logo-img

‘यो सहरमा त कुल्ली काम पाउन पनि सोर्सफोर्स चल्दो रहेछ’

दाङमा जन्मिए आशिष । अहिले प्रदेश पाँचको राजधानीका लागि प्रदेश सरकारले सिफारिस गरेको देउखुरी नजिकै उनी हुर्किए । तर, केही वर्षअघिसम्म देउखुरी पनि ‘राजधानी’ होला भन्ने कल्पेका पनि थिएनन् उनले ।

त्यसैले, सपनाको भारी बोकेर दाङबाट राजधानी काठमाडौं हानिए उनी । 

२४ वर्षका आशिषले यो सपनाको चाङ बनाएका थिए, पाँच वर्ष अघि । अनि नाइट बसमा आए, काठमाडौं ।

आशिषले पाँच वर्षअघि आफ्ना सपनाहरुको भारी बिसाउन काठमाडौंलाई गन्तव्य बनाउँदा उनको मनबाट हटेको थिएन, नेपालमा १२ वर्ष लामो चलेको सशस्त्र युद्धको ह्याङओभर । 

त्यही ह्याङओभरमा छन्, अहिले पनि उनी । 

‘बन्दुक बोक्ने रहर थियो,’ उनी फिसिक्क हाँसे, ‘तर, अहिले नङकट बोक्नु परेको छ ।’



आशिष आफूलाई पाल्न काठमाडौंका सडकहरुमा एउटा थैलो पर्साछन्, अनि फिजाउँछन् खुद्राखुद्री सामग्री । तिनै खुद्राखुद्री सामग्रीमध्ये एक हो, नङकट ।

केही दिनअघि लकडाउन खुकुलो भएपछि न्युरोड गेटअगाडि मानिसहरुलाई तौल जोख्न एक मेसिन सडकमा ‘थापेर’ उनी बसेका थिए । सहर कोरोनाभाइरसका कारण प्रताडित छ, त्यस्तै आफ्ना सपनाहरुको भारीका कारण अहिले पनि गह्रुँगो छ, आशिषको ।



सौभाग्य भनौँ कि दुर्भाग्य, आशिषले बन्दुक बोक्ने त्यो सपना पूरा गर्न पाएनन् । र, पूरा गर्न पाएका छैनन्, अरु अनेक सपनाहरु पनि । केही दिनअघि बाटोमा ‘ग्राहक’ कुरिरहेका आशिषसँग यसै भलाकुसारी गर्ने समय जुर्‍यो ।

‘लकडाउनपछि यो सडकको हावा पनि स्वच्छ भएजस्तो लागेको छ,’ कोरोना महामारीले निम्त्याएको लकडाउनका कारण असन गल्लीमा एउटा कोठामा ‘थन्किएर’ बसेको सम्झँदै आशिष भन्छन्, ‘समय फेरिएछ ।’

समय त आशिषलाई वातावरणको मात्र फेरिएको हो भन्ने लाग्दैन । दाङतिरै एउटा स्कुलबाट एसएलसी पास गरिसकेका आशिषले आफ्नो औपचारिक अध्ययनलाई अगाडि बढाएनन् । यसको अर्थ होइन, उनी पढ्दै पढ्दैनन् ।

‘नर्थफेस’ ट्याग भएको ज्याकेट लगाएका आशिषले भित्री गोजीबाट आफ्नो मोबाइल झिके । अनि देखाउँदै भने, ‘समाचार पढ्न किनेको हो यो मोबाइल मैले ।’

समाचार पढ्न आशिष प्रत्येक दिन मोबाइल डाटा लिन्छन् । मोबाइल डाटा लिन नमिले उनी पत्रिका किनेरै पनि पढ्छन् ।

अनि यी समाचारमा पनि पाउँछन्, फेरिएको छ हाम्रो यो दुनियाँ । ‘पहिले नेताको समाचार र भाषण आउने पत्रिकामा आजभोलि हामीले सडकमा बसेको विषय पनि आउन थालेको छ नि त,’ आशिष हाँसे, ‘यही फोनमा ती समाचार हेर्छु, यही फोनमा फेसबुक चलाउँछु ।’

फेरि फ्ल्यासब्याकमा फर्किए आशिष । 

यसै कुराकानी अगाडि बढ्दै गयो । ‘म काठमाडौं आउँदा त एसएलसी पढेको छु,’ आशिषले भने, ‘राम्रो जागिर खान्छु भन्ने सोचेको थिएँ । तर, यहाँ त कुल्लीको काम पाउन पनि सोर्सफोर्स लगाउन पर्ने पो रहेछ ।’

तर, आशिषासँग लगाउनका लागि यस्तो सोर्स कुनै थिएन । त्यसैले, उनले समाचारमा आउने नेताका आश्वासनलाई आफ्नो भविष्यको मार्ग निर्धारक बनाए । ‘पत्रिका पढ्थेँ, पढ्छु,’ उनले भने, ‘नेताहरुले काम पाइन्छ भनेको समाचार आउँथ्यो । तर, त्यो सब समाचार मात्र रहेछ ।’

६ महिनासम्म आशिष नेताहरुको आश्वासनले आफ्नो ‘भाग्य’ फेरिने कल्पनामा बसिरहे । त्यसपछि उनलाई नेताहरुको आश्वासनले मात्र गर्दो रहेनछ भन्ने मात्र थाहा भएन, साथीको कोठामा त्यसपछि आफूले ‘शरण’ नपाउने ज्ञात पनि भयो ।

अनि लागेको हुन्, आशिष आफ्नो ‘बिजनेस’मा ।

‘डेढ समय रुपैयाँमा नङकट किनेर यो व्यवसाय सुरु गरेको हुँ,’ उनले भने, ‘यही नङकटले मलाई काठमाडौंमा बचाएको छ, त्यसैले यही नङकटसँग मेरो विशेष प्रेम पनि छ ।’

प्रेम त आशिषको ६५ वर्षकी आमासँग पनि छ । तर, उनले आमालाई काठमाडौं ल्याउन सक्दैनन्, न अहिले यही अवस्थामा फर्किएर दाङ जान सक्छन् । ‘आमासँग बेलाबेलामा फोनमा त कुरा हुन्छ,’ उनले भने ।

साँझ ढल्किन लागिसकेको थियो । त्यो दिन आशिषले दिनभरमा पुगनपुग एक सय रुपैयाँ कमाए । 

‘अब यसले कोठाभाडा तिर्ने कि रिचार्ज गरेर समाचार पढ्ने ?’ आशिषले भने, ‘खान त अहिले टुँडिखेल र खुलामन्चमा खाना बाँडेको ठाउँमा गएर खाइरहेको छु । तर, पाँच महिनादेखि नतिरेको कोठाभाडा यसबाट कसरी तिर्न सकूँला र ?’

  • प्रकाशित मिति : असोज १८, २०७७ आइतबार १४:४०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया