logo-img

विपद् व्यवस्थापनको अभ्यास अवलोकन गर्न सुदूरपश्चिमका जनप्रतिनिधि ललितपुरमा
‘विपद् व्यवस्थापनमा संघीय सरकारले ध्यान दिएन’

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले विपद् व्यवस्थापन र प्रतिकार्य अभ्यासमा संघीय सरकारले पर्याप्त ध्यान दिन नसकेको बताएका छन् ।

विपद् व्यवस्थापन र न्यूनीकरणको सन्दर्भमा भएका असल अभ्यासको अवलोकनका लागि ललितपुर महानगर आएका सुदूरपश्चिम प्रदेशका धनगढी उपमहानगर, अमरगढी नगरपालिका डडेल्धुरा र जयपृथ्वी  नगरपालिका बझाङका नगप्रमुख र कर्मचारीसँगको छलफल कार्यक्रममा उनले यस्तो अनुभव सुनाए । 

स्थानीय तहले आ–आफ्नो तरिकाले विपद्को बारेमा चेतना जगाउन प्रतिकार्य अभ्यासका कार्य गरे पनि संघीय सरकारले राष्ट्रियस्तरको ड्रिल नगरेको उनले स्पष्ट पारे । ‘यो भेटघाटले संघीय सरकारसँग राष्ट्रिय स्तरको ड्रिल गर्न प्रस्ताव गरौँ,’ मेयर महर्जनले भने ।

सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सुपर परियोजनाको समन्वयका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी, भूमिका र पहलकदमी आदान प्रदान गर्न यो अवलोकन भ्रमण आयोजना गरिएको हो । 

ललितपुर महानगरले विपद् व्यवस्थापनमा उत्कृष्ट काम गरेको बताउँदै महानगर प्रमुख महर्जनले छिमेकी पालिकालाई समेत विपदका बेला पर्याप्त सहयोग गरेको बताए । 



‘हामीले दमकलसँगसँगै एम्बुलेन्स पनि जाने व्यवस्था मिलाएका छौँ, एम्बुलेन्ससँगै जाँदा, घाइतेलाई अस्पताल छिटो पुर्‍याउन सजिलो हुन्छ, जसले गर्दा मानवीय क्षति कम हुन्छ,’ महानगर प्रमुख महर्जनले भने । महानगरले आगलागी जस्ता विपद्का बेला चार मिनेटभित्र घटना स्थलमा दमकल र एम्बुलेन्स र नगरप्रहरी पुग्ने नीति लिएको पनि उनले बताए । 

धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले एक्लो प्रयासले मात्रै विपद् व्यवस्थापन र न्यूनीकरण सम्भव नहुने बताए । उनले भने, ‘मिलेर काम गरौँ, मिलेर काम गर्दा कसको भूमिका के हो प्रष्ट हुनुपर्‍यो ।’



मेयर हमालले विपद् व्यवस्थापनमा धनगढीले उल्लेख्य काम गरेको बताए ।  ललितपुर महानगरबाटे सबै क्षेत्रमा धेरै कुरा सिकेको बताउँदै उनले भने, ‘अरूले आफ्नो पालिकामा  भएको काम हामीलाई देखाउँदैनन् । तर, ललितपुरका मेयरले हामीले सजिलै सिकाउनु हुन्छ, सिक्नका लागि उहाँ साह्रै सजिलो मान्छे हुनुहुन्छ । धनगढीले युवा र बालबालिकालाई विपद्का बारेमा सक्षम र जानकार बनाएको छ । विपदका प्रयोग हुने सामग्रीलाई विद्यालयमा राखेका छौं, विद्यालयमा ती सामग्री राख्दा प्रभावकारी भएको छ ।’ 

धनगढीले सरसफाइलगायतका क्षेत्रमा उल्लेख्य काम गरेको उनको दाबी छ । अमरगढी नगरपालिका डडेल्धुराका प्रमुख डिल्लीराज जोशीले विपदका बेलामा अपनाउनुपर्ने सजगताका बारेमा जानकारी दिन ड्रिल अत्यावश्यक र महत्वपूर्ण भएको बताए । उनले भने,‘केन्द्रीय स्तरमा मात्रै होइन, क्षेत्रीय स्तरमा पनि ड्रिल आयोजना गर्नुपर्छ ।’ संघीय सरकारले विपद् जोखिम न्यूनीकरणलाई महत्व नदिएको पनि उनले आरोप लगाए ।

जयपृथ्वी नगरपालिका बझाङका प्रमुख चेतराज बजालले आफ्नो नगरपालिकाको भौगोलिक अवस्थाको बारेमा चर्चा गर्दै आफ्नो नगरपालिका भूकम्प र बाढीको जोखिममा रहेको बताए । 

गाउँमा दमकल जानसक्ने सडक निर्माण गर्न बजेट अभावका कारण पालिका असमर्थ भएको बताउँदै साँघुरा सडकका कारण सहरका अन्य ठाउँमा पनि दमकल पुग्न कहिलेकाहीँ हम्मेहम्मे हुने बताए ।

  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार ९:१६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया