logo-img

राष्ट्रियसभा निर्वाचन : आज राति १२ बजेपछि प्रचारप्रसार निषेध

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको आवश्यक सुरक्षा व्यवस्थासहितको तयारी कार्य पुरा गरेको जनाएको छ । साथै आयोगले निर्वाचनका लागि प्रचार प्रसार काम बन्द गर्न आव्हान समेत गरेको छ । 

यही माघ ११ गते हुने मतदानका लागि निर्वाचक मण्डलको सदस्य रहेका प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई मतदाताको रूपमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरूमा मतदान गर्ने व्यवस्था मिलाइएको जनाएको छ । 

आयोगका सह सचिव एव प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचनको सबै तयारी पुरा भएको र माघ ८ गते सोमबार राती १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म प्रचार प्रसारका कार्यहरू बन्द गरिएको छ ।

पौडेलले भने, ‘सोमबार राती १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने,  सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन नहुने हुँदा सो बमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरिएको छ ।’

निर्वाचनमा प्रदेश सभाका सदस्यहरूका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरूको व्यवस्था गरिएको आयोगले जनाएको छ ।   





  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार १२:५२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया