logo-img

तालिवान भन्छ- ‘पुरुष लामो दाह्री पाल, महिला एक्लै नहिँड’

अमेरिकी नेतृत्वको सैनिक फिर्ताको क्रमसँगै अफगान सुरक्षा बल तालिवानी लडाकुका अगाडि कमजोर देखिन थालेका छन् । कन्धारको आफ्नो पूर्वगढसहित तालिवानले एकतिहाइ जिल्लामा कब्जा जमाएको दावी गरेको छ ।

अधिकारीहरूलाई उद्धृत गर्दै जियोन्युजले अफगान सुरक्षा बलसँग रातभरको भीडन्तपछि तालिवानले पन्जवाई जिल्ला कब्जा गरेको थियो । अमेरिकी सेना फिर्ता घोषणासँगै मे महिनाको आरम्भदेखि नै तालिवानले अफगानिस्तानका कतिपय ग्रामीण क्षेत्रमा कब्जा जमाउन थालेका थिए ।

जियोन्युज रिपोर्ट अनुसार, अमेरिका र नेटो सुरक्षा बलले काबुलनजिकको आफ्नो बगराम एयरबेस खाली गरेको दुई दिनपछि नै तालिबानले पन्जवाई जिल्ला कब्जा गरेको थियो । पन्जवाई त्यही जिल्ला हो, जहाँबाट अमेरिकी सैनिकले तालिवान र अलकायदाका सहयोगीविरुद्ध दुई दशकसम्म कारवाही चलाएका थिए ।

सहजै कब्जा

तालिवानको दाबी के छ भने, उसले ४२१ जिल्लामध्ये एकतिहाइ आफ्नो कब्जामा लिइसकेको छ । तालिवानका प्रान्तीय परिषद् सदस्य मोहिब उल रहमानका अनुसार, उत्तरपूर्वको बदख्सानका कयौं जिल्लाका सुरक्षा बलले विनासंघर्ष नै आफ्नो स्थान छाडिदिएका थिए । पछिल्ला तीन दिनमा १० जिल्ला यसरी नै तालिवानले कब्जा गरेको छ । तालिवान प्रवक्ताले आफूहरूले सहजै जिल्ला कब्जा गरेको दाबी गरे ।

जिल्लाहरू कब्जासँगै तालिवानले नयाँ कानुन लागू गर्न सुरु गरेको छ । महिलालाई एक्लै घरबाट बाहिर निस्कन बन्देज लगाइएको छ भने पुरुषलाई लामो दाह्री पाल्न आदेश दिइएको छ ।



तीन सय अफगान सैनिक भागेर ताजिकिस्तान पुगे

अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा तालिवानको निरन्तर प्रभाव बढेसँगै उनीहरूले दैनिक जिल्ला कब्जामा लिन थालेका छन् । तालिवान लडाकूको प्रभाव बढेसँगै त्यहाँका तीन सय सैनिक सीमा पार गरेर ताजिकिस्तान पुगेका छन् ।ताजिकिस्तानको राष्ट्रिय सुरक्षाको राज्य समितिले अफगान सैनिकहरू भागेर त्यहाँ पुगेको पुष्टि गरिसकेको छ ।



समितिले बदख्सान प्रान्तसँग जोडिएको सीमाबाट तीन सैनिक आएको बताएको छ । मानवीयताका कारण ती सैनिकलाई प्रवेश अनुमति दिइएको समितिको भनाइ छ।

गत अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सैनिक फिर्तीको घोषणा गरेपछि तालिबानीहरू सम्पूर्ण ताकतसहित सलबलाउन थालेका हुन् ।अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा तालिवानी प्रभाव निकै बढेको छ ।

काबुलको उत्तर क्षेत्रस्थित बगराम एयर बेसबाट अमेरिकी सैनिक बाहिरिएसँगै तालिवानले नयाँनयाँ क्षेत्र कब्जालाई तीव्र पार्ने चिन्तामा स्थानीयवासिन्दा रहेका छन् । बगराम एयर बेस निकै महत्वपूर्ण स्थान हो, किनकि त्यहीँ नै अमेरिकी नेतृत्वका सैनिक तैनाथ थिए । अमेरिकी सैनिकले तालिवानविरुद्धको हवाई हमलामा त्यहीँबाट सफलता पाएका थिए ।
 
 

  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार १३:१३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया