logo-img

‘मनोरञ्जनका नाममा बढ्यो शारीरिक, मानसिक र यौन शोषण’

मनोरञ्जनका नाममा शारीरिक, मानसिक र यौन शोषणका क्रियाकलापहरू हुने गरेको सरोकारवालाहरूले बताएका छन् । पछिल्लो समय मनोरञ्जनका क्षेत्रमा बालिकाहरूको सङ्ख्या बढ्दो क्रममा रहेको पनि उनीहरूको भनाइ छ ।

मनोरञ्जनका नाममा शोषण बढेपछि मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउने काम भइरहेको शुभ अवसर ग्राम नेपालकी कार्यक्रम अधिकृत रञ्जना शर्माले बताइन ।  मानव बेचबिखनको सबैभन्दा बढी जोखिम भएको जिल्लामा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेको उनले बताइन् ।  

‘मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउन सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले संस्थाले काठमाडौं महानगर, भैरहवा र पोखरा महानगरसँग मिलेर तीन वटै जिल्लामा प्रत्येक तीन/तीन महिनामा अनुगमन र मूल्याङ्कनको कार्य संयुक्त रूपमा गरिरहेका जानकारी दिइन् । 

उनले भनिन्, ‘जुन जिल्लाहरूमा मानव बेचबिखनको धेरै जोखिम हुन्छ । त्यस्तो जिल्लाहरूमा गएर जनचेतनाका कार्यक्रमहरू पनि गर्दै आएका छौँ । अनुगमन र मूल्याङ्कन पनि गर्ने गरेका छौँ । प्रत्येक तीन तीन महिनामा अनुगमनको कार्य गरिरहेका छौँ । मनोरञ्जन क्षेत्रहरूमा गएर प्रत्यक्ष रूपमा अनुगमन गर्ने समस्याहरू के के छन् भनेर बुझ्न र त्यसको समाधान कसरी गर्न सकिन्छ भनेर छलफल पनि गर्ने गरेका छौ ।’ 

उनले शुभ अवसर ग्राम नेपाल महिला तथा बालबालिका अधिकार संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले संस्थाको स्थापना गरेको जानकारी दिइन । यस्तै, कार्यक्रममा सहभागी विकास ढुङ्गानाले मनोरञ्जनको आडमा शारीरिक, मानसिक र यौन शोषण पनि हुने गरेको भन्दै यसबारेमा बृहत् छलफल आवश्यक रहेको बताए । 

उनले भने, ‘मनोरञ्जनको क्षेत्रमा पछिल्लो समय साना बालिकाहरूको सङ्ख्या बढ्दो क्रममा रहेको छ । नाबालिकहरूको सङ्ख्या बढ्दै गएको परिवेश देखिरहेका छौँ । काम गरे पनि उचित मूल्याङ्कन नहुनु जस्ता समस्याहरू पनि भोग्नु परेको छ । यसको साथै शारीरिक, मानसिक र यौन शोषण पनि हुने गरेको देखिन्छ । यो अवस्थामा सबै सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ ।  मनोरञ्जन क्षेत्रसँग जोडिएर आन्तरिक बेचबिखनको कुरा पनि बढ्दो क्रममा छ ।’



यस्तै, वैदेशिक रोजगारको आवरणमा हुने मानव बेचबिखन र मनोरञ्जन क्षेत्रको अन्तर सम्बन्धले यो समस्यालाई बढवा दिएको भन्दै समस्यालाई छलफल गरेर साझा बुझाई बनाउनुपर्ने बताए । 

सुरक्षित रूपमा श्रम गर्ने अधिकार संविधानले दिएको भन्दै कार्यक्रममा सहभागी सरोकारवालाहरूले महिला, बालबालिका र शोषण विरुद्धको अधिकारलाई मौलिक अधिकारकै रूपमा व्यवस्थित गर्दै सम्मानपूर्वक बाच्न पाउने अधिकारलाई सुनिश्चित गरेको जानकारी गराए । डान्स बार, मसाज पार्लरहरूले धेरैलाई रोजगारी दिए पनि उनीहरूको व्यवस्थापन चुनौतीपूर्ण रहेको औँल्याए । 



  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार १३:५०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया