logo-img

प्रधानमन्त्रीको सपना बोकेका माधव नेपाललाई ‘कर्नर’ मा पार्ने प्रचण्ड-ओलीको प्रयास
फुट्न सक्छ एकीकृत समाजवादी पार्टी
फाइल तस्बिर

१० पुस २०७९ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भए । माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनसहित प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर, त्यसको केही महिनामै प्रधानमन्त्रीले गठबन्धन फेरे । 

उनले नेपाली कांग्रेससहितको पुरानो गठबन्धन ब्यूँताए । उक्त गठबन्धनमा एकीकृत समाजवादीसमेत जोडियो । त्यसपछि सहमति बन्यो कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत आलोपालो सरकार चलाउन पाउने । 

सहमतिअनुसार उक्त गठबन्धन पनि चल्न सकेन । गत २१ फागुनमा आफू प्रधानमन्त्री भएको १४ महिनामा तेस्रोपटक गठबन्धन फेर्दै प्रचण्डले १३औँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरे र सरकारको नेतृत्व गरिरहे । सत्ता सहयात्री कांग्रेस प्रतिपक्षमा गयो र एमाले सत्तामा फर्कियो । 

एमाले मात्र होइन रास्वपा पनि सत्तामा फर्कियो भने जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टीसमेत प्रचण्ड सरकारका सहयात्री बने । अहिलेसमेत सत्तापक्षमै रहे पनि एकीकृत समाजवादीका अध्यक्ष नेपालका लागि पुरानो गठबन्धन भत्किएसँगै आलोपालो प्रधानमन्त्री पाउने सम्झौता अलपत्र परिसकेको थिए । 

नयाँ गठबन्धन बनेसँगै एमाले अध्यक्ष ओली र नेपालसँगै देखिन थालेका थिए । तर, त्यो क्रम लामो समय भने चल्न सकेन । पछिल्ला दिनमा नेपालले सत्ता गठबन्धनप्रति आफूहरू सन्तुष्ट नरहेको सार्वजनिकरूपमै बताउँदै आएका थिए । 

नयाँ सत्ता समीकरण बन्दा ओली र प्रचण्डले आफूलाई एक वर्ष प्रधानमन्त्री दिने मौखिक सहमति भएको दाबी गर्दै आएका नेपालले अहिले आफूलाई पन्छ्याउन खोजेको बताउँदै आएका छन् । ओलीले नेपाललाई प्रधानमन्त्री बन्न नदिने चाल चालेको भन्दै आफूहरूसँग गरिएका सहमति र वाचा कार्यान्वयनमा ओली अनुदार बनेको एकीकृत समाजवादीले निष्कर्षसमेत निकालेको थियो ।



यहीबीचमा एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले १७ वैशाखमा सार्वजनिक रूपमै आफू प्रधानमन्त्री बन्ने कुराले कतिपयलाई पोल्ने गरेका बताएका थिए । उनले भनेका थिए, ‘हामी प्रधानमन्त्री बन्छौँ भनेर कतिपयलाई पोल्न थालेको छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पोल्न थालेको छ । पोल्ने मान्छेहरू पनि छन् यो समाजमा, पोले पोलोस्, दनदनी आगोले पोलोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ । त्यो भएकाले परिस्थिति हाम्रो अनुकूल बनाउने कुरामा ध्यान जानुपर्छ ।’ 

अध्यक्ष नेपालले सार्वजनिकरूपमा आक्रोश मात्रै पोखेनन्, नयाँ गठबन्धन खडा गर्नसमेत सक्रिय बने । नेपालसँगै वर्तमान सरकारको उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादव र प्रमुख प्रतिपक्षी कांग्रेसका देउवा आलोपालो प्रधानमन्त्री हुने गरी नयाँ गठबन्धन बनाउने कसरत थालेपछि नेपाली राजनीति तरङ्गित भएको छ । 



गत शनिबार सरकारको नेतृत्व गरिरहेका प्रचण्डले नै आफ्नो पार्टीको संसदीय दल बैठकमा नयाँ गठबन्धन भत्काउन पूरै कोसिस भइरहेको बताएका थिए । केही दिनअघि एमाले अध्यक्ष ओलीले नेपाललाई लक्षित गर्दै प्रतिक्रियावादीको पुच्छर भएर हिँडेको आरोप लगाएका थिए । 

नेताहरूले एक अर्काप्रति आरोपप्रति आरोप मात्रै गरेनन्, देउवा–नेपाललाई नयाँ गठबन्धनमा बहुमत जुटाउन र प्रचण्ड–ओलीलाई गठबन्धन जोगाउन यो बीचमा दौडधूप गर्नु पर्‍यो । अहिले नेपाल सत्ताको चक्रव्यूहमा मात्रै फसेनन् प्रधानमन्त्री बन्ने सम्भावना नै ‘लगभग टुङ्गिएको’ छ । सत्तारुढ दललाई नै फुटाएर सत्ता जोगाउन प्रचण्ड–ओली सफल भएका छन् भने जसपा यसको सिकार भएको छ । 

पछिल्लो गठबन्धनमा माओवादी केन्द्रको ३२ सहित एमालेको ७७,  रास्वपाको २१, जसपाको १२, एकीकृत समाजवादीको १०, नाउपाको चार र स्वतन्त्र सांसद प्रभु साहले प्रचण्डलाई विश्वासको मत दिएका थिए । तर, अहिले जसपा विभाजन भएको छ । 

प्रतिनिधि सभामा १२ सिट रहेको जसपामा अशोक राई समूहका सात सांसद एकातिर हुँदा उपेन्द्र समूहमा जम्मा पाँचजना मात्रै छन् । दल विभाजनपछि उपेन्द्र पक्ष सरकारबाट बाहिरिएमा जसपाकै राई समूहका सातसहित प्रधानमन्त्रीसँग १५२ सांसदको समर्थन कायमै रहनेछ । त्यस्तै, एकीकृत समाजवादी बाहिरिँदासमेत प्रधानमन्त्रीसँग १४२ सिट कायमै रहन्छ । 

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ जना मात्र सांसदको समर्थन आवश्यक पर्छ । अङ्कगणितअनुसार प्रधानमन्त्रीसँग बहुमत कायम नै रहने छ । 

  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार १३:४२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया