logo-img

पाथिभरामा माघमा २४ लाखभन्दा बढी भेटी संकलन
फाइल तस्बिर

ताप्लेजुङको पाथीभरा मुकुमलुङमा गत माघमा २४ लाख एक हजार पाँच सय रुपैयाँ भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको  तथ्याङ्कानुसार माघमा ६ हजार सात सय एकजना भक्तजन पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरी चढाएको भेटी २४ लाख एक हजार पाँच सय भेटी संकलन भएको समितिले जनाएको हो ।  

माघ मसान्तसम्ममा समितिको कोषमा जम्मा बैंक मौज्दात ८ करोड ९४ लाख ५४ हजार ४५ रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए ।

गत साउनदेखि माघसम्ममा ९८ हजार तीन सय भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेको समितिले जनाएको छ । बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुका समयमा भक्तजनको चाप बढ्ने गरेको छ ।

बडादशैँपछि चैतेदसैँ रामनवमीका समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् ।

पाथीभराको दर्शनसँगै कञ्चनजङ्घासहितका हिमशृङ्खलाको अवलोकन, विभिन्न प्रजातिका गुराँसको सुन्दरतामा रमाउनुका साथै हिउँ खेल्नका लागि यहाँ आउने पर्यटक बढेको पाथीभरा क्षेत्रमा पर्ने होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताए ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको विर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ ।



मेची राजमार्ग अन्तर्गतको बाटो सुकेटारसम्म पक्की छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ । वर्षातको समयमा कच्ची बाटोमा सामान्यतया समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ। पाथीभरामा हेलिकोप्टरमार्फत मन्दिर परिसरमै पुगिन्छ । रासस 



  • प्रकाशित मिति : फागुन २, २०८० बुधबार १२:६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया