logo-img

नक्कली पासपोर्टको जालो, फ्रान्सेली नागरिक पक्राउ

तपाईं कोही अर्कै व्यक्तिको पासपोर्ट बोकेर दोस्रो मुलुक प्रवेश गर्ने हिम्मत गर्न सक्नु हुन्छ ? सामान्य मानिसले सक्दैनन् । तर एकजना विदेशी नागरिक भने अर्कै व्यक्तिको पासपोर्ट बोकेर नेपाल प्रवेश गरेको तथ्य खुलेको छ । नेपालमा प्रहरीले नक्कली पासपोर्टको भरमा शंकास्पद गतिविधि गर्ने थुप्रै विदेशी नागरिक पक्राउ गरिसकेको छ । अर्कै मानिसको पासपोर्ट बोकेर नेपाल भित्रिने र गैरकानुनी कार्य गर्नेहरूकाे जालो नै रहेको प्रहरीको भनाइ छ ।

अहिले यसरी फरक व्यक्तिको पासपोर्ट बोकेर नेपाल आउने व्यक्ति फ्रान्सेली नागरिक हुन् । उनी हवाईमार्ग नभएर भारतीय नाकाबाट प्रवेश गरेको पर्यटक प्रहरी प्रमुख डिएसपी टर्कराज पाण्डेको बताउँछन् । ‘ठमेलको आगमन होटलका सञ्चालक बाबुराम बगालेले फोन गर्नुभयो । मेरो होटलमा एक विदेशी नागरिकले पासपोर्ट नदिएरै होटलमा बसेको तीन दिन भयो,’ डीएसपी पाण्डेले फरकधारसँग भने, ‘होटल सञ्चालकले पासपोर्ट माग्दा उल्टै झगडा गर्न थालेपछि हामीलाई फोन आयो । यसपछि पर्यटक प्रहरीको टिम होटलमा पुगेर ती विदेशी नागरिकमाथि सोधखोज गर्दा पासपोर्ट नै अर्कै मान्छेको रहेछ ।’ 

डीएसपी पाण्डेले फ्रान्सेली नागरिकलाई थप अनुसन्धानको लागि अध्यागमन विभागमा बुझाएका छन्  ।  

व्यक्ति र पासपोर्ट नै फरक

फ्रान्सेली नागरिक ठमेलस्थित आगमन होटलमा असार २३ गते साँझ बस्नका लागि पुगेका थिए । होटल सञ्चालक बगालेले हाेटलमा बस्नका लागि पासपोर्ट माग्दा ‘भोलि’ दिन्छु भनेपछि पहिलो रात बस्न दिएको बताए । भोलिपल्ट पनि पासपोर्ट माग्दा आलटाल गरेपछि होटल सञ्चालककले ती विदेशीमाथि आशंका गरेका थिए । 

तेस्रो दिन पनि पर्यटकले कुनै परिचय पत्र दिन नमानेपछि बगालेले पर्यटक प्रहरीलाई खबर गरेका थिए । होटल सञ्चालकलाई पर्यटकले पासपोर्ट ‘दिन्छु-दिन्छु’ भन्ने, तर नदिएपछि यसै विषयलाई लिएर दुई पक्षबीच विवाद भएर पर्यटक प्रहरीलाई खबर गरिएको डीएसपी पाण्डेको भनाइ छ । 



पर्यटक प्रहरीलाई पनि देखाउन मानेनन् पासपोर्ट 

पर्यटक प्रहरीलाई खबर पुगेसँगै उनीहरूको टोली ठमेलस्थित आगमन होटलमा (असार २७) साँझ ९ बजे पुग्यो । पर्यटक प्रहरी त्यहाँ पुग्दा विवाद टुंगिएको थिएन । ‘हाम्रो टिमले विदेशी नागरिकसँग पासपोर्ट माग्दा आनाकानी गरेको थियो । पासपोर्ट छ भन्ने, तर देखाउनै नमानेपछि अलि प्रेसर गरेका थियौँ,’ डिएसपी पाण्डेले भने, ‘त्यसपछि भने पासपोर्ट दिए । तर उनी त्रिभुवन विमानस्थलबाट नेपाल भित्रिएको कुनै प्रमाण छैन । पासपोर्टमा कुनै छाप देखिएन । उनी भारतीय नाकाबाट प्रवेश गरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।’



यसरी अवैध रूपमा विदेशी नागरिक नेपालमा बस्नुले कुनै न कुनै अपराधिक गिरोहमा संलग्न रहेको हुन सक्ने डिएसपी पाण्डेको आशंका छ । पासपोर्टमा भएको फोटो र पासपोर्ट बोक्ने व्यक्तिको फोटो मिल्दैन ।

पासपोर्ट भएको व्यक्ति माकालौ मामाडौ अपराधिक घटनामा पक्राउपछि अहिले फ्रान्सको कारागारमा रहेको डिएसपी पाण्डेले बताए । ‘कसरी आइपुग्यो मामाडौको पासपोर्ट अर्कै व्यक्तिको हातमा ? यो टिमको सञ्जाल सामान्य छैन,’ डिएसपी पाण्डेले भने, ‘अहिले हामीले गर्नुपर्ने प्रारम्भिक अध्ययनसहित फ्रान्सेली नागरिकलाई अध्यागमन विभागमा जिम्मा लगाएका छौं ।’  

के भन्छन् होटल सञ्चालक ?  

फ्रान्सेली नागरिक जुलाई ७ मा होटल आइपुगेका थिए । रुम छ ? भनेपछि हामीले ‘छ’ भन्यौँ । पासपोर्ट माग्दा हुन्छ, भोलि दिन्छु भनेपछि हामीले खासै वास्ता गरेनौँ । दोस्रो दिन पनि पासपोर्ट माग्यौँ । केही परिचय पत्र भए पनि दिनुस् भन्दा हुन्छ, भन्ने तर दिन तयार नहुने अवस्था आयो । तेस्रो दिन पनि माग्यौं । तर अस्वाभाविक व्यवहार देखाएपछि पर्यटक प्रहरीलाई खबर गर्यौँ ।  

फ्रान्सेली नागरिकसँग पासपोर्टकै विषयमा विवाद भएपछि उनले कोठाको लागि दिएको पैसा फिर्ता दिएर जानुस् भन्दा पनि अटेर गरेका थिए । झगडा हुने स्थिति बन्यो । यसैबीच, पर्यटक प्रहरी आएपछि उनको विषयमा अनुसन्धान हुँदा पासपोर्ट नै फरक रहेको पत्ता लागेको हो । 

प्रहरीले सोधखोज गरेपछि उनले पासपोर्ट दिए । तर त्यो उनको आफ्नै थिएन, अर्कै व्यक्तिको पासपोर्ट उनले प्रयोग गर्दै आएका थिए । पासपोर्ट फ्रान्सेली नागरिक माकालौ मामाडौको थियो । यी नाम गरेका व्यक्ति अहिले फ्रान्समा कैदी जीवन बिताइरहेको प्रहरीले बताएको छ । पर्यटक प्रहरी प्रमुख पाण्डेका अनुसार माकालौ अपराधिक घटनमा संलग्न रहेकै कारण कारागारमा थुनिएको हो ।  

कानुनी प्रक्रियामा छौँ :अध्यागमन विभाग

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भटराईले नक्कली पासपोर्ट प्रयोग गरी नेपाल प्रवेश गरेका फ्रेन्च नागरिकको विषयमा कानुनी अनुसन्धान भइरहेको जानकारी दिए । ‘फ्रेन्च नागरिक हवाई माध्यमबाट नेपाल आएको देखिँदैन । उनी भारतीय नाकाबाटै आएको हुनुपर्छ, ‘महानिर्देशक भटराईले भने, ‘उनको आफ्नै पासपोर्ट आजसम्म भेटिएको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ 
 

  • प्रकाशित मिति : साउन १, २०७८ शुक्रबार ११:३९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया