logo-img

वासिङ्टनमा अर्थमन्त्रीहरूको बैठकमा पुनले भने- जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ

अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका देशलाई विकसित राष्ट्रले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । 

जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका मुलुकहरूको समूह (भी–२०) का अर्थमन्त्रीहरूको बुधबार वासिङ्टनमा भएको बैठकमा उनले नेपालजस्ता हिमाली देशलाई जैविक विविधता संरक्षणका निम्ति अनुकूलन कोषबाट सहयोग हुनुपर्ने बताए । 

अर्थमन्त्रीले जलवायु परिवर्तनका प्रभावको जोखिम घटाउन तथा त्यसबाट भएको क्षति परिपूर्ति गर्न अनुकूलन कोष, विकसित राष्ट्र र अन्य अन्तर्राष्ट्रिय निकायले नेपाललगायत जलवायु परिवर्तनमा कुनै योगदान नगरेका देशलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिएको वासिङ्टनस्थित नेपाली राजदूतावासले जनाएको छ । 

अर्थमन्त्रीले विकसित देशहरूलाई जोखिममा रहेका मुलुकको संरक्षण गर्ने प्रतिबद्धताबाट पछि नहट्न आग्रह गरे । उनले नेपालजस्ता देशले सामना गर्नुपरेका जलवायु प्रभावजन्य जोखिम घटाउन विश्वसमुदायको साथ र सहयोग अपरिहार्य भएको बताए । 

अर्थमन्त्रीले जलवायु परिवर्तनका प्रभावका कारण नेपालका निर्धन एवं सीमान्तकृत वर्गले भोग्नुपरेका समस्याबारे जानकारी दिँदै जलवायु परिवर्तनका प्रभाव वृद्धिमा नेपालको कुनै योगदान नरहेको बताए । उनले जलवायु परिवर्तन प्रभावका कारण अनपेक्षित रुपमा नेपालमा वर्षा, बाढी, पहिरो र खडेरी बढिरहेको जानकारी पनि दिए । त्यसबाट प्रकृतिक विपत्ति थपिएका र दिगो विकासका प्रयास, मानव स्वास्थ्य एवं जनजीविकामा असर परेको उनले बताए । 





  • प्रकाशित मिति : वैशाख ६, २०८१ बिहीबार १०:४६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया