logo-img

पत्रकारमाथि खनियो बतास समूह, सरकारलाई भन्यो–  आफू​विरुद्ध लेख्ने पत्रकारमाथि कानुनी कारवाही नगर्नु

मिडियामा आफूले गरेका बिभिन्न अनियमितता सार्वजनिक भएपछि बतास अर्गनाइजेशन पत्रकारहरू माथि खनिएको छ । 

बतास अर्गनाइजेशनले आज एक विज्ञप्ति जारी गर्दै पत्रकारहरुले आफूलाई बदनाम गराउने उदेश्यले समाचार सम्प्रेषण गरेको आरोप लगाएको छ । 

बतासले आफ्नो बारेमा समाचार लेख्ने पत्रकारलाई कारवाही नगर्न सरकार समक्ष अनुरोध पनि गरेको छ । 

‘बतास अर्गनाईजेशनलाई जोडेर उठान गरिएका विषयहरुमा एक–एक गरी प्रवेश गर्नुअघि अहिलेसम्म बतास अर्गनाइजेशनलाई बदनान गराउने उदेश्यबाट प्रेरित भई जेजति मात्रामा, जस्ताखालका भ्रमहरुको उत्पादन, प्रकाशन र प्रशारण भयो÷गरियो, त्यसमा प्रत्यक्ष/परोक्ष रुपमा सहभागी बनेका आम पत्रकार मित्र लगायत सबैलाई कुनै प्रकारको कानुनी कारबाही नगर्न बतास अर्गनाइजेशन नेपाल सरकारसमक्ष हार्दिक अनुरोध गर्दछ,’ बतासले विज्ञप्ति मार्फत भनेको छ । 

बतासले पत्रकारहरू स्वार्थ समूहको कपटपूर्ण पासोमा परेको आरोप समेत लगाएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘स्वार्थ समूहका कपटपूर्ण पासोमा परेर उनीहरुको इच्छा अनुसार भ्रामक समाचार उत्पादन र प्रकाशन गर्ने पत्रकार मित्रहरुको वाध्यताप्रति संवेदनशील बनिदिएर कुनै प्रकारको नैतिक वा अन्य दबाब दिने वा स्पष्टीकरण लिने काम नगर्न आम सञ्चारमाध्यमका सञ्चालक तथा प्रकाशक साथै सम्पादकज्यूहरुलाई समेत बतास अर्गनाइजेशन विनम्र अनुरोध गर्दछ ।’ 



तथ्यहरु तोडमोड गर्ने र प्राप्त प्रमाणहरुलाई समेत गलत ढंगले व्याख्या, विश्लेषण र प्रस्तुत गर्नेदेखि लिएर एउटा प्रमाण प्रस्तुत गर्दै अर्कै तर्क पेश गर्नेखालका कार्यहरु कतिपय सञ्चार माध्यममा प्रकट भएको आरोप बतासले लगाएको छ । 

‘जतिसुकै कुशलतापूर्वक र सिर्जनशील ढंगले गरिएको भए पनि अपराध अपराध नै हुन्छ,’ बतासले भनेको छ । 



बतासले आफ्नो विश्वासनियता नगुमाउन सञ्चार माध्यमलाई आग्रह गरेको छ । बतासले भनेको छ, ‘राज्यको चौथो अंगसमेत कमजोर पारेर यो मुलुकलाई नै असफल बनाउनेहरूको कुत्सित चाहना पूरा गर्ने साधनको रुपमा सञ्चार माध्यमहरु प्रयोग नहुन् भन्ने हाम्रो आग्रह छ ।’ 

अहिले बतास अर्गनाइजेशनमाथि सुनियोजित रुपमा आक्रमण भइरहेको विज्ञप्तिमा दाबी गरिएको छ । यस घटनाले नेपालका उद्योगी, व्यवसायी, व्यापारीहरु, नयाँ पुस्ता र विदेशमा बसेका नेपालीहरुलाई क्रसित, निरुत्साहित बनाएको बतासले जनाएको छ । 

  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १३:११:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया