारोह भोलि आइतबार मङ्सिर शुक्ल पञ्चमीका दिन सम्पन्न गरिनेछ । अघि त्रेता युगमा यसैदिन राम सीताको विवाह भएको विश्वास गरिन्छ । महोत्सवको अन्तिम दिन विवाह सम्पन्न गरिएको भोलिपल्ट जन्तीलाई भोजन गराइ दक्षिणा दिएर बिदा गरिन्छ । यो विधिलाई ‘रामकलेवा’ भनिन्छ । यसरी भोलि आइतबार विवाह र आउने सोमबार ‘रामकलेवा’ गरिएसँगै यसपालिको श्रीराम जानकी विवाह महोत्सव सम्पन्न हुने श्री जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउँछन् । 



जनकपुरमा धनुषयज्ञ र विवाहविधि जानकी मन्दिर परिसरमै सम्पन्न भएपनि स्वयम्वर भने विशाल मैदान रङ्गभूमिमा आयोजन गरिने परम्परा छ । अहिले क्रमशः महोत्सवका दैनिक कार्यक्रम सम्पन्न हुँदै छन् । विवाहका लागि आवश्यक सरसामानको चाँजो मिलाउने र सोको तयारीमा दिनरात साधुसन्त लागिरहेका महन्थ वैष्णवले जानकारी दिए । मिथिलामा छोरी विवाहको वैदिक मैथिल परम्पराअनुसार सम्पन्न हुने राम जानकी विवाह महोत्सव यहाँ (मिथिला) को मुख्य सांस्कृतिक तथा धार्मिक चाड रहँदै आएको श्री राम मन्दिरका महन्थ श्रीराम गिरीले बताए । 

१ सय १ क्विन्टल अन्नबाट जनकपुरमा निर्माण गरियो सीतारामको प्रतिमा

जनकपुरधाममा अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले रौनकता बढाएको छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनकतालाई अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले झनै बढाएको हो । 

विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदान १२ बिघामा निर्माण गरिएको ११ हजार ११ स्क्वायर फिटको सो प्रतिमालाई शनिबारबाट सर्वसाधारणको अवलोकनको लागि समेत खुल्ला गरिएको हो । 

यो प्रतिमाको निर्माण ११ पटक अन्नकै प्रतिमा बनाएर विश्व रेकर्ड बनाएका भारतको मध्यप्रदेशका सतिश गुर्जरले गरेका छन् । कोरोना महामारीताकादेखि अन्नको प्रतिमा निर्माण गर्न सुरु गरेका गुर्जरले नेपाल भारतको साझा संस्कृतिलाई प्रचारप्रसार गर्ने उद्देश्यले बिना पारिश्रमिक यो प्रतिमाको निर्माण गरेका हुन् । 

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको संयोजकत्वमा निर्माण समितिद्वारा निर्मित सो प्रतिमामा भगवान सीतारामको स्वयम्वरको दृश्य र राजर्षि जनक तथा गुरु विश्वामित्रको पनि प्रतिमा बनाइएको छ । प्रतिमामा ११ प्रकारका १ सय १ क्विन्टल अन्नको प्रयोग गरिएको छ । भारतीय कलाकारले निर्माण गरेको यो प्रतिमाले नेपाल भारतको साझा संस्कृतिलाई दर्शाईरहेको वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्यदुत देवीसहाय मिणाले बताउनु भयो । बताए । 

पछिल्लो पटक भारतको अयोध्यमा अन्नबाटै प्रतिमा निर्माण गरेर विश्व रेकर्ड बनाएका सतिश गुर्जरकै टिमले आफ्नै रेकर्ड तोड्ने उद्देश्यले निर्माण गरिएको यो प्रतिमाले जनकपुरधामको पर्यटनलाई बढावा दिन मद्दत गर्ने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताए ।  

  • प्रकाशित मिति : मंसिर ३०, २०८० शनिबार १६:३३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया