logo-img

[अन्तर्वार्ता] लालबाबुजीले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ : रामनरेश राय

प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई पत्र पठाएर पदबाट बर्खास्त गरेका छन् । प्रदेश सरकारमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई सामेल गराउन राउतले रायलाई बर्खास्त गरेका हुन् । मन्त्रीबाट बर्खास्त भएपछि राय भने राउतसँग रुष्ट छन् । यसले जसपामा विवाद निम्त्याउने र आन्तरिक विभाजनको खतरा समेत देखिएको छ । यसै सन्दर्भमा फरकधारकर्मी दिपक कर्णले गरेको कुराकानीको सारसंक्षेप : 

आफ्नै पार्टीका मुख्यमन्त्रीले तपाईंलाई पत्र पठाएर पदमुक्त गर्नुभयो ? यस्तो अवस्था कसरी आयो ?

पहिलो कुरो त हामी पहिले एकै पार्टीबाट थिएनौँ । लालबाबुजी समाजवादी पार्टीबाट मुख्यमन्त्री बन्नु भएको थियो, म तत्कालीन राजपाबाट मन्त्री बनेँ । दुबै पार्टीबीच विभिन्न आरोह अवरोह पार गर्दै एकता भयो । म पहिले पनि कार्यकारिणी समितिको सदस्य थिएँ र अहिले जसपामा पनि छु । त्यसपछि जसपा विभाजन हुने बेलामा पार्टीलाई आधिकारिकता दिलाउन मेरो महत्वपूर्ण भूमिका थियो । यो विषय सबैलाई थाहा छ ।

एक÷दुई दिन पहिले मात्रै मलाई मुख्यमन्त्रीजीले बोलाउनु भयो । उहाँले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सामेल गराउनु छ, तपाईले मन्त्रालय छोड्नु पर्छ भन्नुभयो । मैले कसैलाई हटाउनु भन्दा मन्त्रालय फुटाएर सामेल गराउन सुझाव दिएँ । तर मुख्यमन्त्रीजीले मन्त्रालय फुटाएर सरकारमा सामेल हुन तयार नरहेको बताउनुभयो । 

मैले उहाँलाई भने कांग्रेस र माओवादीलाई सरकारमा सामेल गराउँदा पनि मन्त्रालय फुटाएर नै गराइएको थियो । कांग्रेसभन्दा ठूलो पार्टी त नेकपा एकीकृत समाजवादी पार्टी होइन । यसअघि कांग्रेस र माओवादीलाई सरकारमा सामेल गराउनका लागि सामाजिक विकास मन्त्री नवलकिशोर साहको संयोजकत्वमा म र मन्त्री शैलेन्द्र साहलाई राखेर समिति नै बनाइएको थियो । त्यो समयमा हामीले यस विषयमा राजनीतिक सेटलमेन्ट गर्न सफल भएका थियौँ । 

तपाईंलाई हटाउने विषयमा पार्टी भित्र छलफल भएको थियो कि थिएन ?



छलफल भएको थियो तर मन्त्रीलाई हटाउने विषयमा होइन । सरकारको नेतृत्व नै परिवर्तन गर्ने विषयमा छलफल भएको थियो । गत कार्तिक १३ गते सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको घरमा अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, रेणु यादव, महेन्द्र यादवको उपस्थितिमा प्रदेश–२ सरकारको विषयमा छलफल भएको थियो । त्यो छलफलमा आवश्यकता परे नयाँ अनुहारलाई सरकारको नेतृत्व दिनुपर्ने विषयमा लगभग सहमति भई सकेको थियो । हामी पनि त्यसमा सहमत नै थियौँ । 

बर्खास्तगीमा परेपछि आफूलाई अपमानित महसुस त गरिरहनु भएको छैन नि ?



पार्टीभित्र लालबाबुजीभन्दा ठूलो योगदान मेरो छ । जसपा विभाजनको बेला आधिकारिताका लागि लालबाबुजीको होइन मेरो ठूलो योगदान थियो ।
उहाँ र म पार्टीभित्र समान हैसियतका हौं । उहाँलाई तत्कालीन समाजवादी पार्टीले मुख्यमन्त्रीको रुपमा अगाडि बढायो, तत्कालीन राजपाबाट ३ वटा मन्त्रीहरुमध्ये मलाई एउटा मन्त्रालयको जिम्मा दिइयो । 

पार्टीले हट्न निर्देशन दिएको भए मान्नु हुन्थ्यो ?

निश्चित रुपमा । यस विषयमा एकल निर्णय गर्नुभन्दा पनि पार्टीमा छलफल हुनुपथ्र्यो । राजनीतिक रुपमा यसको सेटलमेन्ट गर्नुपथ्र्यो । म पार्टीको मान्छे हुँ लालबाबुजीको घरको सदस्य होइन । उहाँ आफै आरोपी हुनुहुन्छ । असोज १३ गते अख्तियारले साइकल खरिद प्रकरणमा छापा हानेको थियो । त्यहाँको प्रारम्भिक अनुसन्धानले भ्रष्टाचार भएको प्रमाणित गरिसकेको छ । यस हिसाबले आरोपी व्यक्तिले पहिले राजीनामा दिनुपथ्र्यो ।

बर्गिमनपछि तपाईंले अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गर्नुभयो ?

छैन । यो विषयमा अहिले कुनै कुरा भएको छैन । म यो विषय घर घर गएर राख्नेवाला पनि छैन । यो विषय पार्टीको कार्यकारिणी समिति, संसदीय दलको बैठकमा उठाउँछु । मुख्यमन्त्रीको राजीनामा माग्छु । राउतका कारण जसपाको साख डुबिरहेको छ । लालबाबुजीको अनुहारलाई अगाडि बढाएर स्थानीय, प्रदेश वा संघीय कुनै निर्वाचनमा जसपाको डुंगा किनारामा लान सक्दैन । उहाँले अहिले नै नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । 

  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १३:३०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया