logo-img

थाेरै सिट ल्याएकाे पार्टीकाे नेतृत्त्वमा सरकार कहिलेसम्म चलाउने ? सरकारको नेतृत्व परिवर्तन गराैँ : वामदेव गौतम
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नभएसम्म विकास असम्भव

विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य वामदेव गौतमले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नल्याएसम्म अहिलेको सरकार र प्रणालीले देशको विकास गर्न नसक्ने दाबी गरेका छन् । 

मंगलबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा कृषि उत्पादनलाई सरकारले जोड नदिएकोप्रति आक्रोश पोखे । उनले देशमा कृषिसँगै अन्य क्षेत्रमा विकास गर्न सकिने पर्याप्त आधार रहे तापनि सरकार र प्रणाली नै विकासको बाधक बनेको बताए । 

बाह्य कृषि उत्पादन आयातलाई घटाएर देशमा सम्भावना बोकेका स्वच्छ खानेपानी निर्यात, मह उत्पादनमा वृद्धि, कौशी खेतीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका उनले सरकारले लिजमा जमिन उपलब्ध गराएर नागरिकलाई कृषि उत्पादनमा प्रोत्साहन र प्रवद्र्धन गर्नुपर्ने बताए ।

हिमाल, पहाड, तराई सबै क्षेत्रमा विशेषता र अनुकूलता अनुसारको कृषिवाली, अन्न र फलफूल उत्पादन गर्नुपर्नेमा जोड दिएका उनले सरकारले उत्पादनको सुरुवात गरिहाल्नुपर्ने बताए ।

देशमा उत्पादन नभएसम्म विकास सम्भव नभएको धारणा राखेका गौतमले सरकारले देशभर खाली रहेको उत्पादनयोग्य जमिनमा सामूहिक रुपमा कृषि उत्पादनको लागि कार्य अगाडि बढाउनुपर्ने बताए । तर, उनले यी सबै कार्य गर्नका लागि आजको प्रणाली र सरकार नै सक्षम नभएको तर्क गरे । 

गौतमले राजनीतिक प्रणाली नै परिवर्तन गर्नुपर्नेमा जोड दिँदै भने,‘यी सबै काम गर्नका लागि आजको सरकार र सिस्टमले हुँदैन । अब संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा नगएसम्म त्यो हुँदैन ।’ 



उनले सबैभन्दा थोरै मत पाएको पार्टीले नै सरकार सञ्चालन गरिरहेको भन्दै त्यसमा असन्तुष्टि मात्रै पोखेनन् वर्तमान सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा पनि राखे ।

‘सबैभन्दा थोरै मतले सबभन्दा थोरै संघीय संसदमा प्रतिनिधि पठाएको पार्टीबाटै प्रधानमन्त्री बनेर देशमा शासन गरिराखेको छ । अझै यस्तो शासन कति दिन चल्ने हो, हामीले व्यहोर्नुपर्ने हो ? यसलाई अन्त्य गरौँ । यो प्रणाली हामीलाई नै समाप्त पार्ने प्रणाली हो’ गौतमले भने । 
 



  • प्रकाशित मिति : वैशाख १८, २०८१ मंगलबार १६:२२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया