logo-img

के एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार भएका हुन् ?

नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो ध्यान कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनेतर्फ रहेको भन्दै पुराना कुरालाई भुलेर एमालेसँग नयाँ रूपमा हातेमालो गर्न आव्हान गरेका छन् । 

केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै उनले कम्युनिस्टले ठूलो सरकार र पार्टी समेत राम्ररी चलाउन नसकेको बताए । उनले त्यसको समीक्षा गर्न अहिलेसम्म जाँगर आफूहरूमा नभएको उल्लेख गर्दै भने,‘गल्ती महसुस गर्न पर्छ कि, आत्मालोचना गर्न पर्छ कि भनेर हामीलाई त्राहीमाम भएको छ । गल्ती हुनसक्छ । कुन ठूलो कुरो भो ? स्वीकार गर्ने र नदोहोर्‍याउने हो नि । अहिले पनि विघटन(संसद) गरेको ठिक गरियो भनिदिने, संविधान मिचेर ठिक काम गरियो भनिदिने ?’

सोमबार पार्टी निकट अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमालेसँगको पुरानो कुरालाई भुलेर आफू नयाँ ढंगले हातेमालो गरेर अगाडि बढ्न तयार भएको बताए । 

‘अहिले पुरानो कुरा नगरौँ भने पनि ठिकै छ । कति पुराना कुरा मात्रै गर्ने ? नयाँ कुरा गरौँ । नयाँ ढंगले जाऔँ । हातेमालो गरौँ । देश र जनतालाई केन्द्र विन्दुमा राखौँ । यो सबै कुराहरूको सन्दर्भमा नै हामीले सोच्नुपर्ने आवश्यकता छ,’ नेपालले भने । 

उनले आफ्नो ध्यान कसरी कम्युनिस्ट पार्टी र आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने भन्नेमा रहेको भन्दै कम्युनिस्ट पार्टी र आन्दोलनले नै देश र जनताको भलो गर्न सक्ने विश्वास आम जनतामा कसरी पुर्‍याउने भन्ने कुरामा कम्युनिष्टहरुको ध्यान केन्द्रित हुनुपर्नेमा नेता नेपालले जोड दिए ।

फरक प्रसंगमा अध्यक्ष नेपालले देशको सबै क्षेत्रमा विकास निर्माणको कार्यलाई अनुगमन, मूल्याङ्कन र अनुसन्धान गर्ने प्रणालीलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।  उनले  देश चलाउने बुद्धि विकास गर्न सके मात्र जनताले लाभ पाउने भन्दै सरकारप्रति कटाक्ष गरे । अध्यक्ष नेपालले देशमा ठिक समयमा ठिक काम नभएको भन्दै टिप्पणी गरे । 



उनले विकास निर्माण कार्य गर्दा दबाबमा पर्ने प्रणालीको अन्त्य हुनुपर्नेमा जोड दिँदै आफ्नो पार्टी देश विकासको सवालमा चिन्तित रहेको दाबी गरे । उनले पोखरा, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन हुन नसकेको प्रति टिप्पणी गरे । विकास निर्माण कार्य आवश्यकता र प्रतिफल हेरेर भन्दा पनि दबाब र प्रभावमा पर्दा फाइदा उठाउन नसकिएको धारणा राखे ।
 
उनले आफ्नो पार्टी सरकारमा पद ओगट्नका लागि नगएको भन्दै आफ्ना मन्त्रीले सरकारमा हुँदा राम्रो काम गरेको जिकिर गरे । यस्तै उनले कार्यकर्ताहरूलाई पार्टी सत्ताको लागि नभएर जनता र देशको विकासको लागि भएको प्रस्ट्याउँदै सोही अनुसार काम गर्न आग्रह गरे ।  



  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार १४:२९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया