logo-img

५० लाख सकियो, सकिएन प्रहरी चौकीको भवन निर्माण कार्य
‘मजदुरको ज्याला नदिएर ठेकेदार सम्पर्कविहीन’

बजेट अभावका कारण मुगुमा प्रहरी चौकीकै भवन निर्माण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । एक वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौताअनुरूप ठेक्का सम्झौता भएर काम अगाडि बढेपछि उक्त प्रहरी चौकीका लागि कर्णाली प्रदेश सरकारले बजेट नदिएपछि भवन निर्माण कार्य अलपत्र परेको हो ।

सोरु गाउँपालिकामा रहेको कालै प्रहरीको भवन वडा नम्बर ९ मा निर्माण सुरु गरिएको थियो । एक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी २१ जेठ २०७६ मा अमर निर्माण जेभीले २ करोड ४६ लाख ८४ हजार ११७ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । 

सम्झौता अनुसार २० जेठ २०७७ भित्र भवन निर्माण सकी हस्तान्तरण गर्नुपर्ने उक्त भवन अलपत्र बनेको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरी चौकी कालैको लागि पर्याप्त बजेट विनियोजन नगरेपछि भवन निर्माण अघि बढाउन नसकेको अमर मजदुर जे.भी वीरेन्द्रनगरका प्रोप्राइटर राजवीन्द्र प्रताप सापकोटाले बताए । 

कार्यालयको ब्यारेक भवन, शौचालय तथा स्नान गृह निर्माणका लागि प्रदेश सरकारले पहिलोपटक कुल ५० लाख निकासा गरेको थियो । सो रकममध्ये निर्माण व्यवसायीले ४८ लाख ३६ हजार ६ सय ६३ रुपैयाँ भुक्तानी पाएको बताइएको छ ।

त्यसपछि सम्झौताअनुसारको रकम निकासा नभएपछि भवनको दुई तला उकासेर छाडिएको छ । बजेट अभावकै कारण निर्माण कार्यले गति लिन नसकेको सापकोटाको भनाइ छ । त्यहाँ मजदुरी गरेकाले समेत ठेकेदारबाट भुक्तानी नपाएको गुनासो गरेका छन् ।



‘५० दिन बढी हामीले काम गर्‍यौं । ढुंगा बोक्ने,गिटी कुट्नेदेखि बालुवा बोक्नेसम्मका काम गरेको एक रुपैयाँ पनि नदिएर ठेकेदारले बेपत्ता भएको छ । घर व्यवहार चलाउन भारतमा मजदुरी गर्न जाने हामीले गाउँमै काम पायौं भनेर दङ्ग परेर काम गरियो, ज्यालासमेत नपाउँदा घरमा जहान छोराछोरीलाई खुवाउन मुस्किल छ । बनाएको भवन पनि चौपाया बस्ने ठाउँ बनेको छ,’ कामदार धर्मराज चौलागाईंले भने ।

निर्माण व्यवसायी सापकोटाले मजदुरीको रकम सरकारबाट भुक्तानी नपाएका कारण दिन नसेकेको बताए । ‘आफूसँग भएको रकम पनि त्यही लगानी गरियो । सरकारले रकम निकासा नगरेकोले मजदुरलाई दिन नसकिएको हो । हाम्रो तर्फबाट काम गरेको रकम भुक्तानीका आग्रह गर्दा पाउन सकिएन । अहिले सर्वोच्चमा मुद्दा पुगेको छ,’ उनले भने । 



कालै प्रहरी चौकी भने स्थानीयको घरमा भाडा लिएर त्यहीबाट सञ्चालन हुँदै आएको छ । २ करोड ४६ लाख ८४ हजार ११७ रुपैयाँमा सम्झौता भएको उक्त भवनको निर्माण लागत बढेर अहिले ३ करोड बढी पुगेको छ । 

अलपत्र प्रहरी चौकी निर्माण कार्यलाई गति दिन आफ्नो लातुकदार निकायमा आफूले पनि पहल गरिरहेको कालै प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर थापाले जानकारी दिए ।   

  • प्रकाशित मिति : वैशाख १३, २०८१ बिहीबार १०:२२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया