logo-img

काठमाडौंका सार्वजनिक स्थानमा मौलिक भित्तेचित्र

काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक पर्खालका भित्तामा गतिबेला कलात्मक चित्र कोरिन थालेका छन् । महानगरपालिकाले ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भित्ते चित्रलेखन कार्य सुरु गरेको हो ।

महानगरले यसका लागि २०८० फागुन १७ गते नै सम्झौता गरेर कार्य अगाडि बढाएको हो । सम्झौताबमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित संघसंस्थाको छनोट प्रतिष्ठाले गरेको हो ।

अहिले सुन्धारा क्षेत्रमा चित्र बनाउने कार्य भइरहेको छ । यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्ता, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्तालगायतका स्थानमा मौलिक कला र संस्कृति झल्किने खालका आकर्षक चित्र कोरिने महानगरले जनाएको छ । जसले सहरी सौन्दर्यतालाई बढावा दिनेछ ।  

चित्र लेखन गर्दा स्थान अनुसारका आकृतिलाई प्राथमिकता दिइने छ । रङ्गशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभुषा बिम्बित हुने चित्र कोरिनेछन् । मौलिकताका लागि कोरिने चित्रहरूमा इन्द्र जात्रा, जात्राका अवसरका प्रदर्शन गरिने परम्परागत नृत्य, भेषभुषा, बादन, काठमाडौं चिनिने भौतिक सम्पदालगायतका आकृति हुने प्रतिष्ठानले जनाएको छ ।   

यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरपालिकाले अपेक्षा गरेको छ । चित्र भएका भित्तामा नछुने, कुनै रङ्ग नछर्किने, पोस्टर वा कागज नटाँस्ने, चित्रसँग तस्विर खिच्दा नटाँसिइ अलग्गै खिच्न, अन्य कुनै वस्तुले नलेख्न महानगरपालिकाले नागरिकलाई आग्रह समेत गरेको छ । 





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार ८:३५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया