logo-img

‘विकास, स्थायित्व र दिगो शान्तिबारे जनताको चाहनालाई मूर्तरूप दिन उच्चस्तरको प्रयास आवश्यक’

सभामुख देवराज घिमिरेले नयाँ वर्ष २०८१ ले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु नेपालीबीच एकता, पारस्पारिक मेलमिलाप तथा भाइचारा सम्बन्ध विकासमा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । 

सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा नयाँ वर्ष २०८१ प्रारम्भ भएको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् । सभामुख घिमिरले नयाँ वर्षमा नयाँ जोस, जाँगर, उमङ्ग र उत्साहका साथ समृद्धि, सुशासन तथा मुलुकको नवनिर्माणमा जुट्न हार्दिक अपिल गरेका छन् । 

‘जबसम्म मुलुकमा आर्थिक, सामाजिक, भौतिकसँगै नागरिकको जीवनस्तर उकासिँदैन तबसम्म देश समृद्ध भएको मानिँदैन,’  शुभकामना सन्देशमा उल्लेख छ, ‘व्यक्तिगत सुख, समृद्धि र रोजगारीका लागि ठूलो सङ्ख्यामा युवाहरू प्रवासी जीवन रोज्न बाध्य बनिरहेको विद्यमान अवस्थामा राजनीतिक नेतृत्वले जनतालाई केन्द्र बनाएर नीति र योजना बनाउन जरुरी छ ।’
      
लोकतन्त्रको प्रवर्द्धन र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न नेपालले प्राप्त गरेका सफलता विश्वमा नै उदाहरणीय रहको र अब मुलुकलाई विकास र समृद्धिको युगतर्फ अगाडि बढाउन राजनीतिक दलहरूबीच उच्चस्तरीय समझदारी, आवश्यक विवेक र क्षमता प्रदर्शनको प्रयत्न अपेक्षित रहेको सभामुख घिमिरेको सन्देशमा उल्लेख छ । विकास, समृद्धि र सुशासनका पक्षमा नेपालको सङ्घीय संसद् गुणस्तरीय कानुन निर्माणमा सदैव प्रयत्नशील रहेको सन्देशमा उल्लेख छ ।

‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त मुलुक हो, हामी पारस्परिक एकता, सहिष्णुता र मेलमिलापका साथ संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको चरणमा छौँ,’ सभामुख घिमिरेको सन्देशमा उल्लेख छ, ‘संविधान जारी भएपछि दुईपटक तीनै तहका निर्वाचन सम्पन्न भए पनि विकास, स्थायित्व र दिगो शान्तिको पक्षमा प्रकट भएको जनताको चाहनालाई मूर्तरूप दिन अझै उच्चस्तरको प्रयास गर्नुपर्ने देखिएको छ ।’ 





  • प्रकाशित मिति : वैशाख १, २०८१ शनिबार ६:२९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया