logo-img

कैलाली र कञ्चनपुरमा एक साताको लागि निषेधाज्ञा

कैलाली र कञ्चनपुरमा एक साताको लागि निषेधाज्ञा गरिएको छ । कोरोना संक्रमितको संख्या र मृत्युदर बढ्दै गएपछि बिहीबारदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा गरिएको हो ।

कैलालीमा मंगलबार बसेको सर्वदलीय बैठकले पनि कोरोनाका बिरामीको संख्या दिनदिनै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयलाई लकडाउन गर्न सहमति दिएको हो । यसअघि सोमबार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको धनगढीमै बसेको संयुक्त बैठकले दुवै जिल्लामा रात्रिकालीन लकडाउन मात्रै गर्ने निर्णय गरेका थिए ।

भारतबाट फर्किने नेपालीमा अनुपातमा दैनिक सयभन्दा बढीमा कोरोना देखिन थालेपछि नेपालमा पनि अवस्था खतरापूर्ण देखिएको छ । ‘भारतबाट आउनेलाई घर आउन रोक्न सकिँदैन, तर सामान्य रुपमा भारत जानमा रोक लगाउने निर्णय गरिएको छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने, ‘अहिलेको कोरोनाको चेन ब्रेक गर्न पनि लकडाउन गर्नुपर्ने बाध्यता देखियो, वैशाख १६ देखि लागू हुने गरी एक हप्ताका लागि जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेका छौँ ।’ 

कैलाली र कञ्चनपुरका अस्पतालमा गम्भीर प्रकृतिका बिरामी बढेपछि आइसियू भेन्टिलेटरको अभाव भएको छ । मानिस उपचार नपाएर छटपटिन थालेका छन् । दोस्रो चरणको कोरोनाको संक्रमण फैलिएपछि कैलाली र कञ्चनपुरका अस्पतलमा मात्रै ६ जनाको मृत्यु भइसकेको छ । 

वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द रहने छन् । अत्यावश्यक सवारीसाधनजस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्धजन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन् ।

खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द रहनेछन् । खाद्य सामग्रीका पसल बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खोल्न पाइनेछ । सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द रहनेछन् । विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्वस्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउनेछन् ।



यस्तै, नेपाल सरकारका कर्मचारी, बैंक वित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् ।



  • प्रकाशित मिति : वैशाख १४, २०७८ मंगलबार २१:१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया