logo-img

लोकतन्त्रको उपहास : तेस्रो दलको प्रधानमन्त्री, पहिलो-दोस्रो दल आलोपालो प्रतिपक्ष
कति सम्भव छ कांग्रेस–एमाले सत्ता सहयात्रा ?

१० पुस २०७९ मा प्रधानमन्त्रीमा नियुक्त भएको आठ महिनापछि गत भदौमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू पाँचै वर्ष प्रधानमन्त्री रहने परिस्थिति बन्दै गएको बताएका थिए । 

१६ भदौ २०८० शनिबारका दिन आफ्नै पार्टीको आयोजनामा चन्द्रागिरिमा आयोजित ‘जनतासँग माओवादी’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘अहिले म प्रधानमन्त्री भएको ८ महिना भएको छ । म त हट्न परेको छैन । मलाई लाग्छ पाँच वर्षै हट्न पर्दैन जस्तो देख्दै छु । गठबन्धन पाँचै वर्ष चल्छ होला ।’ 

कांग्रेससहितको तत्कालीन गठबन्धनमा प्रधानमन्त्री नपाएपछि बालकोट पुगेर एमालेसँग गठबन्धन गर्दै प्रधानमन्त्री बनेका प्रचण्डले यस्तो दाबी गरिरहँदा उनी कांग्रेस नेतृत्वको गठबन्धनमा लागिसकेका थिए । पाँचवर्षे कार्यकालमा पहिलो दुई वर्ष माओवादी, बीचको एक वर्ष एकीकृत समाजवादी र अन्तिम दुई वर्ष कांग्रेसले नेतृत्व गर्ने सहमति भएको चर्चा थियो । 

सुरुमा एमालेसँगको गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डले चैत २५ मा राष्ट्रपतिको चुनावमा प्रचण्ड एमालेसहतिको गठबन्धन छाडेर कांग्रेससहितको पुरानो गठबन्धनमा फर्किए । यसको फाइदास्वरुप कांग्रेसले राष्ट्रपति पायो । 

उक्त कार्यक्रममा प्रचण्डले आफू नेतृत्वको सरकार हटाउने प्रयास भए आन्दोलन गर्नेसमेत बताएका थिए । उनले भनेका थिए, ‘म ३२ सिटको पार्टीको नेता भएको छु । म कति दिन प्रधानमन्त्री रहने हो, हुनसक्छ १५ दिन, एक महिना, ३० दिन । जति दिन रहनेछु । र, मलाई जसले हटाउनेछन् तिनका विरुद्ध लाखौं–करोडौं जनताको बीचमा आन्दोलनको नेतृत्व गर्नेछु ।’ 

प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्तिको तत्कालीन प्रतिपक्षी दल एमाले मात्रै होइन, सत्ता सहयात्रामा रहेको कांग्रेसले पनि विरोध गरेको थियो । प्रधामन्त्रीजस्तो गरिमामय पदमा भएको व्यक्तिले बोल्दा होस पर्‍याउनुपर्ने भन्दै कांग्रेसले विरोध गरेको थियो । 



एमालेले त प्रधानमन्त्रीको उक्त भनाइ बेसुरमा आएको आरोप नै लगाएको थियो । ‘कहिले अर्को चुनावमा बुहमत देऊ, जातीय राज्य दिन्छौं भन्छन् कहिले लाखौँ जनता उतारेर आन्दोलन र संघर्ष गर्ने भन्छन्,’ एमालेका तत्कालीन सचेतक पदम गिरीले भनेका थिए, ‘उहाँ छटपटीमा हुनुहुन्छ । बेसुरको कुरामा के टिप्पणी गर्नु ?’

प्रतिपक्षी एमाले तत्कालीन सत्ता गठबन्धनलाई विस्थापित गर्ने मौका कुरेर बसेको थियो । त्यतिबेला एमलेले चुनावले कांग्रेस र एमाले मिलेर सरकार गठन गर्ने सन्देश दिएको बताउने गरेको थियो । एकालेका तत्कालीन सचेतक महेश बर्तौलाले भनेका थिए, कांग्रेस र एमाले मिलेर सरकार बनाउँ स्थिर सरकार बनाउँ भन्ने थियो । कांग्रेस यसमा तयार छैन । संसदको ठूलो हात्ती सानो माउतेले उठ भने उठ बस भने बस भन्ने अवस्थामा छ । कांग्रेससँग हात बढाएर जान तयार छौँ । 



सो सम्बोधनको चार महिनापछि प्रचण्ड गत पुसमा उनी पुनः एमाले–रास्वपाकै समीकरणमा फर्किए । एक वर्षका बीचमा तीनपटक गठबन्धन परिवर्तन गरेका प्रचण्ड आफ्नो प्रधानमन्त्री पदका लागि जतिसुकै बेला जोसुकैसँग मिल्न तयार हुन्छन् भन्ने कुरा उनको बोलीले मात्र होइन, पटक–पटक व्यवहारले नै देखाइरहेका छन् । 

प्रचण्ड कांग्रेससँग हुँदा हिजो एमालेले जे भन्ने गरेको थियो, अहिले कांग्रेसका नेताहरूले सोही कुरा दोहोर्याइरहेका छन् । अर्थात्, देशका दुई ठूला पार्टी नमिलेसम्म देशमा समृद्धि नआउने कांग्रेस नेताहरूले बताइरहेका छन् । कांग्रेस नेता शेखर कोइरालाले त यो कुरा बारम्बार दोर्याउँदै आएका पनि छन् । 

सरकारको स्थायित्व र  मुलुकको समृद्धिका लागि दुई प्रमुख दल मिल्नुको विकल्प नभएको उनले बताए । वर्षैपिच्छे फेरिने सरकारबाट राजनीतिक स्थायित्व पनि नहुनेमा उनले जोड दिँदै आएका छन् । 

कांग्रेस र नेकपा एमालेकै कारण मुलुकमा संविधान आएको स्मरण गर्दै उनले दुवै पार्टी मिलेर अघि बढ्नुको विकल्प नरहेको बताइरहेका छन् । कांग्रेस एमले सहकार्यमा जोड दिँदै आएका नेता कोइरालाकै पहलमा कोशी प्रदेशमा उनीनिकट केदार कार्की मुख्यमन्त्री बन्न सफल भएका थिए ।

मुख्यमन्त्रीमा मात्र होइन, राष्ट्रिय सभा निर्वाचनमा समेत कांग्रेसले कोशी प्रदेशबाट माओवादीका उम्मेदवारलाई हराएर एमाले उम्मेदवारलाई राष्ट्रिय सभा सदस्यमा विजयी गरायो । त्यसको जस–अपजस पनि प्रत्यक्ष–अप्रत्यक्ष रुपमा कोइरालालाई नै जाने गरेको छ । 

कांग्रेस मात्रै होइन, एमालेकै केही नेताहरूले पनि कांग्रेस–एमाले सहकार्यको वकालत गर्न थालेका छन् । एकातिर रास्वपा सभापतिको विवादित छवि अर्कोतिर जसपा एसलगायत दलका अनावश्यक घुर्की आदिका कारण पनि कांग्रेस–एमाले सत्ता सहकार्यको सम्भावनालाई बलियो बनाउँदै लगेको छ । 

  • प्रकाशित मिति : वैशाख २४, २०८१ साेमबार २२:४९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया