logo-img

आइतबार विश्वासको मत लिने गण्डकीका मुख्यमन्त्रीको तयारी, बहुमत पुर्याउनै सकस

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने तयारी गरेका छन् । अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र माओवादीले ह्विप नै जारी गरेका छन् । 

माओवादीले शुक्रबार नै ह्विप जारी गरेको हो भने एमालेले शनिबार पार्टीको संसदीय दलको बैठक बसेर ह्विप जारी गर्ने निर्णय गरेको हो । माओवादीले मन्त्रालयको टुंगो लगाउने जिम्मा दलका नेता हरिबहादुर चुमानलाई दिएको छ । 

मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिलाउने निर्णय गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले बताए । एमालेले अधिकारीको पक्षमा बहुमत पुर्‍याउने गृहकार्य पनि गरेको र मुख्यमन्त्रीले विश्वासको मत पाउने उनले बताए । 

एमाले नेता अधिकारी एमालेका २२, माओवादीका सभामुखसहित ८ र राजीव गुरुङ (दीपक मनाङे)को समर्थनमा गत चैत २५ गते  मुख्यमन्त्री नियुक्त भएका थिए । 

सभामुखलाई पनि गणना गरेर नियुक्ति हुनु असंवैधानिक भन्दै निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट सुनुवाइ गर्दै सर्वोच्च अदालतले अधिकारीलाई विश्वासको मत लिन पाउने फैसला सुनाएको थियो ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । तर सत्तारुढ दलहरुले भने सभामुख तटस्थ हुने भएकाले उनको गणना नगरी ५९ प्रदेशसभा सदस्यमध्येबाट बहुमत पुर्‍याए हुने दाबी गरिरहेका छन् । 



यस अनुसार ३० जनाको समर्थन भएमा मुख्यमन्त्रीले विश्वासको मत पाएको मानिने उनीहरुको जिकिर छ । नेपाली कांग्रेसले पनि शनिबार बिहान मात्र संसदीय दलको बैठक बोलाएको छ । 

राप्रपाले भने अहिलेको गठबन्धनलाई साथ नदिने निर्णय गरेको छ । तर विपक्षमा बस्ने कि तटस्थ बस्ने भन्नेबारे आइतबार बिहान मात्र केन्द्रबाट जानकारी पठाउने भएको छ । 



माओवादीको चुनाव चिह्नबाट चुनाव जितेका नेपाल समाजवादीका नेता तथा गण्डकी प्रदेशसभा सदस्य  देवकोटाले पनि आफू अलग्गै पार्टीको भएको बताउँदै आएका छन् । 

बाबुराम भट्टराई नेतृत्वको नेसपामा आबद्ध उनले माओवादीको टिकट लिएर चुनाव जितेकाले आफू फरक पार्टीको रहेको दाबी गरेका हुन् । उनले पछिल्लो समय माओवादी संसदीय दलको बैठकमा सहभागितासमेत जनाएका छैनन् ।

  • प्रकाशित मिति : वैशाख २२, २०८१ शनिबार २१:४१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया