logo-img

स्वास्थ्य बीमाप्रति आकर्षण बढाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार ललितपुरमा आयोजित आठौं स्वास्थ्य बीमा वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य सेवालाई समतामूलक ढंगले स्वास्थ्य बीमामार्फत उपलब्ध गराइ सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गरी यस कार्यक्रमलाई सार्थक र प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

उनले स्वास्थ्य बीमा ऐनको प्रावधानअनुसार औपचारिक क्षेत्र जस्तैः शिक्षक, कर्मचारी, लगायत जनप्रतिनिधिको आम्दानीअनुसारको स्वास्थ्य बीमा अनिवार्य गर्न आवश्यक रहेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले स्वास्थ्य बीमामा आकर्षण बढाउन विमितले सेवा लिने प्रक्रिया सहज बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवा प्रदायक संस्थालाई अझ सेवामैत्री बनाउने, सुशासन तथा वित्तीय अनुशासन कायम राख्ने, स्वास्थ्य बीमा कार्यक्रमबारे प्रभावकारी साक्षरता अभियान चलाउने विषय आजका प्रमुख चुनौती रहेको बताए ।

उनले स्वास्थ्य बीमालाई अझ बढी प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्था, अनलाइन सदस्यता दर्ताको व्यवस्था, रियल टाइम क्लेम सिस्टम, समयमै शोध भर्ना प्रविधिमैत्री बीमा प्रणाली जस्ता व्यवस्था र प्रावधान चुनौती रहेको बताए । 

सरकारले सबै स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने, संघीय, प्रदेश र स्थानीय सरकारबाट प्रदान गर्ने सेवा तथा सिफारिसहरूमा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्ने जस्ता महत्वपूर्ण नीतिगत सुधारका लागि गृहकार्य भइरहेको बताए । उनले सरकार बीमा रकमलाई बढोत्तरी गरी स्वास्थ्य बीमा कार्यक्रममा आकर्षण एवं प्रभावकारिता ल्याउन प्रतिवद्ध रहेको बताए ।  



स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा विकास गर्न सकिने सम्भावनालाई नियालेर आवश्यक अध्ययनका आधारमा यथोचित निष्कर्षमा पुग्ने बताए ।  



  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार ११:१६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया