नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ ।
नेपाली जनताको संघर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँ युग प्रारम्भ भएको दिन ७ फागुनलाई नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिनको रूपमा लिइन्छ ।
जनक्रान्तिका माध्यमबाट निरंकुश राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको गौरवपूर्ण दिनको सम्मान गर्दै प्रत्येक वर्ष ७ फागुनमा यो दिवस मनाइँदै आएको हो ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यास हुँदै आएको छ। प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले वि.सं १९९७ माघमा प्राणको बलिदान दिएका थिए ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा ७ फागुन २००७ मा प्रजातन्त्र स्थापना गरेको थियो ।
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।