logo-img

जसपाको केन्द्रीय समितिले पारित गर्‍यो महाधिवेशनसम्बन्धी कार्यतालिका
फाइल तस्बिर

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशनसम्बन्धी कार्यतालिका पारित गरेको छ ।

पार्टीका आज बसेको केन्द्रीय समितिको बैठकले आगामी जेठ २८ गतेदेखि ३० गतेसम्म धनुषामा आयोजना हुने पार्टी महाधिवेशनको कार्यतालिका पारित गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार कार्यतालिका अनुसार सङगठित पार्टी सदस्यता वितरण तथा नवीकरण गर्न फागुन २५ गतेसम्मको समयसीमा तोकिएको छ । यसैगरी संसदीय निर्वाचन क्षेत्रअनुसार सङ्गठित पार्टी सदस्यहरूको अभिलेख तयार गरी जिल्ला समितिले राष्ट्रिय समिति र राष्ट्रिय समितिले प्रदेश समितिमार्फत केन्द्रीय कार्यालयमा चैत १० गतेसम्म पठाइसक्नु पर्ने भएको छ । 

सदस्यता वितरण गर्दा मंसिर ३० गतेसम्म पार्टी सदस्यता प्राप्त गरिसकेका वा पार्टी सङगठनमा आबद्ध तथा पार्टी सङगठनमा कार्यरत पार्टी सदस्यलाई मात्र सङ्गठित पार्टी सदस्यता प्रदान गर्नुपर्ने निर्णय भएको प्रमुख बस्नेतले बताए । उनले भने, ‘पार्टी सङ्गठित सदस्यतासम्बन्धी दाबी विरोध अथवा उजुरी दिने व्यवस्था गरिएको छ, जसका लागि आगामी चैत १० गतेसम्मको समयावधि तोकिएको छ ।’ 

संसदीय निर्वाचन क्षेत्रको प्रतिनिधि निर्वाचनका लागि पार्टी केन्द्रीय कार्यालयले निर्वाचन समिति गठन गर्ने छ । महाधिवेशन प्रतिनिधिको चयन तथा निर्वाचन आगामी चैत २० गतेदेखि वैशाख २० गतेसम्म गरिसक्नुपर्ने भएको छ । यसरी निर्वाचित महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रीय कार्यालयमा आगामी वैशाख ३० गतेभित्र पठाइसक्नु पर्ने छ । 

महाधिवेशनसम्बन्धी प्रक्रिया एवं कार्यविधि केन्द्रीय कार्यकारिणी समितिले तोक्ने तथा केन्द्रीय निर्वाचन समिति गठन गर्ने प्रमुख बस्नेतले जानकारी दिए । महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरू तयार गर्न मस्यौदा समिति गठन हुने भएको छ । जसअन्तर्गत विश्लेषणात्मक राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी कार्यदिशासम्बन्धी दस्तावेज, पार्टीको नीति तथा कार्यक्रमसम्बन्धी दस्तावेज (सैद्धान्तिक, वैचारिक तथा नीतिगत दस्तावेज) रहेका सो पार्टीले जनाएको छ । 





  • प्रकाशित मिति : पुस २७, २०८० शुक्रबार २०:५८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया