logo-img

मुलुकको समस्या समाधान गर्न कांग्रेस र एमाले एकै विन्दुमा उभिनुपर्छ : शेखर कोइराला
'गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबने कांग्रेसले संसद चल्न दिँदैन'

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्र नै नरहे केका लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दलभन्दा देश माथि छ भन्ने कुरालाई आत्मसात गर्ने समय आएको बताएका छन् ।

कोइरालाले चौतर्फी रुपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले नेताहरुले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने बताए । निर्वाचन प्रणाली नै अहिलेको समस्याको मुल जड भएको बताउँदै कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने समेत प्रष्ट पारे ।

२०६४ को संविधानसभा पछि लगातार चारजना कम्युनिस्ट प्रधानमन्त्री बन्दासमेत संविधान बन्न नसकेको प्रसंग उल्लेख गर्दै कोइरालाले भने,‘२०७० को दोस्रो संविधानसभामा जब कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए, कांग्रेस र एमाले एकै ठाउँमा उभिए अनि संविधान जारी भयो।’

बाँकेको कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं १ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ तब कांग्रेस र एमाले एकै विन्दुमा उभिएर समस्या समाधान गरेको बताए ।

कोइरालाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद चल्न नदिने पनि बताए ।

‘हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौँ, संसदीय छानबिन बनाऔँ सहकारी ठगीमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ, तर संसदीय समिति बनाउन सरकार किन डराएको ?’ कोइराला प्रश्न गरे ।



अर्को प्रसंगमा कोइरालाले पार्टीका सबै आपसी मनमुटाव र नमिठा विगत बिर्सेर पार्टी संगठनमा एकजुट हुन स्थानीय नेता एवं कार्यकर्तालाई निर्देशन दिए । पार्टी एक भए कुनै पनि निर्वाचनमा कांग्रेसले गठबन्धनका नाममा कसैको बैशाखीको सहारा लिनुनपर्नुे बताए ।

लोकतान्त्रिक पार्टी भएकाले महाधिवेशनका समयमा आन्तरिक प्रतिस्पर्धा र गुटबन्दी देखिनु सामान्य भएको बताउँदै कोइराला भने,‘तर, त्यो तिक्तता र गुटबन्दीलाई लिएर सधैँ हिँडिराख्नु राम्रो होइन।’



  • प्रकाशित मिति : वैशाख २२, २०८१ शनिबार १६:४८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया