logo-img

नेकपा (एस)ले महाधिवेशनका लागि छ सय विदेशी संंगठनलाई गर्यो पत्राचार

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले दलको आगामी दसौँ महाधिवेशनबारे विभिन्न देशका कम्युनिस्ट–सोसलिस्ट–लेबर पार्टीलगायत गरी करिब छ सय पार्टी निकट दल र संगठनलाई जानकारी गराएको छ । 

पार्टी विदेश विभागको आज बजेको नवौँ बैठकमा बंगलादेश, इरान, कजाकस्तान रुस, फ्रान्स, रोमानिया, अस्ट्रेलिया  आदि गरी २२ देशबाट प्रारम्भिक प्रतिक्रिया प्राप्त भइसकेको विवरण दिइयो  । 

दलका सम्मानित नेता तथा विभाग प्रमुख झलनाथ खनालको अध्यक्षतामा आज दलको कार्यालय, आलोकनगरमा बसेको बैठकमा महाधिवेशनमा विदेशका साम्यवादी दल,  वामपन्थी दल तथा  प्रगतिशील संगठनहरूलाई निमन्त्रणा गरिनेबारे पनि छलफल भएको जनाइएको छ ।  

त्यस्तै, महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमा विश्व परिस्थितिको समग्र विश्लेषण, नेपालको परराष्ट्र नीति र त्यसमा जलवायु परिवर्तन तथा वातावरण सुरक्षाका विषय जस्ता नयाँ आयाम पनि समावेश गरिनेबारे छलफल भएको विभागका सचिव डा. शंकर खतिवडाले जानकारी दिए । 

 बैठकमा पूर्वप्रधानमन्त्री खनालले महाधिवेशनमा  समाजवादी क्रान्ति र पूर्ण रूपान्तरणको कार्यक्रमसहित चार दस्ताबेज आउने र सकेसम्म केन्द्रीय समितिको एकै प्रतिवेदन बन्ने बताए । 

विभागका उपप्रमुख प्रमेश हमालले माक्र्सवादी–लेनिनवादी सिद्धान्तअनुरूप समाजवादी क्रान्ति र रूपान्तरणका दिशामा अगाडि बढ्ने पार्टीको कार्यक्रम रहेको स्पष्ट गरे । 



उपमहासचिव डा. विजयकुमार पौडेलले रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता गराउने, मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिनेलगायत माग राखी पीडितका तर्फबाट भइरहेको अनशनमा  पार्टीको ध्यान पुग्नुपर्ने र छिट्टै सरकारसँग सहमति गराउन भूमिका खेल्नुपर्नेमा जोड दिए । 

दलको अधिवेशन आगामी असार १६ देखि २० गतेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ । यसैबीच पार्टी स्थायी कमिटी बैठक यही वैशाख २६, पोलिटब्युरो बैठक यही वैशाख २७ र केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते बस्दै छ । 



  • प्रकाशित मिति : वैशाख २२, २०८१ शनिबार २१:१२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया