logo-img

शिक्षामन्त्री श्रेष्ठको नजरमा विदेशी सम्बन्धन प्राप्त कलेज
फाइल तस्बिर

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको विदेशी सम्बन्धन प्राप्त कलेजको बेथिति रोक्ने दाबी गरेकी छन् । शैक्षिक क्षेत्रलाई राजनीति, विकृति र विसंगती मुक्त बनाउने संकल्पसहित शिक्षा मन्त्रालयको पदभार सम्हालेकी मन्त्री श्रेष्ठले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित कलेजको बेथिति रोक्ने दाबी गरेकी हुन् ।  

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले विदेशी सम्बन्धन प्राप्त कलेजबारे अध्ययन तथा अनुसन्धान गर्न कार्यदलले काम गरिरहेको जानकारी दिइन् ।   

शिक्षामन्त्री श्रेष्ठले विदेशी सम्बन्धनका कलेजको व्यवस्थापनसम्बन्धी निर्देशिका संशोधन गर्न कार्यदल गठन गरिसकेकी छन् । उनका अनुसार उक्त कार्यदलले आगामी १५ दिनभित्र प्रतिवेदन तयार गरेर बुझाउनेछ ।     

विदेशी सम्बन्धनबाट सञ्चालित कलेजको र्याङ्क, नेपालमा भएका कलेजको भन्दा राम्रो हुनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । उनले निजी र सामुदायिक विद्यालयको प्रतिस्पर्धाभन्दा अब निजी र विदेशी सम्बन्धन प्राप्त कलेजको प्रतिस्पर्धा हुने देखिएको बताइन् ।

कुनै विदेशी सम्बन्धन प्राप्त कलेज आउँछन् भने त्यस्ता कलेज हाम्रोभन्दा राम्रो हुनुपर्ने उनको भनाइ छ । हामीसँग भएको भन्दा फरक र गुणस्तरीय शैक्षिक कोर्स ल्याउन सक्ने कलेजलाई आउन शिक्षामन्त्री श्रेष्ठले आग्रह गरेकी छन् ।

विदेशी सम्बन्धन प्राप्त कलेजले विभिन्न खालका धेरै डिग्री पढाउन पाउँछन् र उनीहरूले फरक–फरक समयमा इन्टेक लिन पाउँछन् । तर, नेपाली कलेजले त्यस्तो पाउँदैनन् त्यसमा पनि पुनरावलोकन हुने शिक्षामन्त्री श्रेष्ठको भनाइ छ ।



एक महिने कार्यप्रगति विवरणबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले विदेशी सम्बन्धन प्राप्त कलेजलाई कस्तो खालको पाठ्यक्रम अध्यापन गराउन दिने भन्ने विषयमा आवश्यक अध्ययन गर्न गठित कार्यदलले काम गरिरहेको बताइन् ।

हाल नेपालमा ८७ वटा विदेशी सम्बन्धन प्राप्त कलेज सञ्चालनमा छन् भने ती कलेजमा करिब ३० हजार विद्यार्थी अध्ययनरत छन् । देशको शैक्षिक क्षेत्रलाई नियमन तथा सञ्चालन गर्ने अधिकार प्राप्त शिक्षा मन्त्रालयले कानुनी दायरामा ल्याउन नसक्दा विदेशी सम्बन्धन प्राप्त कलेजको मनोमानी बढ्दै गइरहेको छ ।



विदेशी विश्वविद्यालयको डिग्री नेपालमै उपलब्ध गराउने नाममा सञ्चालित यस्ता केही कलेजलाई शिक्षा मन्त्रालयले आवश्यक नियमन गर्न नसक्दा उनीहरूको मनपरी बढ्दै गएको बुझ्न कठिन छैन ।

यस्ता कलेजले लिने भर्ना, शुल्क, परीक्षा र नतिजा प्रकाशनमा शिक्षा मन्त्रालयको कुनै भूमिका देखिँदैन । जसले गर्दा विदेशी शैक्षिक संस्थाबाट सम्बन्धन लिएर सञ्चालन भएका कलेजको मनोमानी झन् मौलाउँदै गएको छ ।

वर्तमान शिक्षामन्त्री श्रेष्ठको अभिव्यक्ति सुन्दा विदेशी सम्बन्धन प्राप्त कलेजमा देखिएका विकृति तथा कलेज सञ्चालकको मनोमानीमा उनले अंकुश लगाउँछिन् भन्ने आशा गरिएको छ । साथै, विदेशी डिग्री उपलब्ध गराउने नाममा विद्यार्थीलाई ठगी गरिरहेका कलेजलाई कानुनी दायरामा ल्याउने शिक्षामन्त्री श्रेष्ठको योजना छ । 

  • प्रकाशित मिति : चैत २३, २०८० शुक्रबार १७:२९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया