logo-img

महरा र पुनको अडानले माओवादी लुम्बिनीमा नेतृत्व छान्न ढिलाइ

नेकपा (माओवादी केन्द्र) का दुई नेताको स्वार्थ बाझिँदा सम्मेलन सकिएको चार दिनसम्म पनि लुम्बिनी प्रदेशमा नेतृत्व टुंगो लाग्न सकेको छैन ।

पूर्वसभामुख एवं पार्टी प्रवक्ता कृष्णबहादुर महरा र पूर्वमन्त्री वर्षमान पुनले आ-आफ्नो मान्छे प्रदेश अध्यक्ष हुनुपर्ने अडान राखेपछि नयाँ नेतृत्व चयन हुन नसकेको हो ।

महराले तुलसीराम पुन र वर्षमानले  सुदर्शन बराललाई अध्यक्षमा अघि सारेका हुन् । तुलसीराम दाङ निर्वाचन क्षेत्र नम्बर २ का हुन् । महराले गत निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचन जितेका थिए । बराल शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री थिए । 

बराल गुल्मीका भए पनि उनको राजनीतिक सम्पर्क रोल्पाका वर्षमानसँग छ । माओवादीका तत्कालीन नेता रामबहादुर थापा (बादल) सँग निकट मानिने उनी पनि थापा एमालेमा गएपछि दोधारमा परेका थिए । तर, वर्षमानकै जोडबलमा माओवादीमै रहे । लुम्बिनी प्रदेशमा यसअघि ओनसरी घर्ती अध्यक्ष हुँदा बरालको हालीमुहाली थियो । 

उपाध्यक्ष, सचिवलगायतका पदमा पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । प्रदेशको नेतृत्वमा सहमति नभए यसको टुंगो केन्द्रले लगाउने छ ।

माओवादीको लुम्बिनी प्रदेश कमिटी २५३ सदस्यीय हुनेछ । २१७ जनाको नाम टुंगो लागिसकेको र बाँकी ११ जना विभिन्न क्लस्टरका लागि छुट्टयाइएको माओवादी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए । ती ११ जना भने मनोनीत गर्ने व्यवस्था छ । 



बहुपदीय प्रदेश कमिटीमा एकजना अध्यक्ष, तीनजना उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष गरी सातजना पदाधिकारी हुनेछन् ।  



  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार ९:३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया