logo-img

५० वर्षको उमेरमा एसइई दिँदै कांग्रेस नेतृ भुसाल

पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाएकी छन् । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाएकी हुन् ।

उनले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराइसकेकी छन् । बुढेसकालमा सुख सयलका साथ जीवन बिताउने बेला भए पनि सानो उमेरमा पढाइ पूरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पूरा गर्नतर्फ लागेकी छन् । 

उनी स्थानीय वहाकी उच्च मावि परीक्षा केन्द्रबाट एसइई परीक्षामा सहभागी भएकी छन् । उनको विवाह वि.सं २०४६ मा भएको थियो । कक्षा ९ को वार्षिक परीक्षा दिने बेला हुँदै थियो । त्यही बेला उनी सुत्केरी भइन् ।

सुत्केरी भएपछि परीक्षा दिन त नपाएकी भुसालको त्यसपछिको पढाइसमेत रोकियो । पढाइ छाडेको ३२ वर्षपछि अघिल्लो वर्ष उनी गाउँकै लक्ष्मी भवन माविमा कक्षा ९ मा भर्ना भइन् । कक्षा ९ उत्तीर्ण गरेर नियमित कक्षा १० अध्ययन पूरा गरेपछि अहिले भुसाल एसइईमा सहभागी भएकी हुन् । 

पढ्नैपर्छ भन्ने कुनै बाध्यता नभए पनि आफूले थप शिक्षित बन्नका लागि ३२ वर्षपछि पुनः विद्यालय पढ्न थालेको परीक्षार्थी भुसालले बताइन् । उनले कक्षा ८ सम्म बिहादी गाउँपालिका–५ उरामको चन्द्र माविमा अध्ययन गरेकी थिइन् । पाको उमेरमा भर्खरका केटाकेटीसँग बसेर अध्ययन गर्दा पनि आफूलाई असहज महसुस नभएको उनको भनाइ छ ।  

भुसालका छोरा र छोरीबाट तीन नातीनातीनासमेत छन् । उनी बिहादी गाउँपालिकाकी पूर्वजनप्रतिनिधि हुन् । उनी पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर गाउँ कार्यपालिका सदस्य बनेकी थिइन् । भुसालले अहिले सक्रिय राजनीति गर्दै आएकी छन् । उनी नेपाली कांग्रेस बिहादी गाउँ कार्यसमितिको सदस्य तथा नेपाल महिला सङ्घ बिहादीको कोषाध्यक्षसमेत हुन् । 



भुसालले १७ वर्ष महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा पनि काम गरिसकेकी छन् । कार्यपालिका सदस्यमा विजयी भएपछि उनले स्वयंसेविका छाडेकी थिइन् । उनले २०४८ सालबाटै नेपाल विद्यार्थी सङ्घको जिल्ला सदस्य भएर राजनीति गर्दै आएकी हुन् ।

‘राजनीति होस् वा अन्य क्षेत्रमा पढाइको ज्ञानसँगै प्रमाणपत्रसमेत आवश्यक पर्ने भएकाले पनि मलाई विद्यालय जान रहर जागेको हो’, उनले भनिन् । घरमा छोराछोरीको जिम्मेवारी पूरा गरेपछि पढ्न सहज भएको उनले बताइन् । भुसालका श्रीमान् तिलक भुसाल नेपाली कांग्रेका नेता हुन् । उनी नेपाली कांग्रेस पर्वतको सहसचिव तथा सङ्गठन विभाग प्रमुख रहेका छन् ।



शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले पर्वतमा एसइई दिने दुई हजार २८ विद्यार्थीमध्ये खगिसरा भुसाल सबैभन्दा पाको उमेरको विद्यार्थी रहेको जनाएको छ ।

कार्यालय प्रमुख उद्धिमराज पौडेलले भुसाल ५० वर्ष नाघेको विद्यार्थी रहेको भन्दै उनी जिल्लामै सबैभन्दा बढी उमेरको विद्यार्थी भएको बताए । पर्वतकै पैंयु गाउँपालिकास्थित जनसेवा संस्कृत माविबाट १२ वर्षकी शक्ति अधिकारीले पनि एसइई परीक्षा दिएकी छन् । अधिकारी जिल्लाकै सबैभन्दा कान्छो उमेरकी विद्यार्थी हुन् । रासस   

  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार ९:२४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया