logo-img

आफ्नै कामलाई गिज्याउने बतासका फेसबुक स्टाटस

अहिले मिडियाको लागि हटकेक मसला हुन्- आनन्दराज बतास । बतास अर्गनाइजेसनका सञ्चालक आनन्दराजका बारेमा मिडियाले समाचार नबनाएको दिन नै छैन।  हुन पनि हरेक क्षेत्रमा उनकै कम्पनीको राज चलिरहेको रहेछ ।

प्राकृतिक तथा सांस्कृतिक सम्पदामा उनको आँखा गाडिएको रहेछ । अहिले एक-एक गरेर उनले कुन सांस्कृतिक सम्पदाभित्र आफ्नो व्यापार फैलाउन खोजिरहेका छन्, त्यो खुलिरहेको छ ।

नारायणहिटी दरबार संग्रहालय परिसरभित्र रेस्टुरेन्ट चलाउन दिने होस् वा पशुपतिनाथ मन्दिरको धर्मशालामा थ्रिस्टार होटल खोल्ने कुरा होस् । बतास कम्पनीकै हालीमुहाली छ ।

उनले सांस्कृतिक सम्पदा मात्र नभएर प्राकृतिक सम्पदा पनि आफ्नो कब्जामा लिएर व्यापार गर्न खोजिरहेका छन् । 

एकातिर राज्यले निषेध गरेको क्षेत्रमा पैसा र पावरको भरमा आफ्नो व्यापार फैलाउने बतास अर्कोतिर भने राज्यको बेथितिविरुद्ध बोल्ने गरेका छन् । 

सिधा अर्थमा भन्नुपर्दा राज्यलाई नीति नियम र कानुनको पाठ सिकाउँदै हिँड्ने बतास आफू भने त्यसको धज्जी उडाउँदै आएका छन् । त्यसका प्रशस्त उदाहरण छन् । 



उनले सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा राखेका विभिन्न पाेस्टबाट आफ्नै कर्मलाई भने गिज्याइरहेको देखिन्छ । 

उनले प्रायजसाे स्टाटस लेखिरहेको देखिन्छ । त्यसमा पनि राज्यका बेथिति तथा विसंगतिका विरुद्धमा । उनले गरेको क्रियाकलापले भने उनका यस्ता स्टाटसलाई नै मात दिइरहेका छन् ।



उनले ५ जनवरीमा सडक दुर्घटनासम्बन्धी एउटा स्टाटस लेखेका छन् । 

जसमा उनले भनेका छन्- ‘सडक दुर्घटनाका कारण दिनहुँ नौजवान युवाहरूले अकालमै ज्यान गुमाउनु परिरहेको छ । हाम्रा पूर्वाधार, जनशक्ति, लाइसेन्स प्रणाली, दण्ड-सजायसम्बन्धी व्यवस्था, सचेतना शिक्षा तथा अनुगमन सबैतिर भद्रगोल अवस्था छ । यी सबै कुरामा व्यापक सुधारको खाँचो छ ।’

उनकाे उक्त स्टाटसमा लेखिएका कमेन्ट भने निकै रोचक छन् । लक्ष्मन बरालले कमेन्टमा लेखेका छन्,- हैन यो भन्दा नि मुख्य कुरा अक्सिजन प्लान्ट कता गयो ? 

बतास अर्गनाइजेसनकै सामाजिक संस्था बतास फाउण्डेसनले पोखरामा अक्सिजन प्लान्ट बनाउने भन्दै पैसा उठाएको थियो । तर, अहिलेसम्म बनाउन सकेको छैन । 

त्यसअघि ३ जनवरीमा उनले सरकारी उद्योग पुनः सञ्चालन गर्ने विषयमा आफ्नो धारणा व्यक्त गरेका छन् । 

उनले लेखेका छन्,- ‘सरकारी उद्योग पुनः सञ्चालन गर्ने कुरा सुन्दा अत्यन्तै राम्रो सुनिए पनि यी उद्योग किन बन्द भए भन्ने गहिराइमा पुगेर अध्ययन नगरी पुनः सञ्चालनमा ल्याउनु हतारो हुनेछ । एक त सरकारले अब उद्योग चलाउनै हुँदैन, निजी उद्योगसँग प्रतिस्पर्धा गर्नसक्ने कुशल व्यवस्थापन अब सरकारबाट सम्भव छैन । अर्कोतर्फ अधिकांश सरकारी उद्योग फेजआउट भइसकेका छन् ।’

३० डिसेम्बरमा पनि विद्युत प्राधिकरणलाई लक्षित गरेर स्टाटस लेखेका छन् । जसमा उनले भनेका छन्,- ‘विद्युत लाइन झ्याप्प जाने र घन्टौं हराउने समस्याले आम उपभोक्ता हैरान छन् । नियमित र गुणस्तरीय विद्युत आपूर्तिका लागि कमजोर पूर्वाधार बाधक हो भने फास्ट ट्रयाकबाट फेरौं, उपभोक्तालाई यो जाडोमा थप पीडा नदिन नेविप्रालाई अनुरोध ।’

उनले २६ डिसेम्बरमा प्रदेश सरकारमाथि व्यंग गरेका छन् । 

जहाँ उनले लेखेका छन्,- ‘संघीयता जनताको सुविधाका लागि हो न कि नेताहरूको व्यवस्थापनका लागि ! जम्बो मन्त्रिपरिषद् उहाँहरूको बाध्यता होला तर देशका लागि भार पर्ने काम राम्रो होइन ।’ 

उनले बागमती प्रदेशमा विभिन्न मन्त्रालयलाई एउटै भवनमा राखिएको विषयमा याे स्टाटस लेखेका हुन् ।

  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १२:३८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया