logo-img

पूर्वराजासँगकाे भेटपछि दुर्गा प्रसाईंको टिप्पणी : लिङ्देनको राजा फर्काउने एजेन्डा ‘साँढेको टाङमुनि बाल्टी थापेजस्तै’

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहसँग सोमबार सिमरामा भेटवार्ता गरेका छन् । भेटपछि प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पूर्वराजाले विश्वास नगर्ने दाबी गरे । 

लिङ्देनले राजसंस्था फर्काउन नसक्ने जिकिर गर्दै उनले लिङ्देनको राजतन्त्र पुनर्स्थापित गर्ने एजेन्डा ‘साँढेको टाङमुनि बाल्टी थापेजस्तै’ भएको बताए । प्रसाईंले पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा कार्यक्रम गर्दै आएका छन् ।

लिङ्देनले बेलाबेलामा पूर्वराजासँग लन्च मिटिङ गरे पनि उनले राजसंस्था फर्काउन नसक्ने प्रसाईंको जिकिर छ । लिङ्देनले आफ्नो पार्टीको एजेन्डा भुलेर राष्ट्रिय सभा निर्वाचनमा रवि लामिछानेका ससुरासमेत रहेका उद्धव पौडेललाई जिताउन एमालेसँग सौदाबाजी गरेको प्रसाईंको आरोप छ । 

आगामी फागुनमा आफूले गर्न लागेको आन्दोलनमा पूर्वराजाको साथ रहने प्रसाईको दाबी छ । पूर्वराजाको आफूलाई  सधैँ समर्थन रहेको र आफूले चलाउँदै आएको अभियान राम्रो रहेको भनेर पूर्वराजाले प्रतिक्रिया दिएको उनको जिकिर छ । ‘अभियान राम्रो छ, लाग्नुस् भन्नु भएको छ,’ उनले भने, ‘मान्छेले नबुझेको मात्रै हो मलाई पूर्वराजाको पहिलेदेखि नै समर्थन छ ।’

प्रसाईंले गत मंसिरमा चलाएको आन्दोलनमा राप्रपाले प्रसाईंलाई साथ दिएको थिएन । प्रसाईंले फागुन १ देखि पुनः दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका छन् भने राप्रपाले पनि फागुनमा नै छुट्टै आन्दोलन गर्ने तयारी गरेको छ ।





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार १६:४६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया