logo-img

सांसद महराको आरोप : मन्त्रीहरू सांसदलाई बाहिर कुराएर भित्र दलालसँग बस्छन्

नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य महेशकुमार महराले सरकारका मन्त्रीले विकास निर्माणका योजना लिएर जाने सांसदलाई भेट नदिने गरेको गुनासो गरेका छन् । 

आइतबार राष्ट्रियसभा बैठकमा उनले सांसदलाई सरकारका मन्त्रीले भेट नदिने गरेका गुनासो गरेका हुन् । महराले विकास निर्माणका योजनासँग सम्बन्धित काम लिएर जाँदा मन्त्रीले बेवास्ता गर्ने गरेका बताए ।

उनले बाहिर सांसद कुरेर बसिरहँदा भित्र मन्त्री दलालसँग बसिरहेका हुने बताए । महराले आगामी दिनमा पनि मन्त्रीले सांसदलाई त्यसरी बेवास्ता गरेमा मन्त्रीका विरुद्धमा संसदमा कडा रूपले प्रस्तुत हुने र मन्त्रीका विरुद्धमा मिडियामा जानेसम्मको चेतावनी दिए । उनले यस तरिकाले सुशासन कायम हुन नसक्ने भन्दै मन्त्रीलाई निर्देशन दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोधसमेत गरे ।  

‘एउटा माननीय बाहिर कुरिरहेको हुन्छ । भित्र कुनै अमुक व्यक्ति दलालहरू आएर बसिरहेका हुन्छन् । तर, माननीयहरूले भेट्न पाउँदैनन् । खबरदार म यहाँबाट के भन्न चाहन्छु भने यदि तपाईहरूले संसदका सदस्य माननीयज्यूहरूप्रति त्यस्तो व्यवहार गर्नुहुन्छ भने हामीले तपाईँका विरुद्ध फेरि योभन्दा कडा सदनमा त बोल्छौँ, बोल्छौँ,’ महराले भने, ‘हामी बाहिर मिडियामार्फत पनि जान तयार छौँ । प्रधानमन्त्रीलाई म के भन्छु भने जो मन्त्रीहरू छन्, उहाँहरूलाई निर्देशन दिनुपर्‍यो । यसरी सुशासन कायम हुन सक्दैन । यसरी सामाजिक न्याय र १६औँ पञ्चवर्षीय योजनाको सोच पूरा हुँदैन ।’ 

उनले सुदूरपश्चिमको पर्यटन विकासका लागि संघीय सरकारले ध्यान दिनुपर्ने पनि बताए । महराले जयपृथ्वी राजमार्ग अलपत्र अवस्थामा रहेको भन्दै सो राजमार्गको सुधार गर्न पनि माग गरे । 





  • प्रकाशित मिति : माघ २८, २०८० आइतबार १३:५४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया