logo-img

ज्यानमारा हात्ती नियन्त्रणको प्रयास असफल

चितवन–  माडी क्षेत्रमा हिंस्रक बनेको जंगली हात्ती नियन्त्रणका लागि गएराति गरिएको प्रयास असफल भएको छ । निकुञ्जका प्राविधिकले माडी नगरपालिका–९ कान्छिवगइमा सो हात्तीलाई नियन्त्रणमा लिनका लागि डार्ट गरेका थिए । 

चितवन राष्ट्रिय निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेका अनुसार राति ११ः ३५ बजे स्थानीय एक घरमा मकै खाँदै गर्दा हात्तीलाई डार्ट गरिएकामा त्यसको असर नपरेको हो । उनका अनुसार हात्ती विस्तारै हिँड्ने गरी ‘जाइलाजिर’ नामक औषधि राखेर डार्ट राखिएको थियो । तर, त्यसले काम नगरेको र हात्ती भागेर निकुञ्ज पसेको उनले बताए । 

सो क्षेत्रमा खोलानाला र अफ्ठ्यारो ठाउँ भएकाले ढल्ने गरी नभएर बिस्तारै हिँड्न सक्ने बनाउने गरी डार्टको तयारी गरिएको थियो । सोका लागि प्राविधिकसहित ३५ जनाको टोली शुक्रबार साँझ माडी क्षेत्रमा परिचालन भएको थियो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार हात्तीलाई बिस्तारै हिँड्ने बनाएर पुनः बेहोसका लागि डार्ट गर्ने र बेहोस भएपछि दाह्रा काटेर, रेडियोकलर जडान गरी छाड्न निर्देशन दिइएको छ । 

रेडियोकलर जडानसँगै हात्तीको अनुगमन गर्ने र त्यति गर्दा पनि हिंस्रक भइरहेमा मार्ने योजना रहेको छ । सो हात्तीले बुधबार स्थानीय दुई महिलालाई आक्रमण गरी मारेको थियो । यसअघि पनि सो हात्तीले गएको दसैँतिर एक बालकलाई आक्रमण गरी ज्यान लिएको थियो । 





  • प्रकाशित मिति : मंसिर १५, २०७५ शनिबार १५:१३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया