logo-img

चाउचाउ : मीठो स्वादभित्र मन्द विष

खाजामा आज के खाने ? जुन छिटो पनि होस् मीठो पनि ! हिजोआज धेरैको दिमागमा झट्ट क्लिक हुने खाजा हो, चाउचाउ । पकाउन छिटो पनि हुने र जिब्रोमा ट्वाक्क स्वाद पनि दिने भएकाले धेरैको रोजाइमा चाउचाउ पर्ने गरेको छ । पकाएर मात्रै होइन, काँचै पनि खान मिल्ने भएकाले लामो यात्रामा जाँदा होस् या धेरै साथीभाइबीच जमघट हुँदा पनि चाउचाउ धेरैको रोजाइमा पर्ने गरेको छ । 

हिजोआज धेरैको दैनिकी व्यस्ततामै बित्छ । दिनभरि काम गरेर थकाइ लागेर वासस्थानमा पुगेपछि खाना खान मन लागेन वा बनाउन जाँगर चलेन भने के खाने त ? त्यहाँ पनि उत्तर आउँछ– चाउचाउ । 

दिनभर भागदौड गरेर यसो खाजा खाने समय निकालेर खाजाघरमा पस्दा पनि सबैभन्दा छिटो तयार हुने खाजाको मेनुमा सर्भ हुन्छ, चाउचाउ । त्यति मात्रै होइन, सामान्य रुघाखोकी लाग्दा वा शरीरमा चिसो लागेको अवस्थामा पनि धेरैको प्रिय खाना बनेको छ– चाउचाउ । 

स्कुलमा केटाकेटीको टिफिन बक्समा– चाउचाउ । हाइकिङ जाँदा ह्यान्ड क्यारीमा– चाउचाउ । कार्यालयको खाजा– चाउचाउ । जताततै चाउचाउ नै चाउचाउ ! हामीमध्ये धेरैको दैनिक जीवनमा चाउचाउ खाजा वा खानाको रुपमा प्रयोग हुँदै आएको छ । तर, यसरी बच्चादेखि बुढाबुढीसम्मको पहिलो रोजाइमा पर्ने गरेको चाउचाउ कत्तिको स्वस्थरकर छ ? भन्ने कुरामा भने नागरिकहरू सचेत नरहेको दैनिक व्यवहारबाट नै स्पष्ट हुन्छ ।

रोगको घर चाउचाउ 

घरदेखि कार्यालय तथा स्कुलमा चाउचाउ आमखाजा जस्तै, हो । बजारमा दर्जनौँ ब्राण्डका चाउचाउ उपलब्ध छन् । सहजै उपलब्ध र पकाउन छिटो छरितो हुने भएकाले धेरैको रोजाइमा पर्ने चाउचाउ भने अस्वस्थर हुने पोषणविद् अरुणा उप्रेती बताउँछिन् ।



‘चाउचाउले बालबालिकालाई धेरै नै असर गर्छ । बालबालिकाको सानैदेखि कलेजो, मिर्गौलामा असर पार्छ । साथै मोटोपनको समस्या निम्त्याउँछ । यस्ता खानेकुरा खाने बानी परेका बालबालिकाले घरमै पकाएको स्वस्थकर खाना रुचाउँदैनन् । जसकारणले उनीहरूमा कुपोषण देखिन्छ,’ पोषणविद् उप्रेतीले भनिन् । 



उनका अनुसार चाउचाउको अत्यधिक सेवनले रोगप्रतिरोधात्मक क्षमतामा कमी आउँछ । समाजको प्रतिनिधित्व गर्ने व्यक्तिहरूले नै चाउचाउको बारेमा गलत प्रचार गर्दा आमजनमानसमा चाउचाउबारे भ्रम पैदा भएको उनको भनाइ छ । 

‘ठूला–ठूला कलाकारले पनि चाउचाउ मीठो हुन्छ । यसमा भिटामिन प्रशस्त मात्रमा पाइन्छ जस्ता भ्रमपूर्ण विज्ञापनको लहैलहैमा पनि यसको सेवन अत्यधिक भइरहेको छ,’ पोषणविद् डा. उप्रेती भन्छिन्, ‘नियमित चाउचाउ खाँदा यसको स्वाद बस्छ । एकप्रकारले चाउचाउ खाइरहुँ लाग्नु कुलत नै हो । यसको असर नेपाली समाजमा देखिन सुरु भइसकेको छ । नसर्ने रोगको समस्याले विकराल रूप लिइरहेको छ ।’

उनका अनुसार आज चाउचाउ खाएका भोलिका दिनमै यसको असर देखिँदैन । जसकारण मानिसले यसलाई खान छोडिरहेका छैनन् । तर, यसले मन्द विषको रूपमा भने काम गरिरहेको हुने उनको बुझाइ छ । उनी भन्छन्, ‘चाउचाउजस्ता खानेकुरालाई आफ्नै व्यवहारले नियन्त्रण गर्नुपर्छ । आफ्ना बालबालिकालाई माया गर्ने अभिभावकले चाउचाउजस्ता खानेकुरा कहिल्यै पनि खुवाउँदैनन् । जसले आफ्नो छोराछोरीलाई माया गर्दैनन्, जसले आफ्ना बालबालिकालाई उच्च रक्तचाप, मधुमेहजस्ता रोगको घर बनून् भन्ने चाहन्छन्, उनीहरूले नै चाउचाउजस्ता खानेकुरा बालबालिकालाई खुवाउँछन् ।’ 

हामीमध्ये धेरैलाई थाहै छ, चाउचाउ ‘जंक फुड’ हो । यसको अर्थ पत्रु खाना अर्थात् ‘काम नलाग्ने, बेकारको’ वा ‘अस्वस्थकर खाना’ भन्ने हो । जंक फुड शब्द अमेरिकामा सन् १९७२ देखि प्रचलनमा आएको हो । सन् २००२ मा पाउल जोनसोन र केनीले गरेको अध्ययनअनुसार जंक फुडले मस्तिष्कमा पनि नकारात्मक असर गर्छ । यसले स्वास्थ्यलाई राम्रो गर्दैन, उल्टै धेरै नै हानि गर्छ ।

पोषणविद् अनुश्री आचार्यले पनि नियमित रूपमा चाउचाउ खाँदा स्वास्थ्यलाई प्रत्यक्ष असर पर्ने बताइन् । यसका साथै पोषणविद् आचार्य जंक फुडभन्दा अस्वस्थर खाना वा फास्टफुड भन्न रुचाउँछिन् । ‘कुनै पनि खानालाई जंक भन्न मिल्दैन । जंकलाई खाना र खाना भनिसकेपछि जंक फुड भन्न मिल्दैन । यसलाई अर्को शब्दमा आउटफुड वा फास्ट फुड भन्न सक्छौँ,’ पोषणविद् आचार्य भन्छिन्, ‘कुनै पनि खानेकुरा अत्यधिक खाँदा त्यसले स्वास्थ्यमा प्रतिकूल असर पार्छ । त्यसैगरी आउटफुड वा फास्टफुड दिनहुँ खायौँ यसले स्वास्थ्यमा समस्या निम्त्याउँछ ।’ 

उनका अनुसार चाउचाउ कुन अवस्थामा खाँदै छौँ, कुन उमेर समूहले खाँदै छौँ भन्ने कुरा विचार गर्नुपर्छ । हामीले सकभर घरमै बनाएको खानामा बढी जोड दिनुपर्छ । सम्भव भएसम्म खाना पकाएको आधा घण्टामै खाना खायौँ भने स्वस्थकर जीवन बिताउन सकिन्छ । उनी भन्छिन्, ‘फास्टफुडमा नुनको मात्रा धेरै हुने भएकाले विभिन्न रोगले सताउने हुन्छ । चाउचाउलगायत फास्टफुडलाई छिटो असर गर्नेभन्दा पनि मन्द विषका रूपमा बुझ्नुपर्छ । एकैपटक असर नगर्ने, तर बिस्तारै बिस्तारै रोगको घर नै बनाइसकेको हुन्छ ।’

छैन खाद्यको ध्यान 

कुनै पनि तयारी खाद्य पदार्थ बिक्री वितरणअघि त्यसको गुणवत्ता मापन गर्नुपर्छ । हामीकहाँ पनि त्यस्तो संयन्त्र छ, जसले आमउपभोक्ताका लागि उत्पादन गरिने खाद्य पदार्थको गुणस्तर मापन गर्ने र नियन्त्रण गर्ने गर्छ । जन–स्वास्थ्यजस्तो अति संवेदनशील कुरासँग जोडिएको कुरामा सरकारी संयन्त्र चनाखो र जागृत भइरहनुपर्ने हो । तर, हामीकहाँ त्यस्तो अवस्था छैन । न उपभोक्तावादी संघ–संगठन जागरुक  छन्, न सरकारी संयन्त्र नै चुस्त र सक्रिय छ । त्यही कारण हामी अखाद्य पदार्थसमेत उपभोग गर्न बाध्य भइरहेका छौँ ।

हामीले खाने चाउचाउ बनाउने प्रक्रिया र त्यसमा प्रयोग भएका सामग्रीहरुको बारेमा सरकारी निकायको तर्फबाट अनुगमन गर्ने जिम्मा पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने चाउचाउको ल्याब परीक्षण गरेर त्यहाँ उल्लेख भएको सबै तत्वहरूको प्रयोग गरेको छ कि छैन भनेर हेर्ने नगरेको जनाएको छ । 

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ज्योत्स्ना श्रेष्ठले मापदण्ड तयार गरिदिए बमोजिम कम्पनीले काम गर्नुपर्ने जनाइन् । ‘कुनै पनि खानेकुरा आफैँमा गलत भन्ने हुँदैन । के कुरा कति मात्रामा खाने भन्ने कुरामा निर्भर हुन्छ,’ अधिकृत श्रेष्ठले भनिन्, ‘चाउचाउ खानेकुरा खाना सहजै उपलब्ध नभएको समयमा खानको लागि बनाइएको तयारी खाना हो । अब घरमै खाना बनाएर खानुको साटो दैनिकजसो चाउचाउ खान थालियो भने अवश्य नै स्वास्थ्यमा असर गर्ने नै भयो ।’

उनका अनुसार तयारी खाना परीक्षणका लागि समय–समयमा स्याम्पल उठाउने गरिन्छ । सीमित जनशक्ति छ । प्रत्येक स्थानमा गएर अनुगमन गर्न सक्ने स्थिति पनि छैन  जसका लागि खाद्यले मापदण्ड बनाएको छ र त्यसलाई आधार बनाएर कम्पनीले काम गर्नुपर्ने उनले जनाइन् । ‘के खानेकुरा कसरी खाने भनेर स्पष्ट भनिएको छ । त्यसलाई व्यवहारमा लागु गरियो भने आगामी दिनमा निम्तिनसक्ने जोखिमबाट बच्न सकिन्छ । तर, हामीकहाँ समस्या आउन नदिन भन्दा पनि समस्या आइसकेपछि सावधानी अपनाउने गरिन्छ, जुन एकदमै गलत प्रयास हो,’ अधिकृत श्रेष्ठले भनिन् । 

चाउचाउले मानव स्वास्थ्य मात्र होइन, वातावरणमा पनि गम्भीर असर पुर्याइरहेको छ । चाउचाउ खाएर फुत्त फालिने यसका खोल वर्षौंसम्म नकुहिने कारणले माटो वा पानीमा रहिरहन्छ । यो माटो, पानी र पृथ्वीको पारिस्थितिक प्रणालीकै लागि पनि गम्भीर चुनौती हो । चाउचाउ उत्पादन गरेर अर्बौं कमाइरहेका व्यवसायीलाई भने न त जनताको स्वास्थ्यको ख्याल नै छ, न त पर्यावरणको । प्लास्टिकमा हुने हानिकारक रसायनले जलचर र थलचर दुवैको स्वास्थ्यमा प्रतिकूल असर पार्ने सरोकारवालाले बारम्बार भनिरहँदा पनि यसलाई सुनेको नसुन्यै गर्ने प्रवृत्ति भने कायम नै रहेको छ ।

गुणस्तरहीन चाउचाउ फेला

वैशाख १२ गतै मात्रै काठमाडौं महानगरपालिकाले वाइवाइ चाउचाउको उत्पादक कम्पनी चौधरी ग्रुपलाई गुणस्तरहीन चाउचाउ बेचेको आरोपमा दुई लाख रुपैयाँ जरिवाना गर्यो । चौधरी ग्रुपबाट उत्पादित वाइवाइ चाउचाउ गुणस्तरहीन भेटिएपछि महानगरपालिकाले जरिवाना गराएको जनाएको छ । 

बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको हो । २०८० सालको चैत महिनामा उत्पादित चाउचाउ जफत गरेर १५० ग्राम नमुना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइयो । 

प्रयोगशालाको रिपोर्ट आउनुअघि स्थलगत अवस्थाको प्रतिवेदन दिँदै खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीले, निम्न गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राइ गरिएको हुन सक्ने, कच्चापदार्थ निम्न गुणस्तरको हुन सक्ने प्रतिवेदन दिए । नमुनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै भनेको छ, ‘खैरो रंगको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए ।’

रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ मिलिग्राम देखिएको छ । यसको भ्यालु १ मिलिग्रामभन्दा बढी हुनुहुँदैन ।

खाद्य प्राविधिक बस्नेतका अनुसार यसो हुनु भनेको तेलको गुणस्तर नभएको भन्ने हो । यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखाउन सक्ने खाद्य प्राविधिक बस्नेतले जनाएका छन् । 

चौधरी ग्रुपबाट उत्पादित उक्त चाउचाउलाई सन् २०१५ मा भारतको आसाम क्षेत्रमा पनि प्रतिबन्ध लगाइएको थियो । प्रयोगशाला परीक्षणका क्रममा चाउचाउको नमुनामा उच्च मात्रामा सिसाको मात्रा भेटिएपछि भारतका विभिन्न राज्यले चाउचाउमा प्रतिबन्ध लगाएका थिए । सिसा एक प्रकारको भारी धातु हो । जसको सीमाभन्दा बढी सेवन गर्दा छाला र आन्द्रासम्बन्धी रोग लाग्न सक्छ ।

  • प्रकाशित मिति : वैशाख १८, २०८१ मंगलबार २०:६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया