logo-img

माधवको ढुलमुले नीतिले मुख्यमन्त्रीको बिचल्ली
विपक्षमा मत हाल्न नाउपाको ह्विप, एमाले दलका नेतालाई ओलीले काठमाडौं बोलाए

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बोलाइएको आजको प्रदेशसभाको बैठक स्थगित गरिएको छ । 

आज अपराह्न ५ः३० बजेका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । यसअघि शुक्रबार अपराह्न ५ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची थियो । 
  
सत्तासाझेदार नेकपा (एमाले)ले आफूहरुको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने÷नपाउनेमा अझै स्पष्ट हुन सकेको छैन । आज बस्ने प्रदेशसभाको बैठकबारे सबै प्रदेशसभा सदस्यलाई प्रदेशसभा सचिवालयले सूचना गरे पनि नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावल काठमाडौं गएको बताइएको छ । एमाले अनुपस्थित भएपछि शुक्रबारको बैठक स्थगन गरिएको थियो । 
   
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता मानबहादुर धामीले बिहीबार बिहानसम्म एमालले मुख्यमन्त्रीलाई विश्वासको मत दिनेमा स्पष्ट देखिए पनि त्यसपछि विश्वासको मतका बारेमा धारणा बदलेको बताए । उनले भने, ‘एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल आज काठमाडौं जानुभएको भन्ने सुनिएको छ, उहाँ फर्किएर आएपछि विश्वासको मत दिनुहुन्छ होला, यही समीकरण अगाडि बढ्छ ।’ 
   
सोडारीलाई असंवैधानिक ढंगले मुख्यमन्त्रीमा नियुक्त गरिएको जिकिर गर्दै नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्रीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने निर्णय गरेको छ ।  शुक्रबार प्रदेशसभाको बैठक आह्वान गरिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले मुख्यमन्त्री सोडारीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन (ह्विप) जारी गरेका थिए । 
  
सोडारी नेतृत्वको सरकारमा नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधर दुई प्रदेशसभा सदस्य मन्त्री छन् । नाउपा अध्यक्ष रञ्जिता अहिलेकै सत्तागठबन्धनलाई सहयोग गर्नुपर्ने पक्षमा र संस्थापक संरक्षक रेशमलाल चौधरी नेपाली कांग्रेससहितको गठबन्धनको पक्षमा छन् । सो पार्टीमा देखिएको आन्तरिक विवादकै कारण संस्थापक संरक्षक पक्षधर पाँच सदस्यको तर्फबाट प्रमुख सचेतक डगौराले विपक्षमा मत दिन ह्विप लगाएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता सोडारी यही वैशाख ६ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)को सभामुखबाहेक १०, नेकपा (एमाले) को ११, नागरिक उन्मुक्ति पार्टीको सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् ।

सत्तारुढ दल एकीकृत समाजवादी वर्तमान गठबन्धनलाई निरन्तरता दिने कि नयाँ समीकरणमा सामेल हुने भन्ने विषयमा द्विविधामा छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँगको संवादलाई पनि निरन्तरता दिइरहेका छन् भने प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डसँग पनि संवादमा छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने उनको छेडखानी चलिरहेको छ । वर्तमान गठबन्धनमा रहिरहँदा फाइदा हुन्छ कि कांग्रेससँगको गठबन्धनमा जाँदा फाइदा हुन्छ भनेर नेपाल हिसाब–किताबमा व्यस्त छन् । 



केन्द्रमा हिसाब–किताब नमिलिरहँदा सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अन्तिम मिति नजिकै आइसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पनि र प्रधानमन्त्री दाहाल नेपाललाई गलाउने र फकाउने रणनीतिमा छन् ।  



  • प्रकाशित मिति : वैशाख २२, २०८१ शनिबार १८:४८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया