logo-img

थाप्राङ-तिपाङ जोड्ने पुल निर्माण, अब बाह्रै महिना आवतजावत

चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा झोलुङ्ग पुल निर्माण कार्य सकिएको छ । सो पुलले अब इच्छाकामना–१ को थाप्राङ–तिपाङलाई जोडेको छ । 

७२ मिटर लामो सो पुल गाउँपालिका र दातृ संस्थाको लगानीमा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । उनले पुल निर्माणपश्चात् स्थानीयलाई बाह्रै महिना आवतजावत गर्न सजिलो हुने बताए ।

चेपाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा पुल निर्माणपछि जनजीवन सहज भएको छ । ‘पुल निर्माणपछि स्वास्थ्य उपचार गर्नसमेत स्थानीयलाई सहज भएको छ,’ अध्यक्ष गुरुङले भने । पुल निर्माणपछि चितवन मात्र नभइ धादिङका नागरिकलाई समेत सहज भएको छ ।

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले थाप्राङ–तिपाङ क्षेत्रका नागरिकको सांस्कृतिक सम्बन्ध जोडिएको उल्लेख गर्दै पुलले उनीहरूलाई थप नजिक बनाएको बताए ।  

‘तिपाङभन्दा माथि पनि साना–साना वस्ती छन्’, उनले भने, ‘यहाँको चेपाङ समुदायलाई बर्खामा चार महिना आवतजावत गर्न सकस हुने गरेको थियो, अब बाह्रै महिना निर्धक्क हिँडडुल गर्न सजिलो हुनेछ ।’  

यो पुल वि.सं २०७८ मा निर्माण कार्य सुरु गरिएको थियो । सो ठाउँमा बिजुली र बाटोघाटोको समस्या छ । स्थानीय राजेशले चेपाङ पुल निर्माणपछि बाटो छोटिएको र आवतजावतमा सहज भएको बताए । 



थाप्राङ माइत भएकी सुनिता चेपाङले पुल नहुँदा हिउँदमा मात्र माइत आउनुपर्ने बाध्यता रहेको भन्दै अब चाहेको समयमा माइत आउन पाइने बताइन् । पुल करिब ३३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । रासस 



  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार ६:५५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया