logo-img

जाजरकोट भूकम्प : आठबिसकोटका ४ हजार प्रभावितलाई पहिलो किस्ता
फाइल तस्बिर

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ४ हजार २ सय ८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । 

आठबिसकोटमा सात हजार लाभग्राही रहेका थिए । लाभग्राहीको खातामा २५ हजार रुपैयाँका दरले पहिलो किस्ताबापतको रकम जम्मा भएको छ । अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापत रु २५ हजारका दरले लाभग्राहीलाई १० करोड ७० लाख ५० हजार रुपैयाँ खातामा पठाएको आठबिसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए ।

उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट भने सात हजार लाभग्राहीका लागि पहिलो किस्ताबापत १७ करोड ५० लाख रुपैयाँ रकम प्राप्त भएको छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट प्राप्त भएको बाँकी रकम पनि  लाभग्राहीको बैंकमा खाता सञ्चालन हुनेबित्तिकै पठाइने शाहले जानकारी दिए ।

नगरपालिकामा अस्थायी आवास निर्माण गर्न ९ हजार ९ सय ६२ लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्ला विपद् व्यस्थापन कोषबाट पहिलो किस्ताबापत अझै दुई हजार नौ सय ६२ लाभग्राहीको लागि रकम आउन बाँकी रहेको प्रशासकीय अधिकृत शाहले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय जोखिम न्यूनीकरण कोषमा प्राप्त भएको रकम बैंक खाता सञ्चालन भएका लाभग्राहीलाई धमाधम रकम पठाउने काम भइरहेको नगरपालिकाले जनाएको छ । 

हालसम्म नगरपालिकामा २ हजार २ सय ४० अस्थायी आवास निर्माण सम्पन्न भइसकेको र बाँकी ३ हजार ६ सय ९० अस्थायी आवास निर्माणको चरणमा रहेको नगरपालिकाले जनाएको छ । रासस 





  • प्रकाशित मिति : पुस २, २०८० साेमबार ११:६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया